मंसिर महिनाका लागि वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ३.८७ प्रतिशत कायम भएको छ । यो कात्तिक महिनाको औसत ब्याजदर ३.९८ प्रतिशतको तुलनामा ०.११ प्रतिशत बिन्दुले कम हो ।
काठमाडौं : वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । व्यक्तिगत मुद्दती निक्षेपतर्फ ६ वटा बैंकले ब्याजदर घटाएका छन् भने १४ वटा बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि घटेको छ । कात्तिकमा २.९९ प्रतिशत रहेको यस्तो निक्षेपको औसत ब्याजदर मंसिरमा २.९७ प्रतिशतमा झरेको छ । यसअनुसार संस्थागत निक्षेपको औसत ब्याजदर ०.०२ प्रतिशत बिन्दुले घटेको हो ।
मंसिर महिनाका लागि ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।
बाँकी १४ वटा वाणिज्य बैंकले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ब्याजदर यथावत् राख्ने बैंकहरूमा एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनआईसी एसिया बैंक रहेका छन् ।
