Below Menu

साइबर तथा डिजिटल वित्तीय ठगीमा परे तत्काल १२४७ मा सम्पर्क गर्न राष्ट्र बैंकको आग्रह

साइबर तथा डिजिटल वित्तीय ठगीमा परे तत्काल १२४७ मा सम्पर्क गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं : नेपाल राष्ट्र बैंकले साइबर तथा डिजिटल वित्तीय ठगीका घटनाबाट पीडित भएकाहरूलाई तत्काल सहायता तथा उजुरीका लागि १२४७ हटलाइन नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

Sponsored Advertisement

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै साइबर तथा डिजिटल वित्तीय ठगीसम्बन्धी गुनासो र उजुरीको शीघ्र सम्बोधन गर्न प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्युरोमा २४ सै घण्टा सञ्चालन हुने गरी एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको जनाएको छ।

उक्त केन्द्रमा विभिन्न सरोकारवाला निकायहरूको सहभागिता रहेको छ। केन्द्रको १२४७ हटलाइन नम्बरमा सम्पर्क गरी अनलाइन ठगी, फिसिङ, नक्कली लिंक, अनधिकृत कारोबार तथा डिजिटल भुक्तानीसम्बन्धी ठगीका घटनाबारे जानकारी गराउन र उजुरी दर्ता गर्न सकिनेछ।

राष्ट्र बैंकले कुनै पनि प्रकारको अनलाइन वा डिजिटल वित्तीय ठगीमा परेमा ढिलाइ नगरी तत्काल १२४७ मा सम्पर्क गर्न र हटलाइनबाट प्राप्त निर्देशनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ।

त्यस्तै, ठगीमा परेको अवस्थामा आफ्नो बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई समेत तत्काल जानकारी गराई बैंक खाता तथा डिजिटल वालेट सुरक्षित राख्न आवश्यक पहल गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

राष्ट्र बैंकले साइबर तथा डिजिटल वित्तीय ठगीबाट बच्न सचेत रहन र कुनै घटना भएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन सबैलाई अनुरोध गरेको छ।

थप समाचार