बाढी प्रभावित त्रिभुवन त्रिशूली मावि तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग

बाढी प्रभावित त्रिभुवन त्रिशूली मावि तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग

नुवाकोट : रसुवा बाढीबाट प्रभावित नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन चौधरी फाउण्डेसनले सहयोग गर्ने भएको छ।

बाढीका कारण विद्यालय भवन ध्वस्त भएपछि प्रभावित विद्यार्थीलाई विद्यालयमा फर्काउन, उनीहरूमा परेको मनोवैज्ञानिक असर कम गर्न तथा पठनपाठनलाई निरन्तरता दिन फाउण्डेसनले आपत्कालीन सहयोग गर्न लागेको हो।

फाउण्डेसनले वैकल्पिक भवनमा विद्यालय सञ्चालनका लागि आवश्यक भौतिक तथा शैक्षिक सामग्री उपलब्ध गराउने जनाएको छ। डिजिटल कक्षाको अवधारणाअनुसार कक्षा सञ्चालन गर्न स्मार्ट बोर्ड, डेस्कटप, ल्यापटप, प्रोजेक्टर र इन्टरनेटको व्यवस्था गरिनेछ। त्यस्तै, कक्षाकोठाका लागि काठमाडौंमा तयारी अवस्थामा रहेका फर्निचर विद्यालयमा पुर्‍याइनेछ।

विद्यार्थीका लागि स्कूल ब्याग तथा स्टेसनरी सामग्रीसमेत उपलब्ध गराउने फाउण्डेसनले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार वैकल्पिक भवनको व्यवस्था गरी त्यहीँबाट तत्काल पठनपाठन सञ्चालन गर्ने तयारी भइरहेको छ। भवन व्यवस्थापन हुनासाथ चौधरी फाउण्डेसनबाट आवश्यक भौतिक तथा शैक्षिक सामग्री प्राप्त हुने उनले बताए।

त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा करिब एक हजार छ सय विद्यार्थी अध्ययनरत थिए। भदौ १० गते आएको विनाशकारी बाढीले विद्यालय पूर्णरूपमा ध्वस्त बनाएको थियो।

चौधरी फाउण्डेसनका अध्यक्ष निर्वाण चौधरीले बाढी प्रभावित बालबालिकाको शिक्षा रोक्न नहुने भन्दै विद्यालयलाई जतिसक्दो चाँडो सञ्चालनमा ल्याउने उद्देश्यले सहयोग गर्न लागिएको बताए।

‘हामी बाढी प्रभावित क्षेत्रका बालबालिकालाई मनोवैज्ञानिक असरबाट जोगाउन र उनीहरूको पढाइप्रति संवेदनशील बन्दै आपत्कालीन सहयोग कार्यक्रमअन्तर्गत त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा जतिसक्दो चाँडो पठनपाठन अगाडि बढाउन चाहन्छौँ,’ उनले भने, ‘हामी जति सक्दो छिटो स्कूल सञ्चालन गर्न सकियोस् भन्ने चाहन्छौँ। सोहीअनुसार हाम्रा भौतिक एवं शैक्षिक सामग्री विद्यालयलाई हस्तान्तरण गर्नेछौँ।’

विद्यालय तत्काल सञ्चालन गर्ने विषयमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीबीच भदौ १५ गते छलफल भएको थियो। सोही छलफलअनुसार फाउण्डेसनले विद्यालय सञ्चालनका लागि आवश्यक वातावरण तयार गर्न सहयोग अघि बढाएको हो।

प्रधानाध्यापक दवाडीले चौधरी फाउण्डेसनको सहयोगले बाढीबाट प्रभावित विद्यार्थीको अध्ययनलाई निरन्तरता दिन महत्वपूर्ण योगदान पुग्ने बताए।

‘चौधरी फाउण्डेसनले विद्यालय सञ्चालनका लागि गर्नुभएको सहयोगले हाम्रा विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव पर्नेछ,’ उनले भने, ‘हामीले वैकल्पिक भवनको व्यवस्थाका लागि प्रक्रिया अगाडि बढाइसकेका छौँ। भवन व्यवस्थापन हुनासाथ फाउण्डेसनबाट भौतिक एवं शैक्षिक सामग्री प्राप्त हुनेछ। यसका लागि विद्यालय परिवार चौधरी फाउण्डेसनप्रति आभार व्यक्त गर्दछ।’

थप समाचार