Below Menu

४२ करोडको सडक चार वर्षदेखि अधुरै, अर्को सडकको ठेक्का पनि अलपत्र

४२ करोडको सडक चार वर्षदेखि अधुरै, अर्को सडकको ठेक्का पनि अलपत्र

सुर्खेत : पश्चिम सुर्खेतका दुई महत्त्वपूर्ण सडक निर्माण अलपत्र परेपछि चौकुने गाउँपालिकाले कर्णाली प्रदेश सरकारसँग गुहार मागेको छ।

Sponsored Advertisement

गाउँपालिकाको प्रशासनिक केन्द्र गुटुदेखि घाटगाउँ जोड्ने सडक र राष्ट्रिय गौरवको मदन भण्डारी राजमार्गअन्तर्गत बड्डीचौर-खम्बागाडे सडक निर्माणमा ढिलाइ भएपछि गाउँपालिकाले मुख्यमन्त्रीसमक्ष तत्काल निर्माण अघि बढाउन माग गरेको हो ।

गाउँपालिका अध्यक्ष खड्क बि.क (विवश)ले मंसिर २ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई छुट्टाछुट्टै पत्र पठाउँदै दुवै सडक निर्माणमा आवश्यक पहल गरिदिन आग्रह गरेका छन् ।

पश्चिम सुर्खेतका नागरिकको दैनिक जनजीवनसँग प्रत्यक्ष जोडिएका यी सडक लामो समयदेखि अलपत्र पर्दा स्थानीयले आवागमन, कृषि उपज ढुवानी, शिक्षा र स्वास्थ्य सेवामा समस्या भोग्नुपरेको गाउँपालिकाले जनाएको छ ।

४२ करोडको सडक चार वर्षमा पनि बनेन

मदन भण्डारी राजमार्गअन्तर्गत बड्डीचौरदेखि खम्बागाडेसम्मको करिब १३.९ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रका लागि अनक–जयदेव जेभी बाँकेसँग २०७९ असार १४ गते ठेक्का सम्झौता भएको थियो ।

४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ लागतमा निर्माण गर्ने गरी सम्झौता भएको सडक २०८१ असार २४ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो । तर निर्धारित समयमा निर्माण सम्पन्न हुन सकेन ।

सडक निर्माणको जिम्मेवारी पाएको अनक-जयदेव जेभीमध्ये सहायक निर्माण व्यवसायी जयदेव जेभीले प्रभावकारी काम गर्न नसकेपछि मुख्य निर्माण कम्पनी अनक कन्स्ट्रक्सनले पछिल्लो समय निर्माणको जिम्मेवारी आफैँ सम्हालेको छ ।

जग्गा प्राप्ति, रुख कटानलगायत सरकारी प्रक्रियामा भएको ढिलाइ र निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनले सडक निर्माण प्रभावित भएको हो ।

२०८३ भदौ ३० गते प्रकाशित विवरणअनुसार सडकको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ४० प्रतिशत मात्रै पुगेको थियो। पूर्वाधार विकास निर्देशनालयले निर्माण सम्पन्न गर्न २०८४ जेठ २४ सम्म म्याद थपका लागि मन्त्रालयमा प्रस्ताव पठाएको जनाएको छ । 

गुटु-घाटगाउँ सडक पनि अधुरै

गाउँपालिकाको प्रशासनिक केन्द्र गुटुदेखि घाटगाउँसम्म जोड्ने सडकको निर्माण कार्य पनि ठेक्का सम्झौता भएर अधुरै छाडिएको गाउँपालिकाले मुख्यमन्त्रीलाई पठाएको पत्रमा उल्लेख गरेको छ ।

निर्माण व्यवसायीले बीचमै काम छाडेपछि सडक जीर्ण बनेको र स्थानीय नागरिकलाई आवतजावतमा कठिनाइ भएको गाउँपालिकाको भनाइ छ ।

यस सडकसँग जोडिएको घाटगाउँ-गुटु-सालघारी-कोइरालाबास-कुइनेभिर सडक आयोजना पनि कर्णाली प्रदेश सरकारको रुग्ण आयोजना रुपमा लिएको छ । आयोजनाको ठेक्का २०७९ असार ८ गते भएको थियो । २०८२ पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने आयोजनाको काम निर्धारित समयमा पूरा हुन सकेको छैन । मन्त्रालयसम्बन्धी सार्वजनिक विवरणमा यसको भौतिक प्रगति ४० प्रतिशत रहेको उल्लेख छ । 

मुख्यमन्त्रीलाई तत्काल पहल गर्न आग्रह

गाउँपालिकाले दुवै सडकको निर्माण कार्य तत्काल अघि बढाउन सम्बन्धित निर्माण व्यवसायीलाई कार्यक्षेत्रमा परिचालन गर्न माग गरेको छ ।

निर्माण व्यवसायीले काम नगरे प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाएर सडक निर्माण सम्पन्न गराउन गाउँपालिकाले प्रदेश सरकारसँग आग्रह गरेको छ ।

गुटु-घाटगाउँ सडकको दुरवस्थाले दैनिक उपभोग्य वस्तु तथा कृषि उपज ढुवानी, विद्यार्थीको विद्यालय आवतजावत र बिरामीलाई आकस्मिक अवस्थामा अस्पताल पुर्याउनसमेत समस्या भइरहेको पत्रमा उल्लेख छ ।

त्यस्तै, बड्डीचौर-खम्बागाडे सडकमा हिउँदमा धुलो र वर्षायाममा हिलो तथा पहिरोका कारण यातायात सञ्चालनमा समस्या हुने गरेको गाउँपालिकाले जनाएको छ । दुवै पत्रको बोधार्थ भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय, मदन भण्डारी राजमार्ग आयोजना कार्यालय र जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई समेत पठाइएको छ ।

वर्षौँदेखि सडकको सास्ती खेप्दै आएका पश्चिम सुर्खेतका नागरिकका लागि यी सडक कहिले सम्पन्न हुन्छन् भन्ने प्रश्न अझै अनुत्तरित छ । गाउँपालिकाले मुख्यमन्त्रीसमक्ष ध्यानाकर्षण गराएसँगै अब प्रदेश सरकार र सम्बन्धित आयोजना कार्यालयले कस्तो कदम चाल्छन् भन्ने चासो बढेको छ ।

थप समाचार