भोजपुर : भोजपुर नगरपालिका वडा नम्बर ३, गुप्तेश्वरका प्राथमिक शिक्षक ज्ञानबहादुर खडका पेन्सन पट्टा बनाउन काठमाडौं जानु पर्ने अवस्थामा थिए । तर शिक्षा विकास तथा समन्वय इकाईबाट नै ई-पेन्सन पट्टाको व्यवस्था सुरु भएपछि उनी सहितका शिक्षकलाई राहत मिलेको छ ।
जनज्योति आधारभूत विद्यालयबाट अवकाश शिक्षक खडकालाई इकाईले पहिलो ई(पेन्सन पट्टा उपलब्ध गराएको थियो । सामुदायिक विद्यालयका शिक्षकहरूका लागि भोजपुरमा ई-पेन्सन पट्टा दिन सुरु गरिएको हो ।
राष्ट्रिय किताब खाना (शिक्षक) शाखाले शिक्षकका लागि कोशी प्रदेश र पहाडी जिल्लाहरूमा पहिलो पटक भोजपुरबाट ई-पेन्सन सेवा सुरु गरेको राष्ट्रिय किताब खाना (शिक्षक) शाखाका कर्मचारी गणेश श्रेष्ठले बताए । उनले भने प्रदेश र पहाडी जिल्लामा पहिलो जिल्लाका रूपमा भोजपुरबाट सेवा सुरु भएको छ ।
ई-पेन्सनको परीक्षण सफल भएकाले यसलाई विस्तार गरिँदै लगिएको छ । अहिलेसम्म अवकाशपछि पेन्सनपट्टा प्राप्त गर्न शिक्षकले विद्यालय, स्थानीय तह र इकाई हुँदै किताब खानाको कार्यालयसम्म आउनुपर्ने अवस्था थियो । अब शिक्षकले आफ्ना कागजात इकाईमा बुझाएपछि त्यहीँबाट पेन्सनपट्टा प्राप्त गर्न सक्ने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख निवास न्यौपानेले जानकारी दिए ।
निजामती कर्मचारीका लागि गत चैतदेखि ई-पेन्सन सुविधा लागू गरिएको छ । अवकाशपछि कागजात बोकेर शिक्षक तथा कर्मचारी काठमाडौं आउँदा खर्चिलो र झन्झटिलो हुने गरेको गुनासो बढेपछि शिक्षकहरूमा समेत यो सेवा सुरु गरिएको छ ।
‘अहिलेसम्म अवकाश भएपछि विद्यालय, पालिका, इकाई हुँदै किताब खानामा आएर पेन्सनपट्टा बन्थ्यो,’ यशोधरा माविका प्रअ विष्णु कुमार राईले भने, ‘जिल्लाबाट नै सेवा लिने अवसर शिक्षकलाई मिल्यो, यसले अवकाशप्राप्त शिक्षकहरूलाई राहत मिलेको छ ।’