काठमाडौं : सीजी ब्रुअरी नेपाल लिमिटेडले सन् २०२६ मा तीन अर्ब ३० करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको व्यापार अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार ७.१२ प्रतिशतले बढेको हो । सन् २०२५ मा कम्पनीले तीन अर्ब ८ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको वित्तीय अवस्थामा पछिल्ला दुई वर्षमा सुधार देखिएको हो । सन् २०२४ मा १३ प्रतिशतले घटेको कम्पनीको सञ्चालन आम्दानी सन् २०२५ मा १६ प्रतिशत र सन् २०२६ मा थप ७ प्रतिशतले वृद्धि भएको छ।
यसअघि कम्पनीले सन् २०२४ मा २ अर्ब ६६ करोड ७० लाख, सन् २०२३ मा तीन अर्ब ५ करोड १० लाख, सन २०२२ मा ४ अर्ब ५४ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा तीन अर्ब ९१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा मार्जिन पनि उल्लेख्य रूपमा सुधार भएको छ। सन् २०२४ मा नकारात्मक अवस्थामा रहेको सञ्चालन मुनाफा मार्जिन सन् २०२५ मा ३.३ प्रतिशत पुगेको थियो भने सन् २०२६ मा बढेर ६.७ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ।
खासगरी उत्पादनको बिक्रीमा भएको वृद्धि, मूल्य समायोजन र लागत नियन्त्रणका उपायले कम्पनीको मुनाफा सुधारमा योगदान पुर्याएको रिपोर्टमा उल्लेछ । साथै कम्पनीको ऋण भुक्तानी क्षमतामा पनि सुधार देखिएको छ।
सन् २०२६ मा ऋण सेवा क्षमता अनुपात (डीएससीआर) २.४ गुणा पुगेको छ । जुन सन् २०२४ मा ०.३ गुणा मात्र थियो। त्यस्तै, कुल ऋण र वास्तविक नेटवर्थबीचको अनुपात सन् २०२६ मा ०.८ गुणा रहेको छ। घट्दो ब्याजदर र सञ्चालन मुनाफामा आएको सुधारले ऋण भुक्तानी क्षमतामा सकारात्मक प्रभाव पारेको रेटिङ एजेन्सीको निष्कर्ष छ।
देशभर ३०० वितरक र ५३ हजार खुद्रा विक्रेतामार्फत कम्पनीले आफ्ना उत्पादन बजारमा पुर्याउँदै आएको छ। यसले उत्पादनको बजार पहुँच र बिक्री निरन्तरतामा सहयोग पुर्याएको छ। साथै, सरकारले आयातित बियरमा लगाएको उच्च भन्सार दरले स्वदेशी बियर उत्पादकलाई विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न केही हदसम्म संरक्षण प्रदान गरेको पनि रिपोर्टमा उल्लेख छ।
यद्यपि कम्पनीको वित्तीय अवस्था सुधारोन्मुख भए पनि केही चुनौती कायम रहेका छन् । कम्पनीको कार्यशील पुँजीमा उच्च लगानी आवश्यक पर्ने अवस्था, ऋणको तुलनामा पुँजी संरचनामा देखिएको दबाब तथा सीमित उत्पादनमा आम्दानी केन्द्रित हुनु प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ।
कम्पनीको कुल आम्दानीमा नेपाल आइस र मस्ट्याङ प्रिमियम स्ट्रङ बियरको योगदान सन् २०२६ मा ६२ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यी दुई ब्रान्डको योगदान ६५ प्रतिशत थियो। कम्पनीसँग १२ वटा ब्रान्ड भए पनि आम्दानीको ठूलो हिस्सा दुई उत्पादनमा निर्भर रहेकाले तिनको बिक्रीमा गिरावट आए समग्र वित्तीय अवस्थामा असर पर्न सक्ने प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, सन् २०२६ मा कम्पनीको कार्यशील पुँजी आवश्यकता सञ्चालन आम्दानीको ३८ प्रतिशत रहेको छ। सन् २०२४ मा यस्तो अनुपात ५२ प्रतिशत थियो। अनुपातमा सुधार आए पनि कार्यशील पुँजीमा उच्च निर्भरता कायम छ।
