Below Menu

हिमालय एयरलाइन्सको आम्दानीमा २१ प्रतिशतको गिरावट, खुद सम्पत्ति ऋणात्मक

हिमालय एयरलाइन्सको आम्दानीमा २१ प्रतिशतको गिरावट, खुद सम्पत्ति ऋणात्मक

काठमाडौं : नेपालको अन्तर्राष्ट्रिय हवाई उड्डयन क्षेत्रमा स्थापित हिमालय एयरलाइन्स प्रालिको वित्तीय अवस्था कमजोर बन्दै गएको छ। कम्पनीको सञ्चित नोक्सानी बढ्दै जाँदा खुद सम्पत्ति ऋणात्मक बनेको छ भने सञ्चालन खर्च धान्ने आन्तरिक नगद प्रवाहसमेत दबाबमा परेको छ। 

Sponsored Advertisement

रेटिङ एजेन्सीले हिमालय एयरलाइन्सलाई तीन अर्ब रुपैयाँ बराबरको अल्पकालीन बैंक कर्जाका लागि ‘केयर-एनपी ए४’ रेटिङ प्रदान गरेको छ। पछिल्लो वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय जोखिम उच्च रहेको छ। 

सञ्चित नोक्सानीका कारण कम्पनीको खुद सम्पत्ति ऋणात्मक अवस्थामा पुगेको छ भने विमान लिजबापत तिर्नुपर्ने दीर्घकालीन दायित्व पनि आम्दानी तथा नगद प्रवाहको तुलनामा ठूलो रहेको छ। कमजोर ऋण भुक्तानी क्षमता र सीमित आन्तरिक नगद स्रोतका कारण कम्पनीको वित्तीय लचकता खुम्चिँदै गएको रेटिङ प्रतिवेदनमा उल्लेख छ।

हिमालय एयरलाइन्सले आर्थिक वर्ष २०२२ देखि २०२६ सम्म लगातार सञ्चालन घाटा व्यहोर्दै आएको छ। हवाई सेवा व्यवसायको उच्च स्थिर सञ्चालन लागत र हवाई इन्धन(एटीएफ) को मूल्यमा हुने उतारचढावले कम्पनीको नाफामा प्रत्यक्ष असर पारेको छ।

विशेषगरी आर्थिक वर्ष २०२६ मा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भएको अस्थिरता, मध्यपूर्वको द्वन्द्वबाट सिर्जित प्रभाव तथा केही अन्तर्राष्ट्रिय उडान मार्गमा देखिएका सञ्चालन चुनौतीले कम्पनीको वित्तीय अवस्था थप कमजोर बनाएको प्रतिवेदनमा उल्लेख छ।

कम्पनीको सञ्चालन आम्दानीसमेत घटेको छ। सन् २०२५ मा १४ अर्ब ६१ करोड रुपैयाँ रहेको कुल आम्दानी सन् २०२६ मा २१.७ प्रतिशतले घटेर ११ अर्ब ४३ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ। यसअघि सन् २०२३ मा कम्पनीको आम्दानी १४ अर्ब ३७ करोड ३० लाख रुपैयाँ रहेको छ । 

कम्पनीको आम्दानी घट्नुका साथै इन्धन खर्चको अनुपात बढेपछि सञ्चालन नाफा मार्जिनमा पनि गिरावट आएको छ । सन् २०२५ मा १० प्रतिशत रहेको कम्पनीको सञ्चालन नाफा मार्जिन सन् २०२६ मा ऋणात्मक भएको छ।

त्यस्तै, सन् २०२५ मा २० करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले सन् २०२६ मा एक अर्ब ४२ करोड २० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। कम्पनीको कुल नगद सञ्चित क्षमता पनि सन् २०२६ मा ऋणात्मक बनेको छ।  

अमेरिकी डलरको विनिमय दरमा हुने उतारचढावका कारण हिमालय एयरलाइन्सको वित्तीय जोखिम बढेको रिपोर्टमा उल्लेख छ । कम्पनीका विमान लिजलगायतका अधिकांश दायित्व अमेरिकी डलरमा रहेका छन् भने आम्दानीको केही हिस्सा नेपाली रुपैयाँमा हुने भएकाले विनिमय दरमा प्रतिकूल परिवर्तन हुँदा कम्पनीको खर्च, नगद प्रवाह र ऋण भुक्तानी क्षमतामा थप दबाब पर्न सक्छ।

हाल हिमालय एयरलाइन्ससँग तीनवटा एयरबस ए३२० र एउटा एयरबस ए३१९ गरी जम्मा चारवटा विमान छन्। कम्पनीले पछिल्ला तीन आर्थिक वर्षमा औसत ७५ प्रतिशत यात्रु भार अनुपात कायम गरेको छ । 

कम्पनीको ब्याज भुक्तानी क्षमता अनुपात सन् २०२४ मा १.६३ गुणा र सन् २०२५ मा २.१७ गुणा रहेकोमा आर्थिक वर्ष २०२६ मा ऋणात्मक बनेको छ। त्यस्तै, चालु अनुपात आर्थिक वर्ष २०२४ मा ०।६९ गुणा, आर्थिक वर्ष २०२५ मा ०.७९ गुणा र आर्थिक वर्ष २०२६ मा ०.६८ गुणा रहेको छ।

कम्पनीका सञ्चालक समितिका सदस्य विजयबहादुर श्रेष्ठसँग नेपालको उड्डयन तथा पर्यटन क्षेत्रमा चार दशकभन्दा बढीको अनुभव छ। उनले यसअघि यती एयरलाइन्स, तारा एयर तथा यती एयरलाइन्स इन्टरनेसनललगायत संस्थामा विभिन्न उच्च व्यवस्थापकीय जिम्मेवारी सम्हालिसकेका छन्।

सन् १९९७ नोभेम्बर १० मा यती एयरलाइन्स इन्टरनेसनल प्रालिका रूपमा स्थापना भएको कम्पनी सन् २०१४ जुलाई ३ मा नाम परिवर्तन गरी हिमालय एयरलाइन्स बनेको थियो। 

कम्पनीको शेयर संरचना तथा व्यवस्थापनमा परिवर्तन भएसँगै चीनको तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड समेत शेयरधनीका रूपमा आबद्ध भएको हो। हाल कम्पनीले काठमाडौंलाई आधार बनाएर मध्यपूर्व, दक्षिण एसिया तथा चीनका विभिन्न गन्तव्यमा अन्तर्राष्ट्रिय यात्रुवाहक उडान सञ्चालन गर्दै आएको छ।
 

थप समाचार