काठमाडौं : नेपालमा लगानी गर्ने वातावरण र पुँजी बजारको विकासका लागि लगानीमैत्री संस्कार निर्माण गर्नुपर्ने नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल भट्टले बताएका छन्। देशमा लगानी गर्ने र आर्थिक विकासमा योगदान पुर्याउनेभन्दा लगानीप्रति नकारात्मक धारणा विकास हुँदै गएको भन्दै उनले संस्कार र संस्कृतिमा परिवर्तन आवश्यक रहेको बताएका हुन्।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आईतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष भट्टले नेपालमा लगानी गर्ने, कमाउने र कमिसनको चर्चा गर्ने प्रवृत्ति रहे पनि अरूले गरेको कमाइ र लगानीलाई सकारात्मक रूपमा हेर्ने संस्कार कमजोर रहेको बताए।
नेपाल बुद्ध, गोरखनाथ र मच्छिन्द्रनाथको भूमि भए पनि व्यवहारमा लगानी र आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने संस्कार विकास हुन नसकेको उनको भनाइ थियो। नेपालमा लक्ष्मीपूजा गर्ने परम्परा भए पनि त्यसअनुसार लगानी र समृद्धिलाई प्राथमिकता दिन नसकिएको उनले उल्लेख गरे।
उनले बैंकमा रहेको पैसा परिचालन नहुने, विदेशबाट आएको रकमसमेत खर्च तथा लगानीमा पर्याप्त रूपमा प्रयोग नहुने र त्यसले आर्थिक विकासमा असर पार्ने समस्या रहेको बताए । अन्य देशमा लगानी र सेयर बजारको विकास भइरहेको उल्लेख गर्दै उनले आर्थिक समृद्धिका लागि सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेकोमा जोड दिए ।
दसैँमा हुने पशुबलि र विगतको हिंसात्मक संस्कृतिको प्रसङ्ग उठाउँदै अध्यक्ष भट्टले समाजमा अहिंसा, सकारात्मक सोच र आर्थिक विकासलाई प्रवर्द्धन गर्ने संस्कार निर्माण गर्नुपर्ने धारणा राखे ।
पुँजी बजारका लागि दुई नयाँ ऐनको मस्यौदा तयार
अध्यक्ष भट्टले नेपालको पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री र अन्तर्राष्ट्रियस्तरको बनाउन दुईवटा नयाँ ऐनको मस्यौदा तयार भएको जानकारी दिए । मस्यौदा अब बोर्ड बैठकमा पेस गरिने र बोर्डबाट अनुमोदन भएपछि स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाउने तयारी रहेको उनले बताए।
नेपाल राष्ट्र बैंकमा जस्तै नियामक निकाय र नियमन गरिने क्षेत्रलाई व्यवस्थित गर्ने छुट्टाछुट्टै कानुनी व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै उनले सेबोनका लागि पनि दुईवटा ऐनको अवधारणा अघि बढाइएको बताए।
उनका अनुसार एउटा ऐनमार्फत पुँजी बजारको पूर्वाधार, ब्रोकर बजार, मर्चेन्ट बैंकिङ तथा म्युचुअल फन्डलगायत क्षेत्रलाई नियमन गर्ने व्यवस्था गरिनेछ भने अर्को ऐनले धितोपत्र बोर्डको कामकारबाहीलाई व्यवस्थित गर्नेछ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनाका विषयमा पनि काम अघि बढिरहेको उनले जानकारी दिए । सरकारद्वारा गठित उच्चस्तरीय समितिले बोर्डलाई पत्र पठाएपछि सोहीअनुसार प्रक्रिया अघि बढाइएको उनको भनाइ थियो।
नेप्सेको प्रविधि, जोखिम व्यवस्थापन र कारोबार प्रणालीको आधुनिकीकरणमा बोर्डले ध्यान दिने उनले बताए । पुनर्संरचनाका अन्य विषयमा भने सरकार र लगानीकर्ताको चासो तथा भूमिकालाई महत्त्व दिनुपर्ने उनको धारणा थियो।
ब्रोकर व्यवसायलाई कर्पोरेट शैलीमा लैजाने तयारी
अध्यक्ष भट्टले आगामी दिनमा धितोपत्र ब्रोकर व्यवसायलाई व्यवस्थित र व्यावसायिक बनाउन कर्पोरेट शैली अपनाउनुपर्नेमा जोड दिए । पुँजी बजारमा नयाँ वित्तीय उपकरणको विकास र कारोबार प्रणालीको आधुनिकीकरणले बजारलाई थप प्रभावकारी बनाउने उनको भनाइ थियो।
उनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा सर्ट सेलिङ, इन्ट्रा डे ट्रेडिङ, एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ) तथा सेक्युरिटी लेन्डिङ एन्ड बोरोइङजस्ता वित्तीय उपकरण पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने लक्ष्य रहेको जानकारी दिए।
नयाँ कानुनी व्यवस्था, आधुनिक प्रविधि र वित्तीय उपकरणको विस्तारमार्फत नेपालको पुँजी बजारलाई थप प्रतिस्पर्धी तथा अन्तर्राष्ट्रियस्तरअनुकूल बनाउने दिशामा काम भइरहेको उनले बताए।