भगवती कम्पोजिट इण्डष्ट्रिजद्वारा १०.५२ प्रतिशत लाभांश घोषणा, हकप्रद शेयर पनि जारी गर्ने 

भगवती कम्पोजिट इण्डष्ट्रिजद्वारा १०.५२ प्रतिशत लाभांश घोषणा, हकप्रद शेयर पनि जारी गर्ने 

काठमाडौं : भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ४२ करोड रुपैयाँको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २६ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा भरतपुर महानगरपालिका-७, कृष्णपुरस्थित होटल पौवामा सभा बिहान ११ः३० बजे सुरु हुनेछ । 

सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिका सदस्यहरूको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ । 

यसैगरी सभाले जारी पुँजी ४२ करोड रुपैयाँबाट वृद्धि गरी ७५ करोड रुपैयाँ कायम गर्ने गरी प्रबन्धपत्र संशोधन गर्ने र १० प्रतिशत बोनस शेयर वितरण गरेपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साथै सभाले कम्पनीको प्रबन्धपत्र वा नियमावलीमा आवश्यक संशोधन तथा थप गर्न नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त निर्देशनअनुसार संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा छलफल गरी पारित गरिनेछ ।