जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु

जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु

जनकपुर : जनकपुर चुरोट कारखाना लिमिटेडले कारखानासँग सम्बन्धित लेनदेन, बक्यौता तथा अन्य दायित्वसम्बन्धी दाबी पेस गर्न सरोकारवालालाई २१ दिनको समय दिएको छ। 

Sponsored Advertisement

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको जनकपुर चुरोट कारखाना लिमिटेडले सार्वजनिक सूचना जारी गर्दै कारखानासँग कारोबार गरेका ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालालाई आफ्नो दाबी प्रमाणसहित पेस गर्न आग्रह गरेको हो। 

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२/१०/१५ को निर्णयअनुसार कारखानामा रहेको सरकारी लगानीको व्यवस्थापन गर्ने प्रयोजनार्थ अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीमार्फत कारखानाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन सम्बन्धी कार्य सम्पन्न भइसकेको सूचनामा उल्लेख छ। 

कारखानासँग कारोबार गरेका ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालाको लेनदेन, कारोबार, अदालत वा कुनै निकायबाट भएका फैसलाबमोजिम लिनदिनुपर्ने हरहिसाब, जग्गा रोक्का, बिमा, कर्मचारी सेवा सुविधालगायत दायित्वसम्बन्धी कुनै दाबी भएमा तोकिएको समयभित्र प्रमाणसहित पेस गर्न सूचनामार्फत आग्रह गरिएको छ।

त्यस्तै, उद्योगलाई तिर्न बुझाउन बाँकी बक्यौता वा अन्य दायित्व भएमा सम्बन्धित व्यक्ति तथा संस्थाले आवश्यक प्रमाणसहित कारखानामा सम्पर्क गर्नुपर्ने जनाइएको छ।

सूचनाअनुसार सार्वजनिक सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दाबी पेस गर्नुपर्नेछ । उक्त अवधिमा कुनै दाबी पर्न नआएमा प्रचलित कानुनबमोजिम प्रक्रिया अगाडि बढाइने र त्यसपछि उद्योगउपर कुनै दाबी नलाग्ने बेहोरासमेत जानकारी गराइएको छ।

थप समाचार