नेपालमा पछिल्लो समय व्यापारिक कम्प्लेक्स, मल वा सुपरमार्केटहरुमा व्यवसायीहरुले लगानी बढाइरहेका छन् । जसका कारण बजार चलायमान मात्र भएको छैन, राज्यको अर्थतन्त्रमा पनि सहयोग पुगेको छ । देशका ठूला शहरहरुमा यस्ता ब्यापारिक संरचनाहरुको निर्माण तिब्र रुपमा भइरहेको छ ।
व्यवसायीहरु जसरी उत्साहित छन, सो अनुरुपको व्यवस्थापन र सहजीकरण भने भएको देखिदैन । यतिबेला देश आर्थिक संकट, लगानी अभाव र युवा पलायनको चपेटामा छ । सरकारले एकातिर विदेशी तथा स्वदेशी लगानी भित्राउने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, पर्यटन उद्योगलाई पुनर्जीवित गर्ने र लगानीमैत्री वातावरण बनाउने घोषणा गरिरहेको छ ।
वर्तमान सरकारका प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्मले ‘निजी क्षेत्र बिना समृद्धि सम्भव छैन’ भन्ने भाषण दोहो¥र्याइरहेका छन् । तर अर्कोतर्फ, कानुनी प्रक्रिया पूरा गरेर निर्माण भएका व्यवसायिक परियोजनाहरू नै वर्षौंदेखि विवाद, प्रचार, मानसिक दबाब र बनावटी भाष्यको निशानामा पर्दा नेपालमा लगानीको भविष्य कस्तो होला रु भन्ने प्रश्न उठ्न थालेको छ ।
काठमाडौं ठमेलस्थित छायाँदेवी कम्प्लेक्स अहिले यही बहसको केन्द्रमा उभिएको छ । कुनै समय नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा उचाइ दिने, एकै ठाँउमा विविध पर्यटकीय केन्द्र बनाउने उद्देश्यसहित निर्माण गरिएको आधुनिक व्यवसायिक कम्प्लेक्स अहिले यस्तो प्रचारको घेरामा परेको हो । जसले केवल एउटा भवन वा व्यवसायीलाई मात्र होइन, नेपालको समग्र लगानी, वातावरण र पर्यटन बजारलाई नै प्रभावित पार्ने अवस्था सिर्जना गरेको छ ।
वर्षौंदेखि सामाजिक सञ्जाल, विभिन्न समूह तथा केही अभियन्तामार्फत छायाँ कम्प्लेक्सलाई ‘सम्पदा मिचिएको संरचना’, ‘गुठीको जग्गा माफियाद्धारा कब्जा गरेर बनाइएको भवन’, ‘ठमेलको संस्कृति ध्वस्त पार्ने परियोजना’ जस्ता आरोप लगाइँदै आएको छ । तर भवन निर्माणको समयका सरकारी अभिलेख, अदालतको आदेश, प्रशासनिक स्वीकृति, नक्सा पास, मालपोत अभिलेख र न्यायिक अवस्थालाई हेर्दा कानुनी प्रक्रिया पुरा भएर नै निर्माण भएको हो । छायाँ कम्प्लेक्स कुनै रातारात बनेको वा गैरकानुनी रूपमा ठडिएको संरचना थिएन् ।
यो परियोजना राज्यकै कानुनी प्रक्रिया, सरकारी स्वीकृति र प्रशासनिक प्रणालीभित्र रहेर निर्माण गरिएको थियो । ठमेल ‘अमृत मार्ग’ अन्य क्षेत्र भन्दा कम व्यवसायिक महत्व रहेको अवस्थामा निर्माण भएको यस व्यापारिक कम्प्लेसले त्यस ठाउँको व्यवसायिक धरातल नै परिवर्तन गरेको छ ।
