काठमाडौं : निजी भ्रमणका क्रममा मौरिसस पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका विदेश मामिला, क्षेत्रीय एकीकरण तथा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी राज्यमन्त्री हम्बिराजेन (राजेन) नरसिंहसँग भेटवार्ता गरेका छन् ।
भेटमा नेपाल-मौरिससबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्षको यात्रालाई थप उपलब्धिमूलक बनाउँदै द्विपक्षीय सम्बन्ध र सहकार्यलाई व्यावहारिक परिणाममा रूपान्तरण गर्ने विषयमा छलफल भएको छ ।
विशेषगरी मौरिससमा कार्यरत १४ हजारभन्दा बढी नेपाली श्रमिकको हकहित संरक्षण, सुरक्षित कार्यस्थल, मर्यादित व्यवहार तथा श्रमिकका आधारभूत अधिकार सुनिश्चित गर्ने विषयमा पराजुलीले जोड दिएका थिए।
उनले दुई देशबीच श्रमसम्बन्धी समझदारीपत्र (एमओयू) शीघ्र सम्पन्न गरी नेपाली श्रमिकको सुरक्षा र हित संरक्षणका लागि प्रभावकारी व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
त्यसैगरी पर्यटन, व्यापार तथा पारस्परिक लगानीलगायत सम्भावनायुक्त क्षेत्रमा सहकार्य विस्तार गर्दै दुई देशका नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो ।
संसद्को हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका सभापति समेत रहेका पराजुलीले मोरिससको राजनीतिक नेतृत्वसँग जलवायु परिवर्तनका असर, जलवायु न्याय र अन्तर्राष्ट्रिय ऐक्यबद्धताका विषयमा समेत छलफल गरेको जनाइएको छ ।
जलवायु परिवर्तनबाट प्रभावित मुलुकका साझा मुद्दामा अन्तर्राष्ट्रिय सहकार्य र न्याय सुनिश्चित गर्न मोरिसस सरकारको सहयोग र ऐक्यबद्धता जुटाउने विषयमा पनि उनले पहल गरेको बताइएको छ ।
पाँचदिने मौरिसस भ्रमणका क्रममा पराजुलीले त्यहाँ कार्यरत नेपाली श्रमिकहरूसँग समेत भेटघाट गरेका थिए । यसअघि उनले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासाम उतेमसँग पनि भेटवार्ता गरेका थिए । उक्त भेटमा मौरिससमा कार्यरत नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी सुनिश्चित गर्ने विषयमा छलफल भएको थियो ।
पाँचदिने मौरिसस भ्रमण सम्पन्न गरी उपनेता पराजुली सोमबार साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।