काठमाडौं : धादिङको थाक्रेमा निजी लगानीमा निर्माण भईरहेको चारतारे स्तरको ‘द निलय होटल्स लिमिटेड’ लाई रेटिङ एजेन्सीले ६५ करोड रुपैयाँ बराबरको दीर्घकालीन बैंक कर्जाका लागि बीबी माइनस रेटिङ प्रदान गरेको छ।
कम्पनीले निर्माण गरिरहेको होटल परियोजनामा बाँकी काम समयमै सम्पन्न गर्नुपर्ने चुनौती, ऋणको पूर्ण व्यवस्थापन र होटल सञ्चालनमा आएपछि व्यवसायलाई स्थिर बनाउने क्षमतालाई ध्यानमा राख्दै रेटिङ प्रदान गरिएको हो।
कम्पनीले धादिङमा ५२ कोठा क्षमताको चारतारे होटल निर्माण गरिरहेको छ। कुल एकअर्ब २३ करोड ४० लाख रुपैयाँ अनुमानित लागत रहेको यस परियोजनाको वित्तीय संरचना ५३ प्रतिशत ऋण र ४७ प्रतिशत स्वपुँजीबाट जुटाउने प्रस्ताव गरिएको छ।
सन् २०२६ जुलाई मध्यसम्म प्रवर्द्धकहरूले परियोजनामा ४१ करोड ८० लाख रुपैयाँ स्वपुँजी लगानी गरिसकेका छन्। यद्यपि, परियोजनाका लागि आवश्यक ऋण रकमको वित्तीय व्यवस्थापन भने अझै पूर्ण रूपमा सुनिश्चित भइनसकेको कम्पनीले जनाएको छ ।
होटल निर्माण कार्यलाई दुई चरणमा विभाजन गरिएको छ। पहिलो चरणअन्तर्गत निर्माण गरिएका ३८ कोठाको काम सम्पन्न भइसकेको छ। यसमा चारवटा सुइट, तीनवटा एक्जुकेटिभ, २६ वटा डिलक्स र पाँचवटा स्ट्यान्डर्ड कोठा रहेका छन्।
दोस्रो चरणमा १४ वटा भिल्ला शैलीका कोठा निर्माण गर्ने योजना छ। तर, दोस्रो चरणको निर्माण कार्य अझै प्रारम्भिक अवस्थामा रहेकाले निर्धारित समय र लागतभित्र सम्पूर्ण परियोजना सम्पन्न गर्न सक्ने क्षमता कम्पनीका लागि महत्वपूर्ण चुनौती बनेको रिपोर्टमा उल्लेख छ।
होटलमा स्विमिङ पुल, सम्मेलन तथा बैंक्वेट हल, हेल्थ क्लबजस्ता आधुनिक सुविधा रहनेछन्। साथै, कृषि–पर्यटन, वेलनेस कार्यक्रम, बुटिक वाइनरी, अंगुर खेती र गल्फ कोर्सजस्ता विशिष्ट आकर्षणहरू पनि समेटिने जनाइएको छ ।
परियोजनाको नेतृत्व व्यवसायी जनपाल थापाले गरिरहेका छन् । उनी साविककको काउले भाइनयार्ड रिसोर्ट (द निलय होटल्स) का संस्थापक अध्यक्ष र बन्यन ट्री नेपाल प्राइभेट लिमिटेडका पूर्वकार्यकारी निर्देशक पनि हुन ।
काठमाडौँसँगको नजिकको दूरी र पृथ्वी राजमार्गसँगको पहुँचले आन्तरिक तथा बाह्य पर्यटकलाई सहज आवागमनको सुविधा प्रदान गर्नेछ। त्रिशूली नदी तथा वरपरको प्राकृतिक सौन्दर्यले यसलाई साहसिक र पर्यावरण पर्यटनका लागि उपयुक्त गन्तव्य बनाउने देखिन्छ।
सन् २०२१ सेप्टेम्बर २२ मा निजी कम्पनीका रूपमा स्थापना भएको द निलाया होटल्स लिमिटेड सन् २०२६ मार्च ३ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो।
यसअघि काउले भाइनयार्ड रिसोर्टका नामले परिचित कम्पनीले परम्परागत होटल सेवाभन्दा फरक विशेषतासहितको आतिथ्य सेवा विकास गर्ने लक्ष्य राखेको छ। दि निलय होटल्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने तयारी गरेको छ ।