Below Menu

सार्क पर्यटनको नेतृत्वमा चन्द्र ढकाल, क्षेत्रीय लगानी र प्रवर्द्धनमा जोड

सार्क पर्यटनको नेतृत्वमा चन्द्र ढकाल, क्षेत्रीय लगानी र प्रवर्द्धनमा जोड

काठमाडौं : सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समितिको संयोजकमा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल चयन भएका छन् ।

Sponsored Advertisement

माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले ढकाललाई पर्यटन समितिको संयोजकको जिम्मेवारी दिएको हो ।

आइएमई समूहका अध्यक्षसमेत रहेका ढकाल नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा लगानी विस्तार गर्दै आएका व्यवसायी हुन् । उनले चन्द्रागिरि हिल्सलगायत पर्यटन पूर्वाधार विकास तथा होटल व्यवसायमा लगानी गरेका छन् । स्वदेशी ‘इलाम’ होटल चेन ब्रान्डको प्रवर्द्धनमा समेत उनको संलग्नता छ ।

पर्यटन समितिको संयोजक चयन भएपछि ढकालले दक्षिण एसियालाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका छन् । उनका अनुसार दक्षिण एसियाको भौगोलिक विविधता, प्राकृतिक सौन्दर्य, धार्मिक तथा ऐतिहासिक सम्पदा र सांस्कृतिक विशेषताले यस क्षेत्रलाई पर्यटनको आकर्षक केन्द्र बनाउन सक्ने सम्भावना छ ।

सगरमाथासहितका हिमशृङ्खलादेखि हिन्द महासागरका टापु, समुद्री तट, जङ्गल र मरुभूमिसम्मका विविध पर्यटकीय आकर्षण दक्षिण एसियामा रहेको उल्लेख गर्दै उनले यस क्षेत्रको पर्यटन सम्भावना उपयोग गर्न पूर्वाधार विकास र लगानी विस्तार आवश्यक रहेको बताएका छन् ।

विश्वको करिब एक चौथाइ जनसङ्ख्या बसोबास गर्ने दक्षिण एसिया आफैँमा ठूलो आन्तरिक पर्यटन बजार रहेको उनको भनाइ छ । यसका लागि सार्क राष्ट्रबीच पर्यटन पूर्वाधारको स्तरोन्नति, अन्तरदेशीय लगानी विस्तार र पर्यटन व्यवसायमा सहकार्य बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।

उनले सार्क राष्ट्रका प्रतिष्ठित होटल तथा आतिथ्य ब्रान्डलाई एकअर्काको देशमा लगानी विस्तार गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । अन्तरदेशीय लगानीले पुँजीसँगै ज्ञान, सीप र प्रविधिको आदानप्रदानमा समेत सहयोग पुग्ने उनको विश्वास छ ।

त्यस्तै, ‘सार्कभित्रै घुमौँ’ भन्ने अवधारणासहित क्षेत्रीय पर्यटन अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिएका छन् । विभिन्न देशका पर्यटकीय गन्तव्यलाई जोडेर साझा पर्यटन सर्किट तथा प्याकेज निर्माण गर्न सके धार्मिक, सांस्कृतिक, पर्यावरणीय र साहसिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनको भनाइ छ ।

क्षेत्रीय पर्यटन विकासका लागि हवाई तथा स्थलमार्गको सम्पर्क सञ्जाल विस्तारलाई समेत उनले प्राथमिकतामा राखेका छन् । सार्क राष्ट्रका प्रमुख सहरबीच सीधा हवाई तथा स्थलमार्गको पहुँच विस्तार गर्न सके पर्यटक, व्यवसायी र लगानीकर्ताको आवागमन सहज हुने उनले बताएका छन् । नेपालका अन्तर्राष्ट्रिय विमानस्थललाई पनि सार्कका प्रमुख गन्तव्यसँग सीधा हवाई सम्पर्कमा जोड्नुपर्ने उनको धारणा छ ।

सार्क राष्ट्रका सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको उल्लेख गर्दै ढकालले नीतिगत समन्वय र व्यावसायिक साझेदारीका लागि सार्क चेम्बरले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।

उनले समग्र दक्षिण एसियाको साझा पर्यटन विकास र समृद्धिका लागि परिणाममुखी भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

थप समाचार