बुढानीलकण्ठमा एक अर्ब १० करोड लगानीको साउन्ड हिलिङ र आयुर्वेदसहितको लक्जरी रिसोर्ट आउँदै

बुढानीलकण्ठमा एक अर्ब १० करोड लगानीको साउन्ड हिलिङ र आयुर्वेदसहितको लक्जरी रिसोर्ट आउँदै

काठमाडौं : बुढानीलकण्ठ-१ मा ६३ कोठाको लक्जरी होटल तथा वेलनेस रिसोर्ट सञ्चालनमा आउने भएको छ । बुढानीलकण्ठ फरेस्ट हिल्स प्राइभेट लिमिटेडले एक अर्ब १० करोड ९० लाख रुपैयाँ लागतमा होटल निर्माण गरिरेहेकाे हो । 

Sponsored Advertisement

परियोजनाको वित्तीय व्यवस्थापन ऋण र इक्विटीबाट ५०-५० प्रतिशतको अनुपातमा गर्ने योजना कम्पनीको छ। आवश्यक जग्गा कम्पनीले यसअघि नै अधिग्रहण गरिसकेको छ भने निर्माणको ठेक्का समेत प्रदान भइसकेको छ।

प्रस्तावित इक्विटीमध्ये ४७ प्रतिशत रकम लगानी भइसकेको र बाँकी वित्तीय व्यवस्थापनका लागि ऋण प्रक्रियासमेत अघि बढिरहेको कम्पनीले जनाएको छ। निर्माण सम्पन्न भएपछि रिसोर्टका ३३ वटा कोठा परम्परागत लक्जरी होटल सेवाका लागि प्रयोग गरिनेछन् भने ३० वटा कोठा वेलनेस तथा रिट्रिट कार्यक्रमका लागि छुट्याइनेछ।

कम्पनीले वेलनेसतर्फ शिक्षक तालिम, रिट्रिट, साउन्ड हिलिङ, आयुर्वेद, म्युजिक थेरापी तथा कर्पोरेट वेलनेसजस्ता कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। यससँगै परियोजनाले परम्परागत होटल व्यवसायसँगै नेपालमा विस्तार हुँदै गएको वेलनेस तथा रिट्रिट पर्यटनलाई समेत लक्षित गर्नेछ।

परियोजनाले दीर्घकालीन बैंकिङ सुविधातर्फ ‘केयर-एनपी बीबी’ रेटिङ प्राप्त गरेको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको ५५ करोड रुपैयाँ बराबरको दीर्घकालीन बैंकिङ सुविधालाई उक्त रेटिङ प्रदान गरेको हो।

रेटिङसम्बन्धी मूल्यांकनमा होटल सञ्चालनमा आएपछि व्यवसाय स्थिर हुन केही समय लाग्न सक्ने जोखिम औंल्याइएको छ। लक्जरी होटल तथा वेलनेस रिसोर्टमा प्रारम्भिक लगानी ठूलो हुने भएकाले सञ्चालन सुरु भएलगत्तै उच्च अकुपेन्सी र नाफा हासिल गर्न चुनौती हुन सक्ने जनाइएको छ।

यद्यपि, बुढानीलकण्ठ मन्दिरलगायत धार्मिक तथा पर्यटकीय गन्तव्य, शैक्षिक संस्था र व्यावसायिक क्षेत्रको निकटता परियोजनाका लागि अवसरका रूपमा देखिएको छ। काठमाडौंको भीडभाडबाट तुलनात्मक रूपमा शान्त वातावरणमा रहे पनि राजधानीका प्रमुख क्षेत्रसम्म सहज पहुँच हुने भएकाले रिसोर्टले पर्यटक, कर्पोरेट ग्राहक तथा वेलनेस रिट्रिटका लागि बजार विस्तार गर्न सक्ने अपेक्षा गरिएको छ।

बुढानीलकण्ठ फरेस्ट हिल्स प्राइभेट लिमिटेड सन् २०१९ जुलाई ९ मा स्थापना भएको हो। कम्पनीका अध्यक्ष डा. राजेन्द्र केसी रहेका छन्। कम्पनीले एउटै परियोजनामार्फत लक्जरी होटल सेवासँगै वेलनेस, रिट्रिट, आयुर्वेद, साउन्ड हिलिङ, म्युजिक थेरापी तथा कर्पोरेट वेलनेस सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।

थप समाचार