स्थानीय भगवान बहाल मन्दिरको संरक्षण तथा पुर्ननिर्माणमा समेत यथेष्ठ सहयोग गरेकाले कम्प्लेस निर्माणप्रति स्थानीयहरु समेत सन्तुष्ट देखिएका छन् । यस्तो अवस्थामा पनि आज धेरै व्यवसायीहरू प्रश्न गर्न थालेका छन । यदि राज्यले स्वीकृति दिएको परियोजना पनि वर्षौंदेखि असुरक्षित रहन्छ भने नेपालमा कसले लगानी गर्ने रु
अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बनाउने सपना
२०६४ सालमा ठमेलमा करिब १२ रोपनी जग्गा बिक्रीका लागि विज्ञापन प्रकाशित भएको पाइन्छ । जंगबहादुर राणाका नाति केशर शम्शेरको परिवारसँग सम्बन्धित सुरेसार्य हाउजिङ नाम गरेको एक कम्पनीले उक्त जग्गा प्लटिङसहित बिक्रीमा राखेको तथ्य छ । ठमेल नेपालको प्रमुख पर्यटन बजार भएपनि त्यसबेला अन्तर्राष्ट्रिय स्तरको आधुनिक पर्यटकीय संरचनाको अभाव रहेकाले यही आवश्यकता देखेर करिब ४५ जना साना तथा ठूला व्यवसायीहरू तथा इच्छुक व्यक्तिहरु एकजुट भएको तथ्य छ ।
उनीहरूको उद्देश्य केवल व्यापार गर्नु मात्र थिएन, ठमेललाई नयाँ स्तरको पर्यटन केन्द्रका रूपमा विकास गर्ने पनि थियो । सस्तो र अव्यवस्थित पर्यटन बजारको छविलाई बदल्दै अन्तर्राष्ट्रिय स्तरको होटल, व्यापारिक केन्द्र, मनोरञ्जन तथा सेवा सुविधा भएको आधुनिक पर्यटन कम्प्लेक्स बनाउनु थियो ।
२०६५ सालमा ‘छायाँदेवी कम्प्लेक्स’ कम्पनी दर्ता भयो । नेपालको निजी बैंकिङ क्षेत्रका प्रतिष्ठित व्यक्तित्व पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा स्थापना भएको उक्त कम्पनीमा १० लाखदेखि १० करोडसम्म लगानी गर्ने व्यवसायीहरू सहभागी भएर कम्प्लेसको निर्माण भयो ।
परियोजना सुरु गर्नुअघि कानुनले तोकेका सबै प्रक्रिया पूरा गरिएको थियो । काठमाडौं महानगरपालिकाबाट नक्सा पास भयो । वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न, उपत्यका बिकास प्राधिकरणबाट प्लानिङ परमिट पनि लिईएको थियो ।
स्थानीय स्तरमा सार्वजनिक सुनुवाइका साथै वरपरका बस्तीलाई पर्ने प्रभावबारे सम्पूण प्रक्रिया पूरा गरिएको थियो । त्यसपछि २०६९ सालमा मात्रै निर्माण कार्य सुरु भएको थियो । तर निर्माण सुरु भएर निश्चित लगानी भएपछि अनेकौं प्रपन्च रच्दै विवाद निकालियो ।
कानुनी प्रक्रिया पूरा हुँदा पनि किन रोकिएन विवाद ?
