Below Menu

चार महिनामा १९ अर्ब ५५ करोडको वैदेशिक लगानी प्रतिबद्धता, पर्यटनमा मात्रै ४४ प्रतिशत

चार महिनामा १९ अर्ब ५५ करोडको वैदेशिक लगानी प्रतिबद्धता, पर्यटनमा मात्रै ४४ प्रतिशत

काठमाडौं : चालू आर्थिक वर्ष २०८३/८४ को चार महिनामा नेपालमा १९ अर्ब ५५ करोड २८ लाख रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्म ४९७ वटा परियोजनामार्फत उक्त लगानी प्रस्ताव आएको हो।

Sponsored Advertisement

कुल लगानी प्रतिबद्धतामध्ये सबैभन्दा ठूलो हिस्सा पर्यटन क्षेत्रमा केन्द्रित भएको छ। चार महिनाको अवधिमा पर्यटन क्षेत्रका १४६ परियोजनामार्फत ८ अर्ब ६६ करोड ७८ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। यो कुल वैदेशिक लगानी प्रतिबद्धताको ४४ प्रतिशत हो।

त्यस्तै, ऊर्जा क्षेत्रमा तीनवटा परियोजनामार्फत चार अर्ब ५ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ। सेवा क्षेत्रमा ४४ परियोजनामार्फत तीन अर्ब ९५ करोड २९ लाख रुपैयाँ र उत्पादनमूलक क्षेत्रमा २९ परियोजनामार्फत एक अर्ब ७५ करोड २५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा सबैभन्दा धेरै परियोजना दर्ता भए पनि लगानी रकम भने तुलनात्मक रूपमा कम देखिएको छ। यस क्षेत्रमा २७२ वटा परियोजनामार्फत ९७ करोड ९६ लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ। त्यस्तै, कृषि तथा वनमा आधारित उद्योगका तीन परियोजनामार्फत १५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

यसले पर्यटन र ऊर्जा क्षेत्रमा ठूलो आकारको लगानी प्रस्ताव केन्द्रित भएको देखाउँछ भने सूचना प्रविधिमा परियोजनाको संख्या उल्लेख्य भए पनि लगानीको आकार सानो रहेको देखिन्छ।

कात्तिकमा मात्रै साढे तीन अर्बको लगानी प्रस्ताव

चालू आवको कात्तिक महिनामा मात्रै ८५ वटा परियोजनामार्फत तीन अर्ब ४२ करोड ४३ लाख २४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको उद्योग विभागको प्रतिवेदनमा उल्लेख छ।

कात्तिकमा आएका प्रस्तावमध्ये ८० वटा परियोजना स्वचालित मार्ग (अटोमेटिक रुट) बाट र पाँचवटा परियोजना नियमित स्वीकृति प्रक्रियामार्फत आएका हुन्। स्वचालित मार्गबाट तीन अर्ब ३ करोड ७१ लाख २४ हजार रुपैयाँ तथा नियमित स्वीकृति प्रक्रियाबाट ३८ करोड ७२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

चार महिनाको कुल लगानी प्रतिबद्धतामध्ये स्वचालित मार्गबाट १७ अर्ब ५२ करोड २ लाख ९५ हजार ७९६ रुपैयाँ र नियमित स्वीकृति प्रक्रियाबाट २ अर्ब ३ करोड २६ लाख रुपैयाँ आएको छ।

साना परियोजनाको बाहुल्य, ६ हजारभन्दा बढीलाई रोजगारी

लगानी प्रस्तावको आकारअनुसार चालू आवको पहिलो चार महिनामा आएका ४९७ परियोजनामध्ये ४९१ वटा साना, दुईवटा मझौला र चारवटा ठूला परियोजना रहेका छन्।

परियोजनाहरू सञ्चालनमा आएमा ६ हजार २०१ जनाले रोजगारी पाउने उद्योग विभागको अनुमान छ। कात्तिक महिनामा मात्रै स्वीकृत ८५ परियोजनाबाट ५३२ जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ।

परियोजनाको संख्यामा साना लगानीकर्ताको सहभागिता अत्यधिक देखिए पनि कुल प्रतिबद्धता रकममा पर्यटन र ऊर्जा क्षेत्रको हिस्सा ठूलो रहेको छ।

लगानीकर्ताले साढे तीन अर्बभन्दा बढी लाभांश लगे

नेपालमा नयाँ वैदेशिक लगानीको प्रतिबद्धता आइरहँदा विदेशी लगानीकर्ताले आफ्नो लगानीबाट आर्जित लाभांश तथा अन्य आम्दानी विदेश लैजाने क्रम पनि जारी छ।

उद्योग विभागको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट ३ अर्ब ८४ करोड ६७ लाख ८१ हजार रुपैयाँ लाभांशका रूपमा विदेशिएको छ। त्यसमध्ये कात्तिक महिनामा मात्रै ३ अर्ब ६५ करोड ३ लाख ६५ हजार रुपैयाँ लाभांश बाहिरिएको छ।

गत आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म २ अर्ब ९० करोड ७७ लाख ८९ हजार रुपैयाँ लाभांश बाहिरिएको थियो। यस आधारमा गत वर्षको सोही अवधिको तुलनामा चालू आवमा लाभांश फिर्ता लैजाने रकम बढेको देखिन्छ।

त्यस्तै, चालू आवको पहिलो चार महिनामा रोयल्टीबापत ९१ करोड ६६ लाख रुपैयाँ नेपाली रुपैयाँमा, १३ लाख ४५ हजार अमेरिकी डलर तथा ५ करोड ११ लाख ९७ हजार भारतीय रुपैयाँ विदेश पठाइएको छ। सेवा शुल्कबापत पनि नेपाली रुपैयाँ, अमेरिकी डलर, भारतीय रुपैयाँ र अस्ट्रेलियन डलरमा रकम बाहिरिएको विभागको प्रतिवेदनमा उल्लेख छ।

थप समाचार