Below Menu

भोटेकोशी बाढीले जलविद्युत आयोजनामा ठूलो क्षति, उद्धारमा जुट्न इप्पानको आग्रह

भोटेकोशी बाढीले जलविद्युत आयोजनामा ठूलो क्षति, उद्धारमा जुट्न इप्पानको आग्रह

काठमाडौं : भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले गहिरो दुःख व्यक्त गरेको छ।

इप्पानका अध्यक्ष मोहन कुमार डाँगीले बाढीबाट मानव बस्ती, विद्युत आयोजना, सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको भन्दै विपद्को यस घडीमा प्रभावित समुदाय तथा विद्युत क्षेत्रसँगै रहेको बताएका छन्।

उनले भने, “बाढी प्रभावित क्षेत्रमा विद्युत आयोजनामा कार्यरत तथा फसेका सम्पूर्ण कामदार, कर्मचारी र प्राविधिकहरूको तत्काल खोजी, उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणलाई पहिलो प्राथमिकता दिनुपर्छ।”

बाढीका कारण त्रिशूली तथा भोटेकोशी नदी बेसिनमा सञ्चालनमा रहेका तथा निर्माणाधीन दर्जनौँ जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको इप्पानले जनाएको छ। नदी किनार तथा बाढी प्रभावित क्षेत्रमा रहेका आयोजनाका बाँध, हेडवक्र्स, पावर हाउस, पहुँचमार्ग, प्रसारण संरचना, निर्माण सामग्री तथा अन्य भौतिक संरचनामा गम्भीर क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

प्रारम्भिक विवरणअनुसार रसुवा जिल्लामा सञ्चालनमा रहेका करिब २३६ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना तथा निर्माणाधीन करिब ३४२.४२ मेगावाट क्षमताका तीन आयोजनामा क्षति पुगेको अनुमान गरिएको छ। त्यस्तै, नुवाकोटमा सञ्चालनमा रहेका करिब १२३ मेगावाट क्षमताका चार आयोजना तथा करिब ५२.६ मेगावाट क्षमताका दुई निर्माणाधीन आयोजनामा समेत क्षति पुगेको छ।

विशेषगरी माथिल्लो त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा पुगेको क्षतिका कारण भौतिक संरचनामा प्रत्यक्ष ठूलो क्षति नपुगेका कतिपय आयोजना समेत राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद हुन पुगेका छन्।

अध्यक्ष डाँगीले प्रभावित आयोजनाका प्रवद्र्धक कम्पनी तथा निजी क्षेत्रका ऊर्जा उद्यमीलाई आफ्ना स्रोत, जनशक्ति, उपकरण तथा साधनसहित उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा परिचालन हुन आग्रह गरेका छन्।

त्यस्तै, बाढीबाट क्षतिग्रस्त विद्युत आयोजना तथा प्रसारण संरचनाको यथाशीघ्र क्षति मूल्यांकन, पुनर्निर्माण तथा विद्युत प्रणालीमा पुनः जोड्ने कार्यलाई राष्ट्रिय प्राथमिकता दिनुपर्ने उनले बताएका छन्।

“क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणका लागि आवश्यक नीतिगत सहजीकरण, वित्तीय तथा प्राविधिक सहयोग, बीमा दाबी प्रक्रियामा सहजीकरण तथा प्रसारण पूर्वाधारको शीघ्र पुनर्निर्माण आवश्यक छ,” डाँगीले भने।

इप्पानले बाढीबाट प्रभावित जलविद्युत आयोजनाको क्षतिको विस्तृत विवरण संकलन तथा अभिलेखीकरण गर्ने जनाएको छ। तत्कालीन उद्धारदेखि दीर्घकालीन पुनर्निर्माणसम्म सरकार, सुरक्षा निकाय, निजी क्षेत्र, स्थानीय समुदाय तथा सबै सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक रहेको इप्पानको धारणा छ।

बाढीबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै इप्पानले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै बेपत्ता नागरिक तथा कामदारको शीघ्र सकुशल उद्धार र घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

थप समाचार