छायाँ कम्प्लेक्स निर्माण सुरु हुनासाथ विभिन्न समूहहरूले निर्माण रोक्न अदालत धाउन थालेको र मुद्दा मामिलामा अल्झाउने प्रयास गरिएको छ । २०७० सालमा भागवत नरसिंह प्रधानसहित केही व्यक्तिले जिल्ला अदालत काठमाडौंमा ‘यो भगवान बहाल गुठीको जग्गा तथा पोखरी क्षेत्र हो’ भन्दै निर्माण तत्काल रोक्न माग गरे । तर त्यो बेला अदालतले निर्माण रोक्न कुनै आदेश दिएन ।
त्यसपछि सार्वजनिक सरोकारका मुद्दा हालिरहने अधिवक्ता दिपक विक्रम मिश्रले ‘यो सरकारी तथा ऐतिहासिक जग्गा हो’ भन्दै सर्वोच्च अदालतमा निर्माण रोक्का आदेश माग्दै मुद्दा दायर गरे । त्यो पनि खारेज भयो ।
२०७१ सालमा नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह ९लाहुर्निप०ले संयुक्त राष्ट्रसंघको ‘आइएलओ १६९’ सन्धिको आधार देखाउँदै ‘यो जनजातीय सांस्कृतिक थलो हो’ भन्दै अर्को मुद्दा दायर गर्यो । ‘आइएलओ १६९’ को सन्धी अनुसार कुनै पनि जनजातीको बस्ती भत्काएर बिकास गर्न नपाइने उल्लेख छ । उक्त मुद्दामा पनि सर्वोच्च अदालतले निर्माण नरोक्ने फैसला गरेको थियो ।
तीनै निवेदनमाथी अदालतबाट निर्माण नरोक्ने आदेश आएपछि मात्रै परियोजनाले गति लिएको थियो । अहिलेसम्म कुनै अदालतले ‘छायाँ कम्प्लेक्स गैरकानुनी संरचना हो’ निर्माण रोक्नु भनेर आदेश गरेको प्रमाण छैन । तर सार्वजनिक बहसमा भने अदालतमा मुद्दा परेको विषयलाई नै ‘अवैधताको प्रमाण’ जस्तो प्रस्तुत गर्दै सामाजिक सञ्जालबाट नै दोषी करार गराउँदै ब्यापारीको मनोबल गिराउने प्रयास गरिनु लगानीकर्तामाथीको प्रहार मात्र हो ।
गुठी, पोखरी र इतिहासका किम्वदन्ती
छायाँदेवी कम्प्लेक्सको जग्गासँग जोडिएको विवादको मुख्य आधार इतिहास, पोखरी र गुठीको प्रसंग बनेको छ । त्यो क्षेत्र कुनै समय भगवान बहाल गुठीसँग सम्बन्धित थियो भन्ने तथ्य इतिहासमा भेटिन्छ । प्राप्त तथ्यहरु अनुसार स्थानीय भगवान सिंह सार्थ बाहु गुठीको नाममा पाँच हजार रोपनी जग्गा थियो ।
हाल नरसिंह चोकदेखि गल्कोपाखा, पिपलबोट, सडकदेखि पुर्व र छाँया कम्प्लेसदेखि पश्चिम तथा सामाखुशी मनमैजुलगायत नुवाकोटसम्म र देशको अन्य भू-भाग गरी करिब पाँच हजार रोपनी जग्गा थियो ।
हाल छाँया कम्प्लेस बिरुद्ध मुद्दाका मुख्य पात्र भागवत नरिसिं प्रधानको ठमेल स्थित पुख्र्यौली घर, जग्गा समेत भगवान गुठीकै थियो । पुरानो समयमा त्यहाँ पोखरी रहेको पनि सत्य हो । तर अहिले प्रचार गरिएजस्तो ‘राष्ट्रिय महत्वको सम्पदा’ का रूपमा त्यतिबेला त्यसलाई प्राथमिकता गरिएको थिएन ।
वि.स. १९६७ मा राणा प्रधानमन्त्री चन्द्र शम्शेरको ‘तोक सदर’ बमोजिम तत्कालमा भगवान गुठीको लगतमा रहेको २६ रोपनी जग्गा केशर शम्शेरको दरबारमा गाभिएको हो । उतिबेला राजाको हुकुम प्रमाङ्गी र श्री ३ महाराजको ‘तोक सदर’ मुलुकको कानुन भन्दामाथि हुन्थ्यो ।
