काठमाडौं : नेपालमा जलविद्युत् उत्पादनको सम्भावना प्रशस्त छ । जलविद्युत् आयोजनाको विकास र लगानी नै मुलुकको समृद्धिको प्रमुख आधार मानिरहेको बेला यस क्षेत्रमा लगानी भने घटिरहेको छ।
पछिल्लो समय जलविद्युत् क्षेत्रमा आएको लगानीको तथ्यांक हेर्ने हो भने लगानीकर्ताको आकर्षण घट्दै गएको पाइएको हो । केही समयअघिदेखि मुलुकमा देखिएको आर्थिक मन्दी र बढ्दो ब्याजदरका कारण पनि लगानीको वातावरण बन्न नसेकेको व्यवसायीहरु बताउँछन् ।
परियोजनामा लगानी घट्नुमा पछिल्लो समय बजारमा देखिएको बढ्दो ब्याजदरले पनि लगानीकर्ताको मनोबल खस्किएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्की बताउँछन् । उनले वित्तीय पोष्टसँग भने, ‘लगानी घट्नुमा बढ्दो ब्याजदर पनि पहिलो कारण छ भने आर्थिक मन्दीले पनि लगानीकर्ताको मनोबल खस्किएको छ ।’
उनका अनुसार अहिले नयाँ परियोजनाहरु पनि धेरै आएका छैनन् । कतिपय आयोजनाहरुको निर्माण कार्य सकिएको छ भने निर्माणको चरणमा रहेका आयोजनाहरुको काम भइरहेको छ । सरकारले विद्युत् खरिद सम्झौता (पीपीए) नखोलिदिएका कारण पनि हाइड्रो क्षेत्रको लगानी घटेको हो ।
‘विगत चार वर्षअघिदेखि पीपीए रोकिएको छ । यसले गर्दा नयाँ परियोजनामा जाने कुरा भएन । पछिल्लो समय ब्याजदरबढेसँगै लगानीको वातावरण बन्न नसक्दा पनि लगानीकर्ताहरु हिच्किचाहे र लगानी गर्न सकेनन्’, उनले भने ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्यसमेत रहेका अर्थविद् चन्द्रमणी अधिकारीले पछिल्लो समय बैंकहरुले ऋण लगानी गर्न नसकेका कारण पनि जलविद्युत् क्षेत्रको लगानी घटेको बताए । उनले भने, ‘अहिले बैंकहरुले पनि ऋण लगानी गरिहेका छैनन् । चीनबाट आउने लगानीमा पनि अन्यौलता छ । भारतले पनि विद्युत् खरिद गर्ने सन्दर्भमा लगानी गरेको मात्र खरिद गर्छौ भनेको छ । लगानी बढे पनि खरिद भएन र भारतमा निर्यात गर्न सकिएन भने त्यो व्यर्थ हुन्छ ।’
त्यस्तै, सरकारले लामो समयदेखि पीपीए रोकेका कारण भएको उत्पादन पनि प्रयोगका आउन नसकेको उनको भनाई छ । ‘विभिन्न अनिश्चितताका कारण पनि लगानीको वातावरण बन्न सकेको छैन । स्वीकृत भएको परियोजनामा पनि लगानी भएन’, उनले भने ।
विगत केही वर्षदेखि करिब १० हजार ५ सय मेगावाट क्षमताभन्दा बढीका आयोजनाको पीपीए रोकिएको छ । इप्पानले चार वर्षदेखि रोकिएको नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाहरुको विद्युत् खरिद सम्झौता (पीपीए) खुलाउन आग्रह गर्दै आएको थियो ।
इप्पानले आरओआर आयोजनाको १५ सय मेगावाटको पीपीए खुला गर्न आग्रह गर्दै आएको छ । सरकारले २०७९ असार १४ गते आरओआरको पीपीएमा कोटा बढाउने निर्णय गरेसँगै १५ हजार मेगावाटका लागि तोकिएको ३५ प्रतिशतको कोटालाई ४५ प्रतिशत कायम गर्ने निर्णय भएको थियो । उक्त निर्णयले थप १५ सय मेगावाटको आयोजनाको पीपीए गर्न प्राधिकरणलाई बाटो खुलेको थियो ।
६१ अर्बले घट्यो लगानी
उद्योग विभागका अनुसार गत आवमा जलविद्युत् क्षेत्रमा ८६ अर्ब ९६ करोड ८९ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । अघिल्लो आवको भन्दा गत वर्ष हाइड्रो क्षेत्रको लगानी ६१ अर्ब ३९ करोड ३७ लाख रुपैयाँ कम आएको हो । अघिल्लो वर्ष जलविद्युत् क्षेत्रमा एक खर्ब ४८ अर्ब ३६ करोड २७ लाख रुपैयाँ लगानी प्रस्ताव आउँदा गत वर्ष भने ४१.३८ प्रतिशतले कम लगानी घटेको हो ।
गत असार मसान्तसम्म स्वदेशी तथा विदेशी लगानीका ३२ वटा उद्योग दर्ता भएका छन् दर्ता भएका उक्त उद्योगका लागि २ खर्ब १४ अर्ब रुपैयाँ लगानी प्रस्ताव आएको हो । यस अवधिमा दर्ता भएका उद्योगमा ४४ वटा उद्योग जलविद्युत क्षेत्रका रहेका छन् ।
कुन हाइड्रोपावरमा कति लगानी?