सन् २०२६ मा कम्पनीले उपलब्ध कर्जा सीमाको करिब शतप्रतिशत उपयोग गरिसकेको अवस्थाले तरलतासम्बन्धी जोखिम देखाएको छ। यद्यपि, अगस्ट मध्यसम्ममा कर्जा उपयोगमा सुधार भई थप ३६ करोड रुपैयाँ कर्जा उपयोग गर्न सक्ने क्षमता बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।
कम्पनीको पुँजी संरचनामा पनि दबाब देखिएको छ। सन् २०२६ को चौथो त्रैमासिकमा ३० करोड रुपैयाँ बराबरको पुँजीगत खर्च पुनर्वित्तीयकरण गर्न ऋण लिइएको थियो। सन् २०२६ मा कुल ऋण र सञ्चालन मुनाफाबीचको अनुपात ५.८ गुणा रहेको छ। यो सन् २०२५ को १४.२ गुणाभन्दा सुधारिएको भए पनि अझै उच्च रहेको इक्राको मूल्यांकन छ।
कम्पनीले रेटिङ एजेन्सीबाट दीर्घकालीन कर्जा रेटिङ ‘आईसीआरएएनपी एलबीबी प्लस’ प्राप्त गरेको छ। कम्पनीको अल्पकालीन कर्जा रेटिङ भने यसअघि कायम रहेको ‘आईसीआरएएनपी ए४ प्लस’ नै पुनः कायम गरिएको छ।
कम्पनीलाई २८ करोड रुपैयाँ बराबरको दीर्घकालीन कर्जा सीमाका लागि एलबीबी प्लस रेटिङ प्रदान गरिएको हो। त्यस्तै, यसअघि एक अर्ब ६० करोड रुपैयाँ रहेको अल्पकालीन कर्जा सीमालाई घटाएर एक अर्ब ४५ करोड रुपैयाँ कायम गर्दै ए४ प्लस रेटिङलाई निरन्तरता दिइएको छ। यससँगै कम्पनीको कुल बैंक कर्जा सीमा एक अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।
कम्पनीले दुई दशकभन्दा लामो समयदेखि मदिराजन्य पेय पदार्थ उत्पादन गर्दै आएको छ । विशेषगरी नेपाल आइस बियर र मस्ट्याङ प्रिमियम स्ट्रङ बियरले बजारमा राम्रो ब्रान्ड पहिचान बनाउनुका साथै कम्पनीको देशव्यापी वितरण सञ्जालले बिक्री विस्तारमा सहयोग पुर्याएको रिर्पोटमा उल्लेख छ।
सन् १९९३ मा स्थापना भएको सीजी ब्रुअरी नेपाल लिमिटेड चौधरी ग्रुपअन्तर्गत सञ्चालन हुँदै आएको कम्पनी हो। यसअघि सीजी ब्रुअरी नेपाल प्राइभेट लिमिटेड र त्यसअघि सन गोल्ड ब्रुअरी प्राइभेट लिमिटेडका नामबाट सञ्चालन भएको कम्पनीको वार्षिक उत्पादन क्षमता ५ लाख ८५ हजार हेक्टोलिटर बियर रहेको छ।
कम्पनीले नेपाल आइस, रियल गोल्ड र मस्ट्याङलगायतका ब्रान्ड उत्पादन तथा बिक्री गर्दै आएको छ। यी उत्पादन स्वदेशी बजारमा बिक्री हुनुका साथै हङकङ, जापान, बेलायत, अमेरिका र अस्ट्रेलियालगायतका देशमा निर्यात हुँदै आएका छन्। कम्पनीको प्रमुख शेयरधनी चौधरी ग्रुपको द्रुत उपभोग्य वस्तु (एफएमसीजी) व्यवसायअन्तर्गतको सीजी फुड्स नेपाल लिमिटेड रहेको छ।
कम्पनीको उत्पादन केन्द्र नवलपरासीमा रहेको छ । जहाँ बियर उत्पादन तथा बोतलिङ हुँदै आएको छ। उत्पादनका लागि आवश्यक माल्ट युरोप र भारतबाट आयात गर्ने कम्पनीले राइस फ्लेक्स र चिनी जस्ता अन्य कच्चा पदार्थ भने नेपाली आपूर्तिकर्ताबाट खरिद गर्दै आएको छ।
कम्पनीले प्रिमियम बियर सेग्मेन्टमा नयाँ ब्रान्डसमेत बजारमा ल्याइसकेको छ। सन् २०२७ मा थप एउटा ब्रान्ड सार्वजनिक गर्ने योजना रहेको प्रतिवेदनमा उल्लेख छ।