१९७७ मा केशर शम्शेरले अग्लो पर्खालले घेरी दरबारको निजी प्रयोगमा ल्याएपछि कुनै सार्बजनिक क्रियाकलाप तथा बाहिरी व्यक्तिको प्रवेश नभएको कम्प्लेस निर्माण पक्षका व्यक्तिहरु बताउँछन् ।
जहाँसम्म कमलको फुल टिपेर चढाउने तथा श्राद्धको पीण्ड फाल्ने भन्ने कुरा वि.स. १९६७ अघि खुला जमिन तथा पोखरी भएको अवस्थामा सामान्य कुरा हो । तर स्थानीयहरुले भनेजस्तो पोखरी रहेको सत्य भएतापनि अहिले बाहिर हल्ला गरिएजस्तो ऐतिहासिक पोखरी थिएन् भने विगत ५०, ६० बर्षदेखि नै त्यहाँ सुख्खा जमिन र झाडीको स्वरुपमा थियो भन्ने विभिन्न नक्सा र कानुनी प्रमाण बोल्छ ।
वि.स.१९६७ को ‘तोक सदर’ बाट ‘केशर महल’ मा गाभिएपछि त्यो नितान्त केशर शम्शेरको निजी प्रयोगमा मात्र रहेको थियो । त्यहाँ न कुनै मन्दिर छन, न जात्रा, पर्वको रितिरीवाज नै छ । राणाकालमा राजाको तोक सदर प्रणालीअनुसार वि.सं.१९६७ मा उक्त जग्गा केशर शम्शेरको नाममा गएको अभिलेख पाइन्छ । २०२७ सालपछि दशकौंसम्म अदालत, गुठी संस्थान र मालपोत कार्यालयमा मुद्दा चल्यो ।
२०३० सालमा जिल्ला अदालत काठमाडौंले केशर शम्शेर पक्षलाई जग्गाधनी तथा मोही हकवाला ठहर गर्यो । २०३१ सालमा क्षेत्रीय अदालतले पनि त्यही निर्णय सदर गर्यो । अन्ततः सर्वोच्च अदालतमा २०३३ मा भएको मिलापत्र अनुरुप केशर शम्शेरले जग्गा धनीको हक छोडी मोही मात्र कायम रहेको र जग्गाधनी भगवान सिंह सार्थ बाहु भगवान गुठी कायम रह्यो । २०३९ सालमा आधिकारिक रूपमा केयुर शम्शेरको नाममा लालपुर्जा जारी भयो ।
तत्कालीन ऐन अनुसार केयुरको श्रीमती अम्बिका राणाले गुठी संस्थानमा नियम बमोजिम रैकर गरिन । बिरोधमा मुद्दा परेपनि २०४८ सालमा जिल्ला र २०५३ सालमा पुनरावेदन अदालतबाट रैकर सदर भयो । २०४६ सालपछि गुठीको जग्गा रैकर गर्न पाउने ऐन तत्कालीन सरकारले ल्याएको थियो । जसअनुरुप मधेश बाहेक नेपाल अधिराज्यभर तीन लाख पचास हजार रोपनी गुठीको जग्गा रैकर भएको थियो ।
भगवान बहाल गुठीले २०५८ मा फेरी उठाएको खिचलो मुद्दामा वि.स. २०६२ मा गुठीका थकाली तत्कालीन सर्वोच्च अदालतका न्यायाधीश हिरन्य मान सिं प्रधानको नेतृत्वमा रु एक करोड पचास लाख र चार आना जग्गा लिएर जिल्ला अदालतमा पुनः मिलापत्र गरिएको थियो । यही जग्गा विभिन्न व्यक्तिमार्फत नामसारी हुँदै वि.स. २०६४ मा सुरेशाय हाउजिङ र शंकर विक्रम शाहसँग हालका व्यवसायीहरूले खरिद गरेको प्रमाण छ ।
हालसम्म पनि विभिन्न चरणमा निजी प्रयोजनमै जग्गा भएको यथार्थ ठोस प्रमाण र तथ्यहरुले पुष्टि गर्दै वि।स। २०६४ सालमा नेपाल सरकारद्धारा प्रदान गरिएको लालपुर्जा रहेको रैकर जग्गा व्यापारीहरुको समूहले किनेको थियो ।
