काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले व्यवसाय विस्तारको सम्बन्धमा महत्वपूर्ण कार्ययोजना अघिसार्दै छैटौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। छैटौं साधारणसभा नर्भिकले व्यवसाय विस्तारका सम्बन्धमा मत्वपूर्ण योजनाहरु अघि सारेको हो।
हस्पिटल सञ्चालक समितिका अध्यक्ष राजेन्द्र बहादुर सिंहले आर्थिक वर्ष २०८३/८४ को कार्ययोजना प्रस्तुत गर्दै नर्भिकको व्यवसाय विस्तारका महत्वपूर्ण योजनाहरु प्रस्तुत गरेका थिए। कार्ययोजनाअनुसार नर्भिकले अस्पतालको निर्माणाधीन भवनको निर्माण कार्यलाई आगामी आर्थिक वर्षभित्रमा सम्पन्न गरी नयाँ भवनबाट स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।
यस्तै नर्भिक फार्मेसिया प्रा.लि. हाल काठमाडौँ उपत्यकाभित्र १५ शाखा सञ्चालनमा रहेकोमा चालु आर्थिक वर्षमा काठमाण्डौं उपत्यका भित्र १८, उपत्यका बाहिर १५ शाखा विस्तार तथा फ्रान्चाइज मोडलमा ६ गरी जम्मा ५४ शाखा विस्तार गर्ने लक्ष्य रहेको छ। आगामी २ वर्षभित्र १०० वटा शाखा विस्तार गर्ने लक्ष्य राखिएको छ।
स्वास्थ्य सेवाको पहुँचलाई काठमाडौँ उपत्यकाका अन्य क्षेत्रहरूमा समेत विस्तार गर्ने उद्देश्यले नर्भिक सिटी हस्पिटलको परियोजना पनि ल्याइएको छ। नर्भिक सिटी हस्पिटल लिमिटेडको परियोजनालाई आगामी आर्थिक वर्षको महत्वपूर्ण योजनाका रुपमा अघि बढाएको छ। उक्त सिटी अस्पताल ५० शय्याको हुनेछ । सिटी हस्पिटलमा ओपिडि, आकस्मिक सेवा, क्रिटिकल केयर, आइपिडी अप्रेसन थिएटर लगायतका सेवा सञ्चालन गर्ने योजना रहेको छ । सिटी अस्पतालमा प्याथोलोजी, युएसजी, इको, इन्डोस्कोपिक, ल्याप्रोस्कोपी सर्जरी, एक्सरे लगायतका डाइग्नोस्टिक तथा उपचार सेवाहरु उपलब्ध गराउने योजना रहेको छ ।
यस्तै नर्भिक एकीकृत क्यान्सर संस्थान स्थापना गरि अत्याधुनिक तथा एकीकृत क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्य लिइएको छ । संस्थान स्थापनाका लागि कम्पनी स्थापना गरिएको जनाइएको छ । चालु आर्थिक बर्षमा यसको योजनालाई कार्यान्वयन गर्ने प्रक्रिया अगाडी बढाउन नेतृत्व सल्लाहकारका रुपमा संस्थापक अध्यक्ष तथा रणनीतिक सल्लाहकार बसन्त कुमार चौधरी रहनुभएको छ ।
उक्त परियोजनाको अनुमानित कुल लागत करिब रु. ३०० करोड रहने छ भने दीर्घकालीन रूपमा उच्चस्तरीय क्यान्सर उपचार सेवा नेपालमै उपलब्ध गराउने उद्देश्य रहेको छ।
यस्तै स्वास्थ्य सेवाको पहुँचलाई सेवाग्राहिको घर–घर सम्म पु¥याउने उद्देश्यले नर्भिक एट होम स्थापना तथा संचालनको योजनालाई आगामी आर्थिक वर्षको महत्वपूर्ण योजनाका रूपमा अघि बढाइएको छ । उक्त सेवा प्रथम चरणमा होम हेल्थ केयर र जेरियाट्रिक सर्भिसबाट सुरु गरिनेछ।
नर्भिकको सेवाप्रवाहलाई थप प्रभावकारी, एकीकृत तथा प्रविधिमैत्री बनाउन डिजिटल प्रणालीको सुदृढीकरणलाई विशेष प्राथमिकता दिइएको छ । अस्पतालको मुख्य प्राथमिकता गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, सेवा क्षमता वृद्धि, पूर्वाधार विकास, आधुनिक प्रविधिको प्रयोग तथा संस्थागत विस्तारमा केन्द्रि रहने जनाइएको छ ।
नर्भिकले आफ्नो व्यावसायिक भूमिकासँगै सामाजिक उत्तरदायित्वलाई समेत निरन्तर प्राथमिकता दिँदै आएको जनाएको छ । आगामी दिनमा पनि निःशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्यशिविर, जनचेतनामूलक कार्यक्रम तथा विपन्नवर्गका लागि आवश्यक स्वास्थ्यसेवाका कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।