काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.९३ अंकले बढेर २६२४.३६ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से २१.१९ अंकले घटेर २६१२.४२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १७७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा ५ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ५ अर्ब ३८ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सिद्धार्थ बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३३ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा धौलागिरी लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १२.४३ प्रतिशतले बढेको हो । आज हाथवे इन्भेष्टमेन्ट नेपालको शेयरमूल्य २.९७ प्रतिशतले घटेको छ ।