यदि राज्यले जारी गरेको लालपुर्जाका आधारमा खरिद गरिएको जग्गामा बनेको संरचनालाई दशकौंपछि आएर अवैध भनिन्छ भने राज्यको कानुनी प्रणालीमाथि कसरी विश्वास गर्ने, अनि व्यवसायीले लगानी कुन आधारमा गर्ने रु
सामाजिक सञ्जालमा बनाईएको भाष्य
छायाँ कम्प्लेक्सविरुद्ध सबैभन्दा धेरै प्रचार सामाजिक सञ्जालमार्फत भएको देखिन्छ । भवनलाई ‘सम्पदा मासिएको संरचना’, ‘ठमेलको संस्कृति नष्ट पार्ने परियोजना’, ‘गुठीमाथिको कब्जा’ जस्ता शब्दावली प्रयोग गरेर चित्रित गरियो । तर उपलब्ध सरकारी कागजात र न्यायिक अवस्थाले ती दाबीलाई ठोस रूपमा पुष्टि गरेको देखिँदैन ।
‘सम्पदा मिचियो’ भन्ने भाष्य बनाएर योजनाबद्ध रूपमा दोहोर्याएर जनधारणा प्रभावित पार्ने प्रयास गरिएको छ । जति बिरोध र अभद्र आक्रमण सामाजिक सञ्जालमा देखिन्छ सम्पदाको पहिलो हकवालाहरु र स्थानीय जनताहरुको कम्प्लेससँग कुनै गुनासो गरेका छैनन् र उनीहरु खुसी नै छन् । छायाँ कम्प्लेसको बिरोध गर्नेहरु खासै ठमेलबासी नभएर अन्य स्थानका व्यक्तिहरुले कानुनी झमेला तथा सामाजिक सञ्जालबाट भ्रमित बनाइरहेको स्थानीय बताउँछन् ।
विरोध सिमित व्यक्तिहरुमार्फत भइरहेकाले छायाँ कम्प्लेससँग कुनै विवाद छैन् भन्ने व्यहोरामा स्थानीय भगवान बाहु गुठीको कार्य समितिले समेत केहि बर्ष अघि आधिकारिक पत्र जारी गरिसकेको छ । यति मात्र होइन, व्यवसायीहरूको दाबी अनुसार छायाँ कम्प्लेक्स सञ्चालनमा आइसकेपछि पनि व्यवसायीहरूलाई अपराधीजस्तो व्यवहार गरिनु लगानीकर्ताको मनोबल गिराउने चाल हो । कतिपय व्यापारीहरू सार्वजनिक आलोचना, मानसिक दबाब र सामाजिक आक्रमणका कारण खुलेर व्यवसाय गर्नै डराउन थालेको गुनासो गर्छन् ।
लगानीकर्तामाथि मनोवैज्ञानिक आतंक
छायाँ कम्प्लेक्स विवादले नेपालमा निजी लगानी कत्तिको सुरक्षित छ ? भन्ने प्रश्नलाई थप गम्भीर बनाएको छ । एकातिर सरकारले लगानी सम्मेलन गर्ने, विदेशी लगानी भित्र्याउने, निजी क्षेत्रलाई ‘आर्थिक समृद्धिको साझेदार’ भन्ने र लगानीमैत्री वातावरण बनाउने घोषणा गरिरहेको छ ।
तर अर्कोतर्फ, राज्यकै अनुमति लिएर स्वदेशी उद्यमीद्धारा निर्माण गरिएका परियोजनाहरूलाई वर्षौंदेखि विवादमा तान्ने, सामाजिक रूपमा बदनाम गर्ने, पुराना मुद्दा दोहोर्याइरहने र व्यवसायीहरूलाई मानसिक रूपमा थकित बनाउने प्रवृत्ति बढ्दै गएको देखिन्छ ।
‘हामीले राज्यले दिएको कानुनी प्रक्रियाअनुसार लगानी गर्यौं । नक्सा पास गर्यौं । कर तिर्यौं । रोजगार सिर्जना गर्यौं । पर्यटन बजार विस्तार गर्यौं । तर अन्त्यमा हामी नै अपराधीजस्तो किन बनाइँदैछ रु’ यसरी लगानीकर्तालाई निरन्तर असुरक्षित महसुस गराउने हो भने भविष्यमा ठूला परियोजनामा कसैले लगानी गर्ने आँट नगर्न सक्छ ।
