काठमाडौं : विद्युतीय भुक्तानी कारोबार गर्दा सजग हुन नेपाल राष्ट्र बैंकले अपिल गरेको छ । ‘केही समयदेखि अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाको भुक्तानी सेवाप्रदायकको कर्मचारी भएको भन्दै ग्राहक पहिचान (केवाईसी) सम्बन्धी विवरण अद्यावधिक गर्न ओटीपी, निश्चित अंकको नम्बर या नम्बर उल्लेख भएको म्यासेज जस्ता विवरण माग्ने गरेको बुझिएको छ,’ राष्ट्र बैंकद्वारा जारी सूचनामा भनिएको छ, ‘यस्ता अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, वालेट जस्ता विद्युतीय भुक्तानीका साधनको पासवर्ड रिसेट गरी ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवं वालेटमा रकमान्तर गर्ने प्रवृत्ति बढेको पाइएको छ ।’
यस्ता ठगीबाट जोगिन अपरिचित व्यक्तिले मागेको कुनै पनि सूचना उपलब्ध नगर्न राष्ट्र बैंकले अपिल गरेको छ । कसैले यसप्रकारका घटना घटाएमा वा घटाउन उत्प्रेरित गरेमा तत्काल जानकारी गराउन पनि बैंकले सूचित गरेको छ ।
कसैले त्यस्तो प्रयास गरेमा सम्बन्धित सेवाप्रदायक संस्था तथा राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण पोर्टलमा दर्ता गराउन वा इमेल ठेगाना अबिलम्ब जानकारी गराउन आग्रह गरेको छ । । केन्द्रीय बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाले यस्ता अवाञ्छित गतिविधिलाई सूक्ष्म रुपमा निगरानी गर्न पनि सचेत गराएको छ ।
Advertisment