काठमाडौं : टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिको व्यापारमा गिरावट आए पनि सञ्चालन नाफा मार्जिनमा भने सुधार देखिएको छ । कम्पनीले सन् २०२६ मा २२ अर्ब ९० करोड ३ लाख रुपैयाँको व्यापार गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ४.८९ प्रतिशत कम हो ।
सन् २०२५ मा कम्पनीले २४ अर्ब ८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२४ मा १८ अर्ब ५८ करोड ८० लाख, सन् २०२३ मा १८ अर्ब ३० करोड ४० लाख र सन् २०२२ मा २८ अर्ब ९५ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।
व्यापारमा संकुचन आए पनि कम्पनीको सञ्चालन नाफा मार्जिनमा उल्लेख्य सुधार भएको छ । सन् २०२५ मा २.७ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२६ मा बढेर ४.४ प्रतिशत पुगेको छ । अघिल्ला दुई वर्षदेखि नाफा मार्जिनमा देखिएको दबाब क्रमशः कम हुँदै गएपछि कम्पनीको आन्तरिक आम्दानी बढ्नुका साथै पूँजी संरचना पनि थप सुदृढ भएको वित्तीय प्रतिवेदनमा उल्लेख छ ।
नाफा मार्जिनमा आएको सुधारले कम्पनीको ऋण भुक्तानी क्षमता र समग्र वित्तीय स्थायित्वमा समेत सकारात्मक प्रभाव पारेको छ । सन् २०२६ मा कम्पनीको कुल ऋण र मूर्त खुद सम्पत्तिबीचको अनुपात (गियरिङ) ०.३ गुणा तथा कुल बाह्य दायित्व र मूर्त खुद सम्पत्तिबीचको अनुपात ०.६ गुणा रहेको छ ।
त्यस्तै, कुल ऋण र सञ्चालन नाफाबीचको अनुपात सन् २०२५ मा ६.७ गुणा रहेकामा सन् २०२६ मा घटेर करिब ३ गुणामा झरेको छ । ऋण भुक्तानी क्षमता पनि अघिल्लो वर्षको २.८ गुणाबाट बढेर ४ गुणाभन्दा माथि पुगेको छ ।
कम्पनीको वित्तीय अवस्था र तरलतामा आएको सुधारका बाबजुद क्रेडिट रेटिङ एजेन्सीले यसको ऋण रेटिङ यथावत् राखेको छ । कम्पनीको दीर्घकालीन ऋण रेटिङ ‘बीबीबी माइनस’ र अल्पकालीन ऋण रेटिङ ‘ए थ्री’ पुनः पुष्टि गरिएको छ ।
सन् १९७९ मा स्थापना भएको सिप्रदी ट्रेडिङ सन् १९८२ देखि टाटाका व्यावसायिक सवारीसाधन र सन् १९९२ देखि निजी सवारीसाधनको नेपालको आधिकारिक वितरकका रूपमा कार्यरत छ । कम्पनीले सन् २००० देखि एक्साइड ब्याट्री र सन् २००२ देखि म्याक लुब्रिकेन्ट्सको समेत आधिकारिक वितरण गर्दै आएको छ ।
नेपाली अटोमोबाइल बजारमा विशेषगरी व्यावसायिक सवारीसाधनतर्फ कम्पनीको उपस्थिति बलियो छ । सन् २०२६ मा यस क्षेत्रमा कम्पनीले करिब ६६ प्रतिशत बजार हिस्सा कायम गरेको प्रतिवेदनमा उल्लेख छ । कम्पनीले देशभर १० वटा आफ्नै शोरुम र १४ वटा डिलर आउटलेट गरी कुल २४ बिक्री केन्द्रमार्फत सेवा दिँदै आएको छ ।
सवारीसाधनको बिक्री तथा वितरणबाहेक कम्पनीले वर्कसप सेवा, ब्याट्री, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स र जेनेरेटरलगायतका व्यवसायबाट पनि आम्दानी गर्दै आएको छ । सन् २०२६ मा कम्पनीको सवारीसाधन बिक्रीबाट प्राप्त आम्दानीमा विद्युतीय सवारीसाधन ९ईभी० को योगदान ३९ प्रतिशत रहेको छ ।
यद्यपि, सन् २०२७ देखि विद्युतीय सवारीसाधनमा मूल्यमा आधारित कर प्रणाली लागू भएपछि ईभीको मूल्य बढेको छ । यसले उपभोक्ताको माग प्रभावित पार्न सक्ने र कम्पनीको आम्दानीमा थप दबाब सिर्जना गर्न सक्ने प्रतिवेदनले औंल्याएको छ । साथै, सरकारले कर, भन्सार तथा अन्य नीतिमा गर्ने परिवर्तनले अटोमोबाइल व्यवसायको लागत र बजार मागमा असर पार्न सक्ने जोखिम पनि रहेको छ ।
काठमाडौंमा दर्ता कार्यालय रहेको सिप्रदी ट्रेडिङ सिप्रदी समूहअन्तर्गत सञ्चालनमा छ । समूहले सवारीसाधन बिक्री तथा वितरणसँगै यससँग सम्बन्धित विभिन्न व्यवसाय सञ्चालन गर्दै आएको छ । सवारीसाधन खरिदका लागि सिप्रदी हायर पर्चेज प्रालिमार्फत वित्तीय सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।
सिप्रदी ट्रेडिङमा सिद्धार्थशमशेर जबराको मुख्य शेयर स्वामित्व रहेको छ । उनी सिप्रदी समूहका अध्यक्षसमेत हुन् भने कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ रहेका छन् । कम्पनीले अल्पकालिन बैंकिङ कर्जा सुविधाका लागि १३ अर्ब ७५ करोड रुपैयाँ बराबरको ऋण रेटिङ गराएको छ ।