Below Menu

कात्तिक १७ देखि भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो हुँदै, एक करोडको कारोबार हुने अनुमान 

कात्तिक १७ देखि भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो हुँदै, एक करोडको कारोबार हुने अनुमान 

काठमाडौं : नर्सरी व्यवसायी संघ, नेपाल (नान) ले तिहारलाई लक्षित गर्दै चौथो तिहार फ्लोरा एक्स्पो-२०८३ आयोजना गर्ने भएको छ । ‘तिहारको उत्सव, स्वदेशी फूलको महोत्सव’ भन्ने नाराका साथ आगामी कात्तिक १७ देखि २१ गतेसम्म पाँच दिन भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक्स्पो आयोजना गर्न लागिएको हो ।

Sponsored Advertisement

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मेला संयोजक तथा नर्सरी व्यवसायी संघ नेपालका उपाध्यक्ष लक्ष्मी महर्जनले स्वदेशी फूल तथा नर्सरीजन्य उत्पादनको प्रवद्र्धन र परनिर्भरता कम गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिइन् ।

उनले विज्ञप्ती मार्फत भनिन्, ‘नर्सरी र नर्सरीजन्य वस्तुको अत्यधिक परनिर्भरतालाई कम गर्दै स्वदेशी उत्पादन बढाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै शुभ दीपावलीको पूर्वसन्ध्यामा पाँच दिवसीय राष्ट्रियस्तरको तिहार फ्लोरा एक्स्पो आयोजना गर्न गइरहेका छौं ।’

उनका अनुसार मेलामा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलङ्कारिक बिरुवा, कृषि तथा वन, जडीबुटी र फलफूल नर्सरीबाट उत्पादित विभिन्न प्रजातिका बोटबिरुवा प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन् । त्यस्तै मलखाद, अर्गानिक तथा रासायनिक विषादी, बीउबिजन, औजार, उपकरण र प्रविधिका स्टलसमेत रहनेछन् ।

नर्सरी व्यवसायमा रुचि राख्ने नयाँ उद्यमी, विद्यार्थी, अनुसन्धानकर्ता तथा व्यवसायीका लागि मेला साझा मञ्च बन्ने आयोजकको विश्वास छ । व्यवसायीबीच स्वस्थ प्रतिस्पर्धा गराई उनीहरूको क्षमता विकास र हौसला बढाउने उद्देश्यले शिल्ड, नगद तथा प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरिने महर्जनले बताइन् ।

एक्स्पोमा ६३ वटा व्यावसायिक स्टल, वनस्पति विभाग र पुष्प विकास केन्द्रसहितका ६ वटा आधिकारिक स्टल तथा प्रतिस्पर्धाका चारवटा स्टल गरी कुल ७३ वटा स्टल रहनेछन् । मेलामा करिब ३५ हजार दर्शकले अवलोकन गर्ने र एक करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ ।

मेलामा सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ तोकिएको छ भने विद्यार्थी तथा ज्येष्ठ नागरिकले ५० रुपैयाँमा अवलोकन गर्न पाउनेछन् ।

नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा हुने एक्स्पोको प्रवद्र्धकमा वनस्पति विभाग र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड रहेका छन् । त्यस्तै बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, कृषि विभाग, पुष्प विकास केन्द्र र राष्ट्रिय फलफूल विकास केन्द्र सहआयोजकका रूपमा रहेका छन् ।

पत्रकार सम्मेलनमा महर्जनले बढ्दो राजनीतिक अस्थिरताका कारण उद्यमी तथा व्यवसायीको मनोबल कमजोर हुँदै गएको बताइन् । उनले लगानीको वातावरण बनाउन र व्यवसायीको मनोबल बढाउन सरकार, राजनीतिक दल तथा नयाँ पुस्तालाई जिम्मेवार बन्न आग्रह गरिन् ।

उनले भनिन्, ‘यस्तो विषम परिवेशमा व्यावसायिक वातावरण बनाउनुका साथै खस्किएको मनोबल बढाउन सबै पक्ष जिम्मेवार हुन हार्दिक आह्वान गर्दछौं । लगानी असुरक्षाका कारण लगानी वृद्धि र जनशक्ति पलायनमा समस्या आउन सक्ने अवस्थालाई सरकारले गम्भीर रूपमा लिनुपर्छ ।’

थप समाचार