काठमाडौं : पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित ९.२५ मेगावाट क्षमताको अप्पर माई जलविद्युत आयोजनाले पुनः विद्युत उत्पादन सुरु गरेको छ।
आयोजनाको एक्सपान्सन जोइन्टमा अत्यधिक पानी चुहावट भएपछि मर्मतका लागि टनेल पूर्णरूपमा खाली गर्नुपर्ने भएकाले गत भदौ २१ गते बेलुकी ६ः१० बजेदेखि आयोजनाको विद्युत उत्पादन आकस्मिक रूपमा बन्द गरिएको थियो।
कम्पनीका अनुसार एक्सपान्सन जोइन्टको आवश्यक मर्मतसम्भार सम्पन्न भएपछि असोज १६ गते अपराह्न ३ः०२ बजेदेखि आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु भएको हो। मर्मत कार्य सम्पन्न भएसँगै आयोजनाको विद्युत उत्पादन नियमित रूपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ।