काठमाडौं : नेपालमा आएको विनाशकारी बाढीपहिरोका कारण काठमाडौंमा आयोजना हुने तय भएको ‘नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी’ हालका लागि स्थगित गरिएको छ।
मिडिया स्पेस सोलुसन्स प्रालि, एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा आगामी भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी आयोजना गर्ने तय गरिएको थियो।
तर, पछिल्लो समय देशभर देखिएको विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति हुनुका साथै नागरिकहरूले कठिन परिस्थितिको सामना गरिरहेका बेला व्यापारिक प्रदर्शनी सञ्चालन गर्नु मानवीय दृष्टिकोणले उपयुक्त नदेखिएकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ।
देश राष्ट्रिय शोक र पुनर्निर्माणको संवेदनशील चरणमा रहेको अवस्थामा नेपाल सरकारद्वारा जारी सुरक्षा सचेतना तथा भारत र चीन सरकारले आफ्ना नागरिकका लागि जारी गरेको यात्रा तथा सुरक्षा सचेतनालाई समेत ध्यानमा राख्दै प्रदर्शनी स्थगित गरिएको आयोजकको भनाइ छ।
आयोजकका अनुसार सहभागी, प्रदर्शक तथा आगन्तुकहरूको सुरक्षा र यात्राको सहजता पहिलो प्राथमिकता भएकाले हाललाई कार्यक्रम स्थगित गरिएको हो।
देशको अवस्था सामान्य भई यातायात तथा आवश्यक पूर्वाधारहरू सुचारु भएपछि प्रदर्शनीको नयाँ मिति सार्वजनिक गरिने आयोजकले जनाएको छ।
प्राकृतिक विपत्तिका कारण प्रदर्शनी स्थगित गर्नुपरेकोमा आयोजकले सम्पूर्ण सहभागी, प्रदर्शक, आगन्तुक तथा सरोकारवालाप्रति असुविधाका लागि क्षमायाचना गर्दै कठिन परिस्थितिमा देखाएको सद्भाव र सहयोगका लागि आभार व्यक्त गरेको छ।