पर्यटन बजारमै धक्का
छायाँ कम्प्लेक्स केवल एउटा व्यापारिक भवन होइन । यो ठमेलको पर्यटन अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको परियोजना हो । यसले होटल, व्यापार, मनोरञ्जन, सेवा क्षेत्र र रोजगारी सिर्जनामा भूमिका खेलेको छ । तर वर्षौंदेखि चलिरहेको विवाद र प्रचारले नेपालको पर्यटन बजारमै नकारात्मक सन्देश गएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई लगानी असुरक्षित, विवादग्रस्त र निजी क्षेत्रप्रति नकारात्मक व्यवहार गर्ने मुलुकका रूपमा चित्रित हुने खतरा बढेको छ । विशेषगरी उद्योग क्षेत्रमा ठूलो लगानी गर्न चाहने समूहहरू यस्ता घटनाबाट निरुत्साहित हुन सक्ने आम ब्यापारीहरुको चिन्ता छ ।
सम्पदा संरक्षण कि भावनात्मक राजनीति ?
सम्पदा संरक्षण आवश्यक छ । काठमाडौंको ऐतिहासिक र सांस्कृतिक पहिचान जोगाउनु राज्यको दायित्व पनि हो । तर छायाँ कम्प्लेक्स विवादले अर्को प्रश्न पनि उठाएको छ के सम्पदा संरक्षणको नाममा भावनात्मक राजनीति भइरहेको छ रु वास्तविक तथ्य, अदालतका आदेश र सरकारी स्वीकृतिभन्दा बढी भावनात्मक प्रचारलाई प्राथमिकता दिइएको छ ।
एक पटक कानुनी व्याख्या भई निराकरण भई सकेको बिषय पटक पटक मुद्दा दर्ता गरी कानुनी झमेलामा फसाएर उद्यमीलाई आतकिंत पार्नु ले व्यबसायीलाई झन कमजोर बनाउनु हो । यदि अदालतले अन्तिम फैसला नै नगरेको अवस्थामा कुनै परियोजनालाई सार्वजनिक रूपमा ‘अवैध’ भनेर चित्रित गरिन्छ भने त्यसले केवल व्यवसायीलाई होइन, न्याय प्रणालीलाई समेत कमजोर बनाउँछ ।
कम्प्लेक्स विवादले आज नेपालको लगानी वातावरणबारे गम्भीर बहस जन्माएको छ । यदि कानुनी प्रक्रिया पूरा गरेर, राज्यबाट स्वीकृति लिएर, अदालतबाट निर्माण नरोक्ने आदेश पाएको परियोजना पनि वर्षौंदेखि विवाद, प्रचार र मानसिक दबाबको शिकार बन्ने हो भने नेपालमा निजी क्षेत्रको भविष्य कस्तो हुनेछ भन्ने चिन्ता जन्माएको छ ।
सम्पदा संरक्षणका नाममा इतिहासका अपुष्ट कथन, भावनात्मक प्रचार र भ्रमपूर्ण भाष्य खडा गरेर व्यवसायीलाई आतंकित बनाउने प्रवृत्ति अन्ततः देशको अर्थतन्त्र, पर्यटन बजार र लगानी वातावरणकै लागि घातक बन्न सक्छ । नेपाललाई लगानीमैत्री बनाउने हो, भने निजी क्षेत्रको लगानीको सम्मान, कानुनी प्रक्रियाको पालना र तथ्यमा आधारित बहसलाई सँगसँगै अघि बढाउन आवश्यक छ ।
(लेखक सुमन विक्रम पाण्डे सक्रिय पर्यटन व्यवसायी हुन, उनी प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को अन्तर्राष्ट्रिय कार्यसमिति सदस्य समेत हुन । यहाँ व्यक्त विचार उनका निजी हुन्)