गत आवमा दर्ता भएका उद्योगमा भोजपुरका दुई हाइड्रोपावरका लागि २ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ । जसमा सुम्निमा हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको पिखुवा पशुपति जलविद्युत् आयोजनाका लागि ७७ करोड ६४ लाख, एस के इनर्जी डेभलपमेन्ट प्रालिका लागि एक अर्ब ३२ करोड ८ लाख हजार रुपैयाँ लगानी प्रस्ताव आएको छ ।
त्यसैगरी, दोलखाका तीन परियोजनाका लागि २२ अर्ब ९५ करोड ९६ लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ । बन्न लागेको तामाकोशी पाँचौं जलविद्युत आयोजनाका लागि १६ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ लगानी प्र्रस्ताव आएको छ । उक्त परियोजनामा ६२ जनाले रोजगारी पाउने भएका छन् । अर्को परियोजना डायनामिक हाइड्रो एनर्जीका लागि ५ अर्ब ९१ करोड ६७ लाख र हिमालयन इनर्जीका लागि ५८ करोड ३१ लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ ।
विभागका अनुसार मनाङमा बन्न लागेको परियोजना कार्बोनलेस इनर्जी फण्डका लागि ५ अर्ब ९६ करोड ७२ लाख ५० हजार रुपैयाँ, एलायन्स एनर्जी सोलुसन्सका लागि ८८ करोड २४ लाख रुपैयाँ, बझाङमा ओमेगा इनर्जी डेभलपमेन्टले निर्माण गर्न लागेको माथिल्लो सुनीगाड जलविद्युत आयोजनाका लागि ३ अर्ब ३ करोड २७ लाख रुपैयाँ र मकवानपुरको डाइनामिक पावरका लागि ८४ करोड ३४ लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ ।
सोलुका पाँच परियोजनाका लागि १४ अर्ब लगानी
विभागका अनुसार गत आवमा सोलुखुम्बुमा बन्न लागेका पाँच वटा हाइड्रोपावरका परियोजनाका लापग १४ अर्ब ७७ करोड २५ लाख रुपैयाँ प्रस्ताव आएको छ । जसमा अरुण भ्याली हाइड्रोपावरले सोलुखुम्बुमा निर्माण गर्न लागेको बुदम खोला जलविद्युत परियोजनाका लागि २ अर्ब ५३ करोड २६ लाख रुपैयाँ लगानी प्रस्ताव आएको हो ।
त्यस्तै, सोही अवधिमा सोलुमा नै बन्न लागेका अर्को परियोजना नुम्बुर दुधकुण्ड हाइड्रोपावरका लागि २ अर्ब १६ करोड २ लाख रुपैयाँ, गोर्खा हिमालयन हाइड्रोका लागि ८३ करोड ७८ लाख, सिल्क पावरका लागि ४ अर्ब ४० करोड, दोर्दीखोला जलविद्युत कम्पनीले निर्माण गर्न लागेको सुपर इन्खु जलविद्युत्त आयोजनाका लागि ४ अर्ब ८४ करोड १९ लाख रुपैयाँ लगानी प्र्रस्ताव आएको विभागले जनाएको छ ।
यस्तो छ अन्यमा लगानी प्रस्ताव
विभागका अनुसार ताप्लेजुङमा जलविद्युतका तीन परियोजना बन्ने भएका छन् । जसमा ट्रष्ट इनर्जीका लागि ५ अर्ब ३८ करोड ७९ लाख ९८ हजार रुपैयाँ, मेवा डेभलपर्सले निर्माण गर्न लागेको सिवाखोला जलविद्युत् आयोजनाका लागि २ अर्ब ७ करोड ४५ लाख रुपैयाँ र काबेली हाइड्रोपावरले निर्माण गर्न लागेको तल्लो तावा खोला जलविद्युतका लागि एक अर्ब ३५ करोड ८९ लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ ।
त्यस्तै, गोर्खामा यारु हाइड्रोपावर प्रालिका लागि ५ अर्ब ८१ करोड ४ लाख रुपैयाँ, खोटाङको हलेसी हाइड्रोपावरका लागि एक अर्ब ७ करोड ३८ लाख, रुपन्देहीको हिमाल मोटो नेपालका लागि ६० करोड रुपैयाँ, मनकामना दरौंदी हाइड्रोपावरका लागि २ अर्ब ३१ करोड रुपैयाँ र शिखर पावर डेभलपमेन्टले बागलुङमा निर्माण गर्न लागेको लोवर भिमखोला क्यास्केड जलविद्युत आयोजनाका लागि एक अर्ब ९ करोड ४० लाख रुपैयाँ लगानी प्रस्ताव आएको विभागले जनाएको छ ।
