काठमाडौं : एसटीसी ग्रुपले हालैको भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम आजै अर्थमन्त्री डा. स्वणिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।
प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको तत्काल राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ग्रुपले उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । एसटीसी ग्रुपले आधिकारिक बितरक भएर काम गर्दै आएको भारतिय भेरोक इन्टरनेशनल कम्पनीले समेत बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । दुबै मिलाएर कम्पनीले एकमुस्ठ ५० लाख हस्तान्तरण गरेको हो ।
भोटेकोसी क्षेत्रमा आएको बाढीले जनजीवन, भौतिक संरचना तथा स्थानीय अर्थतन्त्रमा पुर्याएको क्षतिप्रति निजी क्षेत्रले समेत जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता महसुस गर्दै सहयोगको निर्णय गरिएको हो ।
एसटीसी नेपालका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए ।
“भोटेकोसी क्षेत्रमा आएको बाढीले धेरै परिवारको जनजीवन प्रभावित बनाएको छ । यस्तो कठिन परिस्थितिमा सरकारको राहत तथा उद्धार प्रयासमा निजी क्षेत्रले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने विश्वासका साथ हामीले सहयोग गर्ने निर्णय गरेका हौं,” उप्रेतीले भने, “हाम्रो सानो सहयोगले प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनामा केही योगदान पुग्ने विश्वास लिएका छौं ।”
एसटीसी ग्रुप नेपालमा अटोमोबाइल कम्पोनेन्ट, लुब्रिकेन्ट तथा टायरलगायतका उत्पादनको आधिकारिक बिक्री तथा वितरण गर्दै आएको व्यावसायिक समूह हो । अटोमोबाइल क्षेत्रमा लामो समयदेखि सक्रिय ग्रुपले नेपालमै ब्याट्री उत्पादनको क्षेत्रमा समेत काम गर्दै आएको छ ।
ग्रुपले विपद्को यस घडीमा सरकार, निजी क्षेत्र तथा आम नागरिकबीचको सहकार्यबाट प्रभावित क्षेत्रको पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास राखेको छ ।