काठमाडौं : नेपाली दूरसञ्चार तथा सूचना प्रविधि विज्ञ अनन्दराज खनाल अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (International Telecommunication Union–ITU) को नयाँदिल्लीस्थित दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुखमा नियुक्त भएका छन्।
उनले १ अक्टोबर २०२६ देखि पदभार ग्रहण गरेका छन्। दूरसञ्चार, सूचना तथा सञ्चार प्रविधि (ICT), डिजिटल रूपान्तरण, सार्वजनिक नीति, नियमन, साइबर सुरक्षा, डिजिटल पूर्वाधार तथा नवप्रवर्तनका क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव बोकेका खनाललाई आईटीयूको दूरसञ्चार विकास ब्युरोले २२ सेप्टेम्बर २०२६ मा औपचारिक रूपमा उक्त पदमा नियुक्त गरेको हो।
नयाँदिल्लीस्थित आईटीयूको दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टर भारत सरकारको सहकार्यमा स्थापना भई सन् २०२३ मार्चमा औपचारिक रूपमा उद्घाटन भएको थियो।
यस कार्यालयले दक्षिण एसियामा डिजिटल रूपान्तरण, उन्नत प्रविधि, दूरसञ्चार तथा ICT पूर्वाधार, क्षमता विकास, नवप्रवर्तन र साझेदारी प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
आईटीयूको हालको विवरणअनुसार यस क्षेत्रीय कार्यालयको कार्यक्षेत्रमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, इरान, माल्दिभ्स, नेपाल र श्रीलंका रहेका छन्।
दूरसञ्चार क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव खनालले नेपालको दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि काम गर्दै आएका छन्। उनले नेपाल दूरसञ्चार प्राधिकरण (NTA) मा १५ वर्षभन्दा बढी समय वरिष्ठ नेतृत्व तहमा रहेर काम गरेका थिए।
उनी प्राधिकरणमा वरिष्ठ निर्देशकका रूपमा कार्यरत रहनुका साथै विभिन्न अवसरमा कार्यवाहक अध्यक्ष/प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए। प्राधिकरणमा रहँदा उनले दूरसञ्चार तथा ICT नीति, नियमन, ब्रोडब्यान्ड, साइबर सुरक्षा, डिजिटल सेवा, अपाङ्गता भएका व्यक्तिका लागि ICT पहुँच तथा नयाँ प्रविधिसम्बन्धी विभिन्न राष्ट्रिय पहलमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
आईटीयूको प्राविधिक सहयोगमा सम्पन्न राष्ट्रिय साइबर सुरक्षा सचेतना मूल्याङ्कन, राष्ट्रिय साइबर सुरक्षा नीति २०७३/२०१६, साइबर अपराधसम्बन्धी विधेयक २०१८, वायरलेस ब्रोडब्यान्ड मास्टर प्लान तथा अपाङ्गता भएका व्यक्तिका लागि ICT पहुँच अभिवृद्धिसम्बन्धी पहलमा उनको महत्वपूर्ण संलग्नता रहेको थियो।
नेपालमा International Girls in ICT Day लाई संस्थागत तथा निरन्तर क्षमता विकास कार्यक्रमका रूपमा अघि बढाउने, बालबालिकाको अनलाइन सुरक्षा तथा साइबर सुरक्षासम्बन्धी क्षमता विकासलगायतका पहलमा पनि उनले योगदान गरेका छन्। आईटीयू तथा अन्तर्राष्ट्रिय मञ्चमा लामो अनुभव खनालको आईटीयूसँगको संलग्नता लामो समयदेखि रहँदै आएको छ।
उनी ITU-D Study Group 2 का उपाध्यक्ष (Vice Chairman) का रूपमा लगातार दुई कार्यकाल २०१४-२०१८ र २०१८-२०२१ निर्वाचित भएका थिए। त्यसअघि उनले दूरदराज तथा ग्रामीण क्षेत्रमा दूरसञ्चार/ICT सम्बन्धी ITU-D Study Group 2 Question 10-3/2 का Vice Rapporteur का रूपमा २०१०-२०१४ सम्म काम गरेका थिए।
उनले ITU Plenipotentiary Conference का २००६, २०१० र २०१४ का बैठकमा सहभागिता जनाएका थिए। सन् २००६ को सम्मेलनमा उनी नेपालको प्रतिनिधिमण्डलका उपप्रमुख समेत थिए। साथै उनले विभिन्न World Telecommunication Development Conference लगायतका अन्तर्राष्ट्रिय बैठकमा नेपालको प्रतिनिधित्व गरेका छन्।
सन् २०१९ देखि २०२१ सम्म उनी UN Internet Governance Forum Multistakeholder Advisory Group (IGF MAG) का सदस्यसमेत रहेका थिए। एसिया–प्रशान्त दूरसञ्चार समुदाय APT तथा South Asian Telecommunication Regulators' Council (SATRC) मा पनि उनको लामो समयसम्म सक्रिय सहभागिता रहेको छ।
यी मञ्चमा उनले वक्ता, प्रतिवेदक, मोडरेटर, कार्यक्रम आयोजक, परामर्शदाता तथा प्रतिनिधिका रूपमा भूमिका निर्वाह गरेका छन्। सरकार, विकास साझेदार र प्रविधि उद्योगसँग काम गरेको अनुभव खनालले सरकारी निकाय, नियामक संस्था, अन्तर्राष्ट्रिय विकास साझेदार, प्रविधि कम्पनी तथा दूरसञ्चार क्षेत्रबीच काम गरेको व्यापक अनुभव हासिल गरेका छन्।
