काठमाडौं : नेपालको प्रतिष्ठित पर्यटन तथा ट्राभल व्यवस्थापन कम्पनी गौतम होलिडेज प्रा.लि.ले चर्चित हास्यकलाकार तथा ‘कमेडी च्याम्पियन सिजन–२’ का विजेता भरतमणि पौडेललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै कम्पनीको ब्रान्ड पहिचान र बजार विस्तार गर्ने लक्ष्यसहित पौडेलसँग एक वर्षका लागि सहकार्य गरिएको हो।
कम्पनीले मङ्सिर २ गतेदेखि लागू हुने गरी पौडेललाई एक वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको जनाएको छ। नियुक्तिसँगै पौडेलले आगामी एक वर्षसम्म कम्पनीका विभिन्न प्रचारप्रसार, ब्रान्ड प्रवर्द्धन तथा व्यावसायिक गतिविधिमा सहभागिता जनाउनेछन्।
कम्पनीका अनुसार पौडेलको लोकप्रियता र मनोरञ्जन क्षेत्रमा रहेको प्रभावलाई उपयोग गर्दै गौतम होलिडेजका सेवा तथा पर्यटनसम्बन्धी गतिविधिलाई थप व्यापक रूपमा प्रचारप्रसार गर्ने योजना छ। यस सहकार्यले कम्पनीको ब्रान्ड पहिचान स्थापित गर्न र नयाँ ग्राहकसम्म पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पर्यटन, यात्रा तथा स्वदेश तथा विदेश भ्रमणसम्बन्धी सेवा प्रदान गर्दै आएको गौतम होलिडेज विगत १५ वर्षदेखि यस क्षेत्रमा सक्रिय रहँदै आएको छ। कम्पनीले यात्रासम्बन्धी विभिन्न सेवा उपलब्ध गराउँदै पर्यटन बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ।
कम्पनीका प्रबन्ध निर्देशक उत्तम गौतमले भरतमणि पौडेलसँगको सहकार्यले संस्थाको ब्रान्ड पहिचान थप मजबुत बनाउन, बजार विस्तार गर्न तथा व्यावसायिक प्रवर्द्धनलाई प्रभावकारी बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
मनोरञ्जन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पौडेलसँगको सहकार्यले गौतम होलिडेजको प्रचारप्रसारलाई थप आकर्षक बनाउनुका साथै पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने कम्पनीको अपेक्षा छ।