मिठाईमा प्रयोग हुने कच्चा पदार्थ र उपभोग्य मिति अनिवार्य खुलाउन विभागको निर्देशन

मिठाईमा प्रयोग हुने कच्चा पदार्थ र उपभोग्य मिति अनिवार्य खुलाउन विभागको निर्देशन

काठमाडौं : मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले बिक्री गर्ने मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने मिति र मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ।

Sponsored Advertisement

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई व्यवसायीलाई यस्तो विवरण उपभोक्ताले स्पष्ट देख्ने गरी मिठाई राख्ने सोकेस वा काउन्टरमा राख्न निर्देशन दिएको हो।

विभागले शुक्रबार णजारी गरेको सूचनाअनुसार उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणका लागि मिठाईलगायत खाद्य पदार्थमा प्रयोग भएका सामग्रीबारे उपभोक्तालाई सुसूचित गराउनुपर्नेछ।

निर्देशनअनुसार मिठाईमा प्रयोग गरिएको मुख्य कच्चा पदार्थको मिश्रण, कुन तेल वा घिउ प्रयोग गरिएको हो, मिठाई कहिलेसम्म उपभोग गर्न सकिन्छ र प्रतिकिलो मूल्य कति हो भन्ने विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। यस्तो व्यवस्था होटल, मिठाई पसल तथा मिठाई भण्डारलगायत मिठाई बिक्री वितरण गर्ने व्यवसायीका लागि लागू हुनेछ।

विभागले निर्देशन पालना नगरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने जानकारी समेत दिएको छ। त्यसैगरी, विभाग वा मातहतका कार्यालयबाट आफ्नो व्यवसायको खाद्य स्वच्छताका आधारमा स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्नसमेत विभागले आग्रह गरेको छ।

थप समाचार