हालै उनले एसियाली विकास बैंक (ADB) का लागि नेपाल विद्युत् प्राधिकरणको डिजिटल पूर्वाधारको व्यावसायिकीकरणसम्बन्धी परामर्शदाताका रूपमा काम गरेका थिए। उक्त कार्यमा अप्टिकल फाइबरलगायत विद्युत् क्षेत्रमा रहेका दूरसञ्चारसम्बन्धी पूर्वाधारको उपयोग तथा व्यावसायिक मोडलबारे अध्ययन र सुझाव समावेश थियो।
यसअघि उनले Google तथा Tencent लगायतका विश्वव्यापी प्रविधि कम्पनीका लागि सार्वजनिक नीति तथा सरकारी मामिला सम्बन्धी परामर्शदाताका रूपमा पनि काम गरेका छन्।
उनका कार्यक्षेत्रमा डिजिटल पूर्वाधार, ब्रोडब्यान्ड, साइबर सुरक्षा, डिजिटल सरकार, नयाँ प्रविधि, नियामक नीति, सार्वजनिक-निजी साझेदारी तथा डिजिटल इकोसिस्टम विकास रहेका छन्। प्राध्यापन तथा शैक्षिक क्षेत्रमा पनि लामो योगदान दूरसञ्चार तथा नीति-नियमनको कार्यसँगै खनालले लामो समयदेखि शिक्षण, अनुसन्धान तथा स्नातकोत्तर तहको मार्गदर्शनमा पनि योगदान गर्दै आएका छन्।
उनले विभिन्न विश्वविद्यालय तथा कलेजमा Visiting Professor का रूपमा दूरसञ्चार, सूचना प्रणाली, ICT तथा नयाँ प्रविधिसम्बन्धी विषय अध्यापन गर्नुका साथै स्नातकोत्तर तहका विद्यार्थीको अनुसन्धान तथा थेसिस सुपरिवेक्षण गर्दै आएका छन्।
खनालले Electronics and Communications Engineering मा BE, Optical Communication मा ME, कानुनमा स्नातक (LL.B.)-स्वर्ण पदकसहित, तथा त्रिभुवन विश्वविद्यालयबाट Public Administration मा स्नातकोत्तर (MPA) गरेका छन्। उनी Asia-Pacific Center for Security Studies (APCSS), Hawaii का Fellow तथा East-West Center, Hawaii का Senior Fellow समेत रहिसकेका छन्।
नेपालका विभिन्न व्यावसायिक तथा ICT विकाससम्बन्धी संस्थामा पनि उनले नेतृत्व तथा परामर्शदाताका रूपमा योगदान दिएका छन्। राष्ट्रिय नियमनबाट क्षेत्रीय डिजिटल रूपान्तरणतर्फ खनालको नयाँ जिम्मेवारी दक्षिण एसियामा डिजिटल कनेक्टिभिटी, कृत्रिम बुद्धिमत्ता (AI), डिजिटल सार्वजनिक पूर्वाधार, साइबर सुरक्षा, डिजिटल सीप तथा नयाँ प्रविधि तीव्र रूपमा विस्तार भइरहेको समयमा आएको छ।
आईटीयूका अनुसार नयाँदिल्लीस्थित क्षेत्रीय कार्यालयले उन्नत प्रविधिको प्रवर्द्धन, ICT तथा दूरसञ्चार नेटवर्क र सेवाको विकास, पूर्वाधार तथा ई-गभर्नेन्ससम्बन्धी प्राविधिक सहयोग र मानव स्रोत तथा क्षमता विकासमा काम गर्नेछ। यससँग जोडिएको Innovation Centre ले रणनीतिक पूर्वानुमान, खुला प्रविधि नवप्रवर्तन, उद्यमशीलता तथा नीति प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
आईटीयू इनोभेसन सेन्टरले Innovation Café लगायतका माध्यमबाट सरकार, निजी क्षेत्र, स्टार्टअप, उद्यमी, शिक्षण संस्था तथा अन्य सरोकारवालालाई एउटै मञ्चमा ल्याएर AI, डिजिटल पहिचान, डिजिटल स्वास्थ्य, ई-वेस्ट, स्मार्ट तथा दिगो समुदाय तथा AI प्रविधि र मापदण्डलगायतका विषयमा सहकार्य अघि बढाउँदै आएको छ।
नेपालको दूरसञ्चार नियमन तथा ICT नीति क्षेत्रमा लामो समय नेतृत्व गरेका खनालको नयाँ जिम्मेवारीले उनलाई अब राष्ट्रिय भूमिकाबाट क्षेत्रीय तथा अन्तर्राष्ट्रिय डिजिटल रूपान्तरणको नेतृत्वदायी मञ्चमा पुर्याएको छ। उनको व्यावसायिक रुचि प्रविधि, नीति, नियमन, नवप्रवर्तन र विकासलाई जोडेर व्यावहारिक, दिगो तथा समावेशी डिजिटल इकोसिस्टम निर्माण गर्ने विषयमा केन्द्रित रहँदै आएको छ।
आईटीयूबारे International Telecommunication Union (ITU) संयुक्त राष्ट्रसंघको दूरसञ्चार-सूचना तथा सञ्चार प्रविधि (ICT) तथा डिजिटल प्रविधि सम्बन्धी विशिष्टीकृत संस्था हो। यसले विश्वव्यापी कनेक्टिभिटी, रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रम, दूरसञ्चार मापदण्ड तथा डिजिटल विकासका क्षेत्रमा सदस्य राष्ट्र तथा निजी क्षेत्र, शैक्षिक संस्था र अन्य साझेदारसँग सहकार्य गर्दछ।
दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा Innovation Centre भारत सरकारको आतिथ्यमा नयाँदिल्लीस्थित C-DOT Campus, Chhatarpur मा रहेको छ।