यती एयरलाइन्सले गर्यो एक वर्षमा साढे ५ अर्बको व्यापार, घरेलु उडानमा २३ प्रतिशत बजार हिस्सा

यती एयरलाइन्सले गर्यो एक वर्षमा  साढे ५ अर्बको व्यापार, घरेलु उडानमा २३ प्रतिशत बजार हिस्सा

काठमाडौं : निजी वायु सेवा कम्पनी यती एयरलाइन्सले एक वर्षमा झण्डै साढे ५ अर्ब रुपैयाँको व्यापार गरेको छ । सन् २०२६ को अपरिष्कृत विवरण अनुसार कम्पनीले ५ अर्ब ४७ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । 

Sponsored Advertisement

उक्त रकम अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२५ मा ५ अर्ब ३८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । पछिल्ला वर्षहरुमा कम्पनीको व्यापार निरन्तर रुपमा बढेको देखिएको छ ।

यसअघि सन् २०२४ मा कम्पनीले ४ अर्ब २५ करोड ८० लाख, सन् २०२३ मा ३ अर्ब ७७ करोड ५० लाख र सन् २०२२ मा ३ अर्ब ९२ करोड रुपैयाँको व्यापार गरेको थियो । 

कम्पनीको सञ्चालन नाफामा पनि सुधार देखिएको छ । सन् २०२४ मा एक अर्ब १० करोड २० लाख रुपैयाँ रहेको कम्पनीको सञ्चालन नाफा सन् २०२५ मा बढेर एक अर्ब ५२ करोड रुपैयाँ पुगेको छ भने चालु आवको छ महिनामा ५७ करोड रुपैयाँ रहेको छ । 

यद्यपी कम्पनीको आम्दानीमा वृद्धि भएपनि नाफामा दबाब देखिएको छ । सन् २०२५ मा ३३.०८ प्रतिशत रहेको कम्पनीको सञ्चालन नाफा मार्जिन सन् २०२६ मा घटेर २९.५६ प्रतिशतमा झरेको छ । 

कम्पनीको करपछिको नाफा पनि घटेको छ ।  सन् २०२५ मा ६४ करोड ८० लाख खुद नाफा कमाएको कम्पनीको नाफा सन् २०२६ मा घटेर १८ करोड १० लाख रुपैयाँमा सीमित भएको छ । यसको प्रमुख कारणमध्ये विदेशी मुद्रा रूपान्तरणसँग सम्बन्धित ३२ करोड ७० लाखको एकपटकको घाटालाई प्रतिवेदनमा उल्लेख गरिएको छ । 

कम्पनीले विदेशी मुद्रा जोखिम घटाउन समेत लागिपरेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमयसम्बन्धी व्यवस्थामा भएको संशोधनपछि यती एयरलाइन्सले  सम्पूर्ण अमेरिकी डलरमा रहेको ऋणलाई नेपाली रुपैयाँमा रूपान्तरण गरेको छ ।

यसबाट विदेशी मुद्राको विनिमय दरमा हुने उतारचढावबाट ऋणमा पर्ने जोखिम उल्लेख्य रूपमा घटेको र आगामी वर्षमा विदेशी मुद्रा घाटा कम हुने जनाइएको छ । यद्यपि स्पेयर पाट्र्सको खरिद अमेरिकी डलरमा हुने भएकाले कम्पनीमा विदेशी मुद्रा जोखिम पूर्ण रूपमा समाप्त नभएको रिपोर्टमा उल्लेख छ । 

यती एयरलाइन्सको सञ्चालनमा एटीएफ अर्थात् हवाई इन्धनको मूल्य थप चुनौती बनेको छ । आर्थिक वर्ष २०२४/२५ र २०२५/२६ दुवैमा हवाई इन्धनले कम्पनीको कुल सञ्चालन खर्चको ३२ प्रतिशत हिस्सा ओगटेको थियो ।

पश्चिम एसियामा जारी भूराजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा एटीएफको मूल्य बढ्दा कम्पनीको इन्धन खर्चमा दबाब परेको छ । बढेको इन्धन लागतको सम्पूर्ण भार यात्रुमाथि सार्न नसक्दा कम्पनीले केही हदसम्म हवाई भाडा बढाएको छ । भाडा बढेपछि उडान र यात्रु संख्यामा समेत असर परेको देखिएको छ । 

सन् २०२५ मा यतीको निर्धारित उडान संख्या अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत घटेको र यात्रु संख्या ९ प्रतिशत घटेको रेटिङ प्रतिवेदनमा उल्लेख छ । यद्यपि यात्रु सिट उपयोग दर भने सन् २०२४ को ७८ प्रतिशतबाट बढेर आर्थिक वर्ष २०२५/२६ मा ८२ प्रतिशत पुगेको छ ।

