काठमाडौं : मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेको छ। मंगलबार सेयर बजार ३४.१७ अंक बढेर २०२०.६४ को विन्दुमा कायम छ। बजारमा उछाल आउँदा कारोबार ४ अर्ब नाघेको छ।
नेपाल बैंकर्स संघ(एनबीए)ले आगामी असार महिनामा कर्जाको ब्याजदर घटाउने निर्णय गरेसँगै नेप्सेमा उच्च अंकको वृद्धि भएको हो ।
आज चार अर्ब १२ करोड ६६ लाख ९५ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । कारोबार भएका १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको शेयरमूल्य घटेको छ । पाँच वटाको सेयर मूल्य स्थिर रहेको छ । आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जीवन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै आज भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड र सिटी होटल लिमिटेडको शेयरमूल्य ९ प्रतिशत भन्दा बढी बढेको छ।
पछिल्लो समय बैंकमा निक्षेप बढ्दै गएका छन् । घट्दो क्रममा रहेको अन्तर बैंकिङ ब्याजदर, लगानीको अभावका कारण बैंकहरुमा तरलता बढेको छ । साेही कारण सेयरबजारमा आज उछाल आएकाे हाे ।
Advertisment