Below Menu

ग्लोबल आईएमई बैंकले कमायो दुई अर्ब ३१ करोड खुद नाफा, प्रतिशेयर आम्दानी पनि बढ्यो 

ग्लोबल आईएमई बैंकले कमायो दुई अर्ब ३१ करोड खुद नाफा, प्रतिशेयर आम्दानी पनि बढ्यो 

काठमाडौं : ग्लोबल आईएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा दुई अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Sponsored Advertisement

सो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.४८ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले एक अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढेको हो। यसका साथै बैंकको इम्पेरिमेन्ट चार्ज घटेका कारण खुद नाफामा सुधार देखिएको हो।

असार मसान्तसम्म आइपुग्दा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.३५ प्रतिशतले बढेर चार अर्ब १९ करोड ३२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको खुद फि तथा कमिशन आम्दानी ३४.५५ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ८.७८ प्रतिशत बढेको छ। बैंकको सञ्चालन मुनाफा भने ३५.८७ प्रतिशतले बढेको छ।

प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको कुल वितरणयोग्य मुनाफा २ अर्ब सात करोड दुई लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १७.७५ रुपैयाँ रहेको छ।

यस अवधिमा आइपुग्दा बैंकको खराब कर्जा भने घटेको छ । गत वर्षको असारसम्ममा ४.९८ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर ४.७९ प्रतिशत पुगेको छ। बैंकको इम्पेरिमेन्ट चार्ज भने एक अर्ब एक करोड नौ लाख रुपैयाँबाट घटेर ४८ करोड ८३ लाख रुपैयाँमा झरेको छ । जसका कारण नाफामा सुधार देखिएको हो ।

चालु आवको पहिलो त्रैमाससम्म आइपुग्दा नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। यस अवधिमा बैंकको इपीएस ३.८४ रुपैयाँ बढेर २३.३५ रुपैयाँ पुगेको छ। त्यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १७५.७७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १०.८८ गुणा रहेको छ।

असोज मसान्तसम्म ३९ अर्ब ६४ करोड चार लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको सञ्चित र जगेडा कोषमा २७ अर्ब ९६ करोड ६९ लाख रुपैयाँ रहेको छ ।

थप समाचार