सन् २०२६ मा काठमाडौं-पोखरा र काठमाडौं-विराटनगरका दुवैतर्फका उडानलाई समेट्दा शीर्ष चार रुटबाट कम्पनीको कुल आम्दानीको ५१ प्रतिशत र यात्रुको करिब ५२ प्रतिशत हिस्सा आएको छ । अमेरिकी डलरमा प्राप्त हुने आम्दानी झनै केही सीमित रुटमा केन्द्रित छ । जसको ९० प्रतिशत दुई रुटबाट आउने रेटिङ प्रतिवेदनमा उल्लेख छ ।

यती एयरलाइन्सको बजार हिस्सामा भने विगत केही वर्षमा उतारचढाव आएको थियो । सन् २०२३ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि कम्पनीको बजार हिस्सा प्रभावित भएको थियो । आर्थिक मन्दी र हवाई टिकटमा मूल्य अभिवृद्धि कर लागू भएका कारणले आर्थिक वर्ष २०२२/२३ मा बजार हिस्सा  १७ प्रतिशतमा झरेको थियो । 

त्यसअघि आर्थिक वर्ष २०२१/२२ मा २१ प्रतिशत र २०२०/२१ मा करिब २३ प्रतिशत बजार हिस्सा रहेको थियो । नयाँ विमान थपिएसँगै पर्यटन गतिविधिमा सुधार आउँदा कम्पनीले त्यसपछि बजार हिस्सा पुनः बढाएको र पछिल्ला दुई वर्षमा २२-२३ प्रतिशतको स्तरमा कायम राखेको छ ।

हाल यती एयरलाइन्ससँग सात वटा एटीआर ७२ विमान छन्, जसमध्ये छ वटा कम्पनीको स्वामित्वमा र एउटा लिजमा रहेको छ । कम्पनीमा एसियन लाइफ इन्स्योरेन्सको २९.८५ प्रतिशत, ल्हाक्पा सोनाम शेर्पाको १५.९६ प्रतिशत र चन्दा शेर्पाको १२.७९ प्रतिशत शेयर रहेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २००२ देखि सञ्चालनमा रहेको यती एयरलाइन्स यात्रु संख्याका आधारमा आर्थिक वर्ष २०२५/२६ मा नेपालको घरेलु हवाई बजारमा २२-२३ प्रतिशत हिस्सासहित दोस्रो ठूलो कम्पनीका रूपमा रहेको छ ।  विभिन्न विमानस्थलमा बिक्री कार्यालय तथा हबको उपस्थिति र अनलाइन टिकट बुकिङ प्रणालीले कम्पनीको बजार पहुँच तथा टिकट बिक्रीलाई समेत सहयोग गरेको छ ।

कम्पनीको वित्तीय अवस्थाका केही प्रमुख सूचकमा पछिल्लो समय उल्लेख्य सुधार देखिएको छ । यती एयरलाइन्सले निजी प्लेसमेन्टमार्फत २ अर्ब २७ करोड पुँजी थपेको थियो । उक्त रकममध्ये केही हिस्सा ऋण घटाउन र केही विमानका इन्जिन ओभरहलमा प्रयोग गरिएको रेटिङ प्रतिवेदनमा उल्लेख छ । 

यससँगै कम्पनीको समग्र गियरिङ अनुपात सन् २०२४ मा ४.४५ गुणा रहेकोमा सन् २०२५ मा ३.१० गुणा र सन् २०२६ मा १.४९ गुणामा झरेको छ । ऋण तिर्ने क्षमतामा पनि सुधार आएको छ । कम्पनीको ब्याज भुक्तानी क्षमता सन् २०२५ को २.९८ गुणाबाट बढेर सन् २०२६ मा३.५४ गुणा पुगेको छ ।  

कम्पनीको कुल बैंक ऋण सुविधा ७ अर्ब ९८ करोड ७५ लाख रुपैयाँ रहेको छ । यसमध्ये दीर्घकालीन बैंक सुविधा ६ अर्ब ३८ करोड ९१ लाख रुपैयाँ छ । जुन यसअघि रहेको ६ अर्ब ६९ करोड ९६ लाख रुपैयाँबाट घटेको हो । 

अल्पकालीन बैंक सुविधा यसखघि ७५ करोड ७३ लाख रुपैयाँ रहेकोमा बढेर एक अर्ब ४ करोड ६५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको दीर्घकालीन तथा अल्पकालीन बैंकिङ सुविधा ५५ करोड १९ लाखमा झरेको छ ।

कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत थप पुँजी परिचालन गर्ने योजना बनाएको छ । कम्पनीले सर्वसाधारणमा दुई अर्ब १० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । 
 

थप समाचार