सिमरामा तीन अर्ब ३४ करोडको पाँचतारे होटल बन्दै, ११८ कोठा र क्यासिनोसहितका सुविधा रहने

सिमरामा तीन अर्ब ३४ करोडको पाँचतारे होटल बन्दै, ११८ कोठा र क्यासिनोसहितका सुविधा रहने

काठमाडौं : बाराको सिमरामा ११८ कोठाको पाँचतारे होटल निर्माण भइरहेको छ। भरलेली हस्पिटालिटी प्राइभेट लिमिटेडले २ लाख २० हजार १५८ वर्गफुट क्षेत्रफलमा होटल निर्माण गरिरहेको हो।

Sponsored Advertisement

कम्पनीले होटल परियोजनाको कुल लागत तीन अर्ब ३४ करोड ५० लाख रुपैयाँ अनुमान गरेको छ। उक्त लगानीमध्ये ७५ प्रतिशत अर्थात् करिब २ अर्ब ५० करोड ९० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण र बाँकी ८३ करोड ६० लाख रुपैयाँ प्रवद्र्धकको इक्विटीबाट जुटाउने योजना रहेको छ।

होटल निर्माण परियोजना हाल प्रारम्भिक चरणमा छ। कम्पनीले आवश्यक जग्गा खरिद गरिसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) समेत सम्पन्न भइसकेको जनाएको छ। परियोजनाको वित्तीय प्रगति करिब १३ प्रतिशत पुगेको छ। कुल इक्विटीमध्ये हालसम्म १९ प्रतिशत रकम लगानी भइसकेको छ।

यद्यपि परियोजनाका लागि आवश्यक अधिकांश ऋण अझै जुट्न बाँकी छ। हालसम्म बैंकबाट ३० करोड रुपैयाँ दीर्घकालीन ऋण स्वीकृत भएको छ भने थप २ अर्ब २५ करोड रुपैयाँ प्रस्तावित कर्जाका रूपमा रहेको छ।

कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट लिने कुल २ अर्ब ५५ करोड रुपैयाँ बराबरको दीर्घकालीन बैंकिङ सुविधाका लागि बीबी माइनस रेटिङ पाएको छ।

ऋण व्यवस्थापन बाँकी रहेकाले निर्धारित समय र अनुमानित लागतभित्र होटल निर्माण सम्पन्न गर्नु कम्पनीका लागि प्रमुख चुनौतीका रूपमा देखिएको छ।

निर्माणाधीन होटलमा ११८ वटा कोठाका साथै रेस्टुरेन्ट तथा बार, बोर्डरुम, जिम्नेसियम, क्यासिनो बोर्डरुम, बैंक्वेट तथा सम्मेलन हललगायतका सुविधा रहनेछन्।

होटल सिमरा विमानस्थलबाट करिब ५ किलोमिटरको दूरीमा अवस्थित छ। सिमरा औद्योगिक तथा व्यावसायिक गतिविधिका दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले होटलले पर्यटकसँगै व्यावसायिक तथा कर्पोरेट ग्राहकलाई लक्षित गर्ने योजना बनाएको छ।

कम्पनीले भारतीय तथा अन्य विदेशी पर्यटक, कर्पोरेट घराना, व्यवसायी, सरकारी तथा गैरसरकारी संस्था र आन्तरिक पर्यटकलाई प्रमुख लक्षित ग्राहकका रूपमा राखेको छ। सिमरा विमानस्थल, प्रमुख औद्योगिक प्रतिष्ठान, व्यापारिक केन्द्र तथा यातायात सञ्जालसँगको निकटताले होटललाई पर्यटनमा मात्र निर्भर नरही व्यावसायिक तथा कर्पोरेट ग्राहकबाट समेत आम्दानी गर्ने अवसर दिने अपेक्षा गरिएको छ।

भरलेली हस्पिटालिटी प्राइभेट लिमिटेडको स्थापना कम्पनी ऐन, २०६३ अन्तर्गत २०७५ साल मंसिर १२ गते भएको हो। कम्पनीका अध्यक्ष अंकुश श्रेष्ठ रहेका छन्। श्रेष्ठ विभिन्न व्यावसायिक क्षेत्रमा अनुभव भएका व्यवसायी हुन्। उनी नेपोभिट सिरेमिक प्राइभेट लिमिटेडका सञ्चालकसमेत हुन्।

थप समाचार