Below Menu

तीन महिनामा निर्जीवन बीमा कम्पनीको व्यापार साढे १५ अर्बमाथि 

तीन महिनामा निर्जीवन बीमा कम्पनीको व्यापार साढे १५ अर्बमाथि 

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८३/८४ को तीन महिनामा साढे १५ अर्ब रुपैयाँको बीमा व्यवसाय गरेका छन् ।

Sponsored Advertisement

प्राधिकरणका अनुसार असोज मसान्तसम्म कम्पनीहरुले आठ लाख ३६ हजार ७४ बीमालेख बिक्री गरी १५ अर्ब ५४ करोड ५१ लाख ७५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । 

असोज मसान्तसम्म सर्वाधिक बीमाशुल्क आर्जन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । कम्पनीले ७८ हजार ७९२ बीमालेख जारी गरी एक अर्ब ८३ करोड ५३ लाख ८२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

प्राधिकरणका अनुसार यस अवधिमा शिखर इन्स्योरेन्सले एक अर्ब ७९ करोड ३६ लाख ६८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने एनएलजी इन्स्योरेन्सले एक अर्ब ४९ करोड १८ लाख ८१ हजार रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । 

असोज मसान्तसम्म हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक अर्ब ६० करोड ९९ लाख २० हजार रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले एक अर्ब ३१ करोड ९५ लाख ४१ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

प्राधिकरणका अनुसार यस आईजीआई प्रुडेन्सियलले एक अर्ब ३३ करोड चार लाख १५ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने नेको इन्स्योरेन्सले एक अर्ब १५ करोड ८१ लाख ८६ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

सात कम्पनी पुगेनन् अर्ब क्लबमा 

प्राधिकरणका अनुसार चालु आवको पहिलो त्रैमाससम्ममा सात कम्पनीले एक अर्बमाथिको व्यापार गर्दा सात कम्पनीको व्यापार भने करोडमा सिमित भएको छ । 

यस अवधिमा नेपाल इन्स्योरेन्स कम्पनीले ४९ हजार ५९८ बीमालेख बिक्री गरी ८२ करोड ४१ लाख ३० हजार रुपैयाँ बीमाुशल्क आर्जन गरेको छ भने दि ओरियन्टल इन्स्योरेन्सले ९८ करोड २४ लाख ९८ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, असोज मसान्तसम्म राष्ट्रिय बीमा कम्पनीले ५० करोड ७४ लाख १५ हजार, नेशनल इन्स्योरेन्सले ४७ करोड ८८ लाख ७२ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

प्राधिकरणका अनुसार यस अवधिमा प्रभु इन्स्योरेन्सले ५३ करोड २८ लाख र सानिमा जिआइसीले ७१ करोड ८३ लाख ८८ हजार र युनाइटेड अजोड इन्स्योरेन्सले ९६ करोड २० लाख ५० हजार रुपैयाँ बराबरको व्यापार गरेका छन् ।

लघुबीमाको व्यापार सवा २४ करोड

निर्जीवन बीमा अन्तर्गतका चार लघुबीमा कम्पनीहरुले सवा २४ करोडको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले ७९ हजार ६४३ बीमालेख जारी गरी २४ करोड ३१ लाख ३६ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।

यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले छ करोड ३८ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले पाँच करोड ७० लाख, स्टार माइक्रो इन्स्योरेन्सले छ करोड २३ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले छ करोड तीन हजार रुपैयाँ बराबरको व्यवसाय गरेकोे हो ।

थप समाचार