नर्भिकको २० प्रतिशत लाभांश पारित, बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्ने

नर्भिकको २० प्रतिशत लाभांश पारित, बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्ने

काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ। अस्पतालको छैटौँ वार्षिक साधारण सभाले बोनस शेयर वितरणसम्बन्धी विशेष प्रस्ताव पारित गरेको हो।

साधारण सभाले २० प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको शेयर बुक बिल्डिङ प्रक्रियाबाट सर्वसाधारणका लागि निष्कासन गर्ने प्रस्तावसमेत पारित गरेको छ। उक्त प्रक्रियाका लागि संस्थागत लगानीकर्तालाई वितरण गरिने विवरणपत्र स्वीकृत गर्ने लगायतका आवश्यक कामकारबाहीको अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गरेको छ।

साधारण सभालाई सम्बोधन गर्दै नर्भिकका संरक्षक तथा रणनीतिक सल्लाहकार बसन्त कुमार चौधरीले देशमा घटिरहेका विषम परिस्थितिका बाबजुद पनि संस्थाले आर्थिक सूचकांक दिन सफल भएको बताए। उनले स्वास्थ्य सेवाका विभिन्न क्षेत्रमा नर्भिकले लगानी बढाउँदै लैजाने जानकारी दिए।

सञ्चालक मेधा चौधरीले नर्भिकलाई एउटा अस्पतालमा मात्र सीमित नराखी आधुनिक, प्रविधिमैत्री, विशेषज्ञतामा आधारित तथा दिगो स्वास्थ्य संस्था र स्वास्थ्य सेवाको विश्वसनीय केन्द्रका रूपमा विकास गर्ने बताइन्।

यस्तै, हस्पिटलका सीईओ अजय कुमार मिश्रले नर्भिकले सञ्चालन गर्ने नर्भिक सिटी हस्पिटलको सेवा नर्भिकभन्दा सुलभ र स्थानीय सर्वसाधारणका लागि सहज पहुँचयोग्य बनाइने जानकारी दिए। उनले रसुवा बाढीको कोषमा नर्भिक हस्पिटलका तर्फबाट एक करोड रुपैयाँ सहयोग गरिएको पनि जानकारी दिए।

अस्पतालको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा नर्भिकले ओपीडीतर्फ एक लाख ७९ हजार, आईपीडीतर्फ ९ हजार र आकस्मिकतर्फ ६ हजार बिरामीलाई उपचार सेवा प्रदान गरेको छ। त्यस्तै, ४१ हजार सेवाग्राहीलाई अस्ट्रेलिया, युके, जापान, न्युजिल्यान्ड तथा पपुवा न्युगिनीका लागि इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा प्रदान गरिएको छ।

आर्थिक वर्ष २०८२/८३ मा फार्मेसीबाहेक अस्पतालको कुल आम्दानी रु. २ अर्ब ८३ करोड, कुल खर्च रु. २ अर्ब ३६ करोड तथा खुद नाफा रु. ४७ करोडभन्दा माथि रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

फार्मेसीसहित अस्पतालको कुल आम्दानी रु. ३ अर्ब ४७ करोड, कुल खर्च रु. २ अर्ब ९९ करोड तथा खुद नाफा रु. ४७ करोड ८५ लाखभन्दा माथि रहेको जनाइएको छ।

थप समाचार