Below Menu

ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनलको उपाधि अश्माङ्क कार्कीलाई, महिलातर्फ अञ्जिला विजेता

ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनलको उपाधि अश्माङ्क कार्कीलाई, महिलातर्फ अञ्जिला विजेता

काठमाडौं : गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्। दुईदिने प्रतियोगितामा १० ह्यान्डिक्यापमा खेलेका कार्कीले ४२ स्टेबलफोर्ड अङ्क जोड्दै च्याम्पियन बनेका हुन्।

Sponsored Advertisement

उपाधिसँगै कार्कीले ट्रफी, चन्द्रागिरि हिल्सको प्रेसिडेन्सियल सुइटमा एक रातको बसाइ, डिशहोम फाइबर इन्टरनेटको एक वर्षको सब्सक्रिप्सन र प्रतियोगिताको प्रतिष्ठित ‘ब्लु ज्याकेट’ प्राप्त गरेका छन्। ३८ अङ्क जोड्न सफल ब्रिगेडियर जनरल सुभाषजङ्ग थापा काउन्टब्याकका आधारमा उपविजेता बने।

महिलातर्फ अञ्जिला योञ्जन ३५ अङ्कसहित विजेता बनिन् भने ३३ अङ्क जोड्दै तारा कार्की चित्रकार उपविजेता बनिन्। कूटनीतिक नियोगका गल्फरहरूको विधामा कर्णेल भी. सुब्रमण्यम र ६० वर्षमाथिको सिनियर विधामा तेन्डी शेर्पाले उपाधि जिते।

प्रतियोगिताको पहिलो दिनको ट्रफी ३८ अङ्कसहित ऋषि अग्रवालले जिते। लङ्गेस्ट ड्राइभतर्फ पहिलो दिन स्वप्निल भट्टराई र दोस्रो दिन विज्ञान राणा विजेता बने। क्लोजेस्ट टु द पिन (पिनसिकर) अवार्ड पहिलो दिन वाङ्चेन ढोन्डुप र दोस्रो दिन तुलसी भट्टले प्राप्त गरे। त्यसैगरी, मोस्ट बर्डिज (बर्डी मास्टर) अवार्ड पहिलो दिन टाशी डोङ र दोस्रो दिन संगम केसीले जिते।

पाँचौँ होलमा ‘होल इन वान’ गरेका गौरव शाहले विशेष पुरस्कार प्राप्त गरे। तर, दसौँ होलमा राखिएको स्कोडा कोडियाक कार भने कसैले जित्न सकेनन्।

ग्लोबल आइएमई बैङ्कको प्रायोजनमा थ्री–क्वार्टर ह्यान्डिक्यापसहित स्टेबलफोर्ड फर्म्याटमा खेलाइएको प्रतियोगितामा पहिलो दिन ९५ र दोस्रो दिन ८० गरी कुल १७५ गल्फर सहभागी भएका थिए।

विजेताहरूलाई प्रमुख अतिथि नेपाल राष्ट्र बैङ्कका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल, ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले पुरस्कार वितरण गरे।

अन्य विधाका विजेताहरूले पनि चन्द्रागिरि हिल्समा एक रातको बसाइ र डिशहोम फाइबर इन्टरनेटको एक वर्षको प्याकेज प्राप्त गरेका छन्।

मुलुकका ७७ वटै जिल्लामा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैङ्क ग्लोबल आइएमई बैङ्कले हाल ३४१ शाखा, ३६६ एटिएम, १३६ शाखारहित बैङ्किङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ।

आधुनिक प्रविधिको प्रयोगमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैङ्क हालै भिसा इन्टरनेसनलबाट ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ गरी दुई विधामा सम्मानित भएको छ। बैङ्कले सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैङ्क नेपाल’ को उपाधिसमेत हासिल गरेको छ।

थप समाचार