Below Menu

धनगढीमा निर्माणाधीन होटल सनलाइटको लागत बढेर ७८ करोड पुग्यो, ७५ कोठे चारतारे होटल बन्दै

धनगढीमा निर्माणाधीन होटल सनलाइटको लागत बढेर ७८ करोड पुग्यो, ७५ कोठे चारतारे होटल बन्दै

काठमाडौं : कैलालीको धनगढीमा चारतारे होटल निर्माण गरिरहेको होटल सनलाइट प्रालिको लागत बढेको छ । कम्पनीले धनगढीमा ७५ कोठा क्षमताको चारतारे होटल निर्माण गरिरहेको छ। 

Sponsored Advertisement

सुरुमा ७२ करोड ७० लाख रुपैयाँ अनुमान गरिएको परियोजनाको लागत बढेर ७८ करोड रुपैयाँ पुगेको छ। चारतारे होटलका लागि आवश्यक मापदण्ड पूरा गर्न संरचना तथा सुविधामा परिवर्तन गर्नुपरेकाले लागत वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।

संशोधित परियोजना लागतअनुसार ५४ करोड रुपैयाँ ऋण र २४ करोड रुपैयाँ संस्थापकको स्वपुँजीबाट होटल निर्माण गर्ने योजना छ। यसअघि ४८ करोड ३० लाख रुपैयाँ ऋण र २४ करोड ४० लाख रुपैयाँ स्वपुँजी परिचालन गर्ने प्रस्ताव थियो।

परियोजनामा प्रवर्द्धकहरूले २५ करोड ६० लाख रुपैयाँ लगानी गरिसकेका छन्। परियोजनाको वित्तीय प्रगति ९४ प्रतिशत पुगेको छ। यद्यपि, थप ५ करोड ७० लाख रुपैयाँ ऋणको वित्तीय व्यवस्थापन प्रक्रिया अझै जारी रहेको प्रतिवेदनमा उल्लेख छ।

रेटिङ एजेन्सीले कम्पनीलाई ५४ करोड रुपैयाँ बराबरको दीर्घकालीन कर्जाका लागि ‘केयर-एनपी डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । कम्पनीले प्राप्त गरेको रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

होटलले रेस्टुरेन्ट तथा बार, जिम, क्यासिनो, बोर्डरुम, बैंक्वेट तथा सम्मेलन हललगायतका सुविधा उपलब्ध गराउने योजना बनाएको छ। कम्पनीका अध्यक्ष कलामबहादुर बम रहेका छन् भने कार्यकारी निर्देशक बसन्ता भण्डारी रहेका छन् । 

होटल धनगढी विमानस्थलबाट करिब ८.७ किलोमिटर दूरीमा अवस्थित छ। भारतसँगको सीमावर्ती क्षेत्रबाट सहज पहुँच हुनुका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, घोडाघोडी ताल, जोखर ताललगायतका पर्यटकीय गन्तव्यमा आउने आन्तरिक तथा भारतीय पर्यटकलाई लक्षित गर्न सकिने सम्भावना छ।

नेपालको पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्दै आएको छ। आर्थिक वर्ष २०२३ देखि २०३३ सम्मलाई ‘नेपाल पर्यटन दशक’ का रूपमा अघि बढाइएको छ। होटल तथा रिसोर्टलाई विभिन्न कर सहुलियत र पर्यटन क्षेत्रलाई प्राथमिकता प्राप्त कर्जाको व्यवस्थाले पनि यस क्षेत्रको लगानी वातावरणलाई सहयोग पुर्याएको छ।

सन् २०१९ मा नेपाल आउने विदेशी पर्यटकको संख्या १२ लाख पुगेको थियो। कोरोना महामारीका कारण सन् २०२० र २०२१ मा पर्यटक आगमनमा ठूलो गिरावट आए पनि त्यसपछि क्रमिक सुधार भएको छ। सन् २०२५ मा ११ लाख ६० हजार पर्यटक नेपाल आएका थिए।

सन् २०२६ को पहिलो सात महिनामा पर्यटक आगमन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.८ प्रतिशतले बढेर ६ लाख ९२ हजार २२८ पुगेको प्रतिवेदनमा उल्लेख छ।

होटल सनलाइट प्रालि सन् २०१४ जनवरी ६ मा कम्पनी ऐन, २००६ अन्तर्गत स्थापना भएको हो। कम्पनीले धनगढीमा २ हजार ८०२ वर्गमिटर क्षेत्रफलको जग्गामा ७५ कोठासहितको चारतारे होटल निर्माण गरिरहेको छ।

 
 
 
 
 

थप समाचार