बाढी प्रभावित ८ सहकारीलाई भक्तपुर जिल्ला संघको कार्यालय सामग्री सहयोग

बाढी प्रभावित ८ सहकारीलाई भक्तपुर जिल्ला संघको कार्यालय सामग्री सहयोग

भक्तपुर : प्राकृतिक विपद्का कारण क्षति व्यहोरेका बचत तथा ऋण सहकारी संस्थाहरूको कार्यालय पुनः सञ्चालन तथा पुनःस्थापनाका लागि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको नेतृत्वमा जिन्सी सामग्री हस्तान्तरण गरिएको छ।

Sponsored Advertisement

२०८३ असोज १८ गते आइतबार नुवाकोटको विदुर नगरपालिकामा नगर प्रमुख राजन श्रेष्ठको उपस्थितिमा औपचारिक रूपमा सामग्री हस्तान्तरण गरिएको हो। भोटेकोशीलगायत बाढीबाट प्रभावित सहकारी संस्थाहरूलाई पूर्ववत् अवस्थामा फर्काउन भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि., सूर्यविनायक–८, भक्तपुरले सहयोग समन्वय तथा नेतृत्वदायी भूमिका निर्वाह गरेको जनाएको छ।

संघ र उसका ३१ वटा सदस्य सहकारी संस्थाहरूको सहकार्यमा रु. ८ लाख ६४ हजार ३४ रुपैयाँ बराबरका जिन्सी सामग्री संकलन गरी प्रभावित संस्थाहरूलाई उपलब्ध गराइएको हो।

सहयोग वितरण प्रक्रियालाई नियमसंगत, पारदर्शी र व्यवस्थित बनाउन सम्बन्धित स्थानीय तहबाट आवश्यक अनुमति लिइएको थियो। विदुर नगरपालिका, नुवाकोट र गल्छी गाउँपालिका, धादिङबाट अनुमति लिएर नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघ र धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघको समन्वयमा सामग्री हस्तान्तरण गरिएको हो।

बाढीका कारण कार्यालय भवन, कम्प्युटर, प्रिन्टर तथा महत्वपूर्ण श्रेस्ता नष्ट भएका सहकारीहरूको प्रशासनिक तथा वित्तीय सेवा पुनः सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्यले ल्यापटप, प्रिन्टर, स्टिल दराज, टेबल र मेच उपलब्ध गराइएको संघले जनाएको छ।

नुवाकोटका ७ वटा र धादिङको १ वटा गरी ८ वटा बचत तथा ऋण सहकारी संस्थालाई प्रत्यक्ष रूपमा ती सामग्री हस्तान्तरण गरिएको हो।

सहकारीको छैटौँ सिद्धान्त ‘सहकारीबीच पारस्परिक सहयोग’ र सातौँ सिद्धान्त ‘समुदायप्रति चासो’लाई आत्मसात् गर्दै संकटको समयमा सहकारी अभियानबीच ऐक्यबद्धता प्रकट गरिएको भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिकृष्ण बल्लले बताए।

थप समाचार