काठमाडौं : आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानको अल अमरात क्रिकेट मैदानमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि शीर्ष ६ मा स्थान सुरक्षित गर्न निकै महत्वपूर्ण मानिएको छ ।
तालिकामा ३४ खेलबाट २८ अङ्कसहित सातौं स्थानमा रहेको नेपाल क्यानडाभन्दा एक अङ्कले अगाडि छ । आजको खेल जितेमा नेपालले एक खेल अगावै शीर्ष ६ मा आफ्नो स्थान पक्का गर्नेछ । जारी त्रिकोणात्मक शृङ्खलामा उत्कृष्ट लयमा रहेको नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले र दोस्रो खेलमा घरेलु टोली ओमानलाई ११३ रनको फराकिलो अन्तरले हराएको थियो ।
उता, पछिल्लो खेलमा ओमानलाई ५८ रनले पराजित गरेको क्यानडा पनि नेपालविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिँदै शीर्ष ६ को सम्भावना जीवित राख्ने दाउमा छ । क्यानडाले ओमानविरुद्ध २५६ रन बनाएकाले नेपाली बलरहरूलाई विपक्षी ब्याटिङ रोक्ने चुनौती रहनेछ ।
जारी शृङ्खलाका दुवै खेलमा नेपालले पहिले ब्याटिङ गर्दै २३५ र २६३ रनको मजबुत योगफल खडा गरेको थियो । हालसम्म यी दुई टोलीबीच भएका ६ एकदिवसीय भेटमा नेपालले चार र क्यानडाले दुई खेल जितेका छन्। नेपाल सोही सफलतालाई निरन्तरता दिँदै लगातार तेस्रो जित दर्ता गर्ने लक्ष्यमा छ।