छ परियोजनाका लागि म्याग्दीमा आयो १३ अर्ब लगानी
यस अवधिमा म्याग्दी जिल्लामा मात्रै जलविद्युत्त क्षेत्रका ६ वटा परियोजनाका लागि १३ अर्ब ७७ करोड २२ लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ । जसमा माउन्टेन इनर्जी नेपाल लिमिटेडले निर्माण गर्न लागेको मिस्ट्री खोला–२ क्यास्केड जलविद्यत् आयोजनाका लागि एक अर्ब ६१ करोड २१ लाख, दोर्दीखोला जलविद्युत आयोजनाले निर्माण गर्न लागेको ग्याग्दी खोला–ए जलविद्युत्तका लागि ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ लगानी प्रस्ताव आएको विभागको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, गत असार मसान्तसम्म सोही जिल्लामा सञ्चालनका आएका अन्य परियोजनामा सुपर घलेम्दी हाइड्रोपावरका लागि एक अर्ब ८७ करोड १५ लाख, गुल्मी हाइड्रोका लागि ३५ करोड ८६ लाख, सुश्मित इनर्जीले निर्माण गर्न लागेको म्याग्दी खोला–बी जलविद्युत् आयोजनाका लागि २ अर्ब १३ करोड ६८ लाख, फ्रेस वाटर इनर्जीका लागि २ अर्ब ६२ करोड रुपैयाँ लगानी प्रस्ताव आएको हो ।
विभागका अनुसार यस अवधिमा रसुवाको माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजनाका लागि २ अर्ब ३४ करोड ३३ लाख, त्रिसुली क्यास्केडका लागि ४ अर्ब २२ करोड १२ लाख काठमाडौंको ओम पावर कम्पनीले निर्माण गर्न लागेको ठ्लीगाड खोला जलविद्युत आयोजनाका लागि ३ अर्ब ८७ करोड ७६ लाख र घाम उर्जा सेवा प्रालिका लागि १० करोड ६२ लाख रुपैँया स्वदेशी लगानी भित्रिएको छ ।
संखुवासभा पावर डेभलपमेन्टले संखुवासभामा निर्माण गर्न लागेको सुपर सभाखोला ए जलविद्युत् आयोजानका लागि एक अर्ब ७६ करोड २९ लाख रुपैयाँ, इसुवा इनर्जी प्रालिले निर्माण गर्न लागेको इसुवा खोला क्यास्केड जलविद्युतका लागि ५ अर्ब ६ करोड ४८ लाख रुपैयाँ लगानी प्रस्ताव भएको विभागले जनाएको छ ।
सिन्धुपाल्चोकका चार आयोजनाका लागि ६ अर्ब लगानी
गत असार मसान्तसम्म सिन्धुपाल्चोकमा बन्न लागेका जलविद्युत क्षेत्रका चार वटा आयोजनामा ६ अर्ब लगानी ५४ करोड ६४ लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ । गुगेश्वरी इनर्जीले निर्माण गर्न लागेको तल्लो मेलम्ची जलविद्युत् आयोजनाका लागि ८४ करोड २८ लाख र माथिल्लो मेलम्ची आयोजनाका लागि ९० करोड ५२ लाख रुपैयाँ लगानी आएको छ ।
त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको तल्लो इन्द्रावती जलविद्युतका लागि ७१ करोड ९८ लाख, सिन्धु ज्वाला हाइड्रोपावरले निर्माण गर्न लागेको माथिल्लो नेशम खोला ए जलविद्युत्का आयोजनाका लागि ४ अर्ब ७ करोड ८६ लाख लगानी प्रतिवद्धता आएको छ ।
विभागका अनुसार दार्चुलाको त्रिकाल पावर कम्पनीका लागि ३७ करोड ८३ लाख, बाराको धौलागिरी नेचुरल फुड्स एण्ड हब्र्सका लागि १९ करोड, मोरङको इष्टर्न स्टार सहकारी संस्थाका लागि १८ करोड ५० लाख, धादिङमा हिमशिला पावर कम्पनीका लागि ८३ करोड ९ लाख, कास्कीमा निको इनर्जीका लागि ८० करोड ९१ लाख, ललितपुरको बागमती वाटर इनर्जी प्रालिका लागि एक अर्ब ३५ करोड ७५ लाख र लमजुङमा च्याँदी हाइड्रोपावरका लागि ९७ करोड ५ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।
एक वर्षमा डेढ खर्ब बढी लगानी स्वