व्यवसायी भन्छन्– मन्दीले व्यवसाय बन्द गर्नुपर्ने स्थिति आयो
काठमाडौं : स्वदेशी अगरबत्ती उद्योग यतिबेला संकटमा छन् । आर्थिक मन्दीको चपेटमा पिल्सिरहेका लघु घरेलु उद्योगमा सञ्चालित साना अगरबत्ती उद्योगहरु थप डुब्लिकेशनको मारमा परेका हुन् । पछिल्लो समय अगरबत्तीको नाममा अवैध रुपमा भित्रिएका कमसल र नक्कली उत्पादनले बजार प्रभावित भइरहेको व्यवसायीहरुको गुनासो छ । जसले गर्दा अगरबत्तीको निर्यात समेत प्रभावित हुन पुगेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०/७१ देखि यता १० वर्षमा जम्मा ५४ करोड रुपैयाँ बराबरको मात्र अगरबत्ती निर्यात भएको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा कूल ५४ करोड ३ लाख ३४ हजार रुपैयाँ बराबरको २६ लाख ७२ हजार ५१९ केजी अगरबत्ती निर्यात भएको विभागको तथ्याङ्क छ ।
विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा जम्मा ६ करोड रुपैयाँ बराबरको मात्र अगरबत्ती निर्यात भएको छ। आर्थिक वर्ष २०७८/७९ मा कूल ८ करोड ९३ लाख १३ हजार रुपैयाँ बराबरको एक लाख ५६ हजार ९६६ केजी अगरबत्ती निर्यात हुँदैगर्दा यो वर्ष ६ करोड ८७ लाख ९७ हजार रुपौयँ बराबरको एक लाख ५० हजार २१० केजी अगरबत्ती निर्यात भएको हो । तुलनात्मक रुपमा यो वर्ष २२.९७ प्रतिशतले निर्यातमा गिरावट आएको हो ।
कुन कुन देश जान्छ नेपाली अगरबत्ती ?
नेपालबाट विश्वका ५० वटा देशमा अगरबत्ती निर्यात हुदैआएको छ । विशेषगरी अष्ट्रेलिया, अष्ट्रिया, भुटान, भारत, दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, टर्की, अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्ससँगै युरोपका केही मुलुकहरुमा समेत नेपालबाट अगरबत्ती निर्यात हुँदै आएको छ ।
विगतका वर्षहरुमा निरन्तर रुपमा व्यापार घाटा व्यहोर्दै आएको नेपालले गत वर्ष १४ खर्बको व्यापार घाटा व्यहोरेको छ । अघिल्लो आवको तुलनामा व्यापार घाटासँगै आयात, निर्यात र वैदैशिक व्यापार सबै घटेको छ । आयातको तुलनामा निर्यात निकै कम छ । नेपालबाट निर्यात हुने सामानहरुमा हस्तकलाका सामान, सोयाबिन तेल, पाम तेल, चाउचाउ लगायत अगरबत्ती समेत पर्छ । तर, पछिल्लो समय यी उत्पादनहरु समेत खुम्चिन पुग्दा निराशा छाएको छ ।
तथापि, चाउचाउ र अगरबत्ती मात्रै निर्यात गरेर मुलुकको निर्यातमा सुधार नहुने अर्थविद्हरु बताउँछन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थविद् डा.स्वणिम वाग्लले नेपालको निर्यात चिन्ताजनक अवस्थामा रहेको भन्दै विदेशमा चाउचाउ, स्वयाविन तेल र अगरबत्ती मात्रै निर्यात गरेर निर्यातमा सुधार गर्न नसकिने बताए ।
सरकारले हरेक वर्षको बजेटमा स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेको छ । तर, सरकारी नीतिकै कारण स्वदेशमा लगानीको वातावरण सिर्जना नभएको व्यवसायीहरुको आरोप छ । केहीँ वर्षदेखि अगरबत्तीको व्यवसाय गर्दै आएका एक व्यवसायीले आर्थिक मन्दीका कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको गुनासो गरे ।
‘मन्दीका कारण बजारमा माग छैन । उत्पादन लागत नै महंगो भइसक्यो । व्यवसाय नै बन्द गरेर विदेशीने योजना छु’ उनले निराशा पोखे । कोरोना महामारी अघिदेखि थोरै लगानीमा जडिबुटीमा अगरबत्तीको सानो व्यवसाय सुरु गरेका उनले सुरुका दिनहरुमा राम्रै प्रतिफल पाए । तर व्यवसाय सुरुगरे लगत्तै कोरोना महामारीको संकट आइलाग्दा उनको व्यवसायमा संकटमा फस्न पुग्यो ।
‘थोरै लगानीमा आफ्नै घरमा व्यवसायी सुरु गरेको थिए । कोरोना महामारीका कारण लगानी पनि डुब्यो । त्यसयता झन् बजारमा देखिएको तरलता संकट, आर्थिक मन्दी लगायतका विभिन्न कारणले व्यवसाय नै बन्द गर्नुपर्ने स्थिति आएको छ’ उनले थपे, ‘नेपालमा लगानी गर्ने वातावरण नै छैन ।’
बजारमा हुने अस्वस्थ प्रतिस्पर्धाका कारण पनि स्वदेशी लगानीका अगरबत्ती उद्योगहरु मारमा परेको व्यवसायीको गुनासो छ । सीमामा हुने अवैध व्यापार, तयारी धुपमा न्यून भन्सार मूल्यांकन, ठूला लगानीका कम्पनीसँगको अस्वस्थ प्रतिस्पर्धाले स्वदेशी लगानीमा सञ्चालित अगरबत्ती उद्योग मारमा परेको व्यवसायीको भनाइ छ ।
सरकारले साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्ने विविध कार्यक्रम लागू गरे पनि व्यवसायमैत्री वातावरण नहुँदा अगरबत्ती उद्योग संकटमा पर्दै गएको व्यवसायीको गुनासो छ । स्वदेशमा उत्पादन हुने अगरबत्ती भन्दा आयातित र खुलेआम उत्पादन तथा बिक्री भइरहेका नक्कली अगरबत्तीले ऋणमा सञ्चालित साना उद्योग झनै धरासायी बन्दै गएकाे व्यवसायीहरुको गुनासो छ ।
खासगरी साना लगानीमा घरायसी उत्पादनमा केन्द्रित महिला, शारिरिक रुपमा असक्त भएका दृष्टिविहीन, अपांगहरु र कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरुलाई यसले समस्या पारेको व्यवसायीहरुको भनाइ छ । घरायसी उत्पादनले आफ्नो रोजिरोटी चलाइरहेको यो वर्गलाई बढी समस्यामा पारेको उनीहरुको गुनासो छ ।
कुन वर्ष कति भयाे निर्यात ?

कसरी बन्छ अगरबत्ती ?
खासगरी धार्मिक प्रयोजन, शुभ कार्य, मठमन्दिर, पुजापाठमा प्रयोग हुने अगरबत्तीको आफ्नै महत्व र आवश्यकता छ । सुगन्धित धूपको कच्चा पदार्थ प्रयोग गरी उत्पादन गरिने अगरबत्ती औद्योगिक भन्दा बढी नेपालमा साना घरेलु उद्योगहरुबाट उत्पादन हुनेगर्छन् । स्थानीय वनजंगलमा पाइने मिचाहा प्रजातिका झाडी, बुट्यान, धुपि सल्लो, वनमारा लगायतको सुगन्धित वनस्पतिहरुको प्रयोगबाट अगरबत्ती बनाइन्छ । अधिकांश अगरबत्ती उद्योगले मिचाहा प्रजातिका झार र बुट्यानलाई प्रशोधन गरेर तयार गरिएको कच्चा पदार्थबाट तयार गरिन्छ ।
विगतमा भारतीय बजारबाट कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्था थियो । तर अहिले स्वदेशी कच्चा पदार्थहरुको प्रयोगबाटै अगरबत्ती यत्पादन गरिरहेको उद्योगी व्यवसायीहरुको भनाइ छ । अहिले नेपालमा ठूला धूप उद्योगहरु वीरगन्ज केन्द्रित छन् भने अन्य केही ठूला उद्योग हेटौंडा, सिमरा र भैरहवामा समेत सञ्चालित छन् । वीरगन्जका हिमाल, नारायणी, सावित्री, बालाजी, श्री जस्ता ठूला धूप उद्योगले बारा र मकवानपुरका सामुदायिक वनमा उत्पादित चारकोल प्रयोग गर्न थालेका छन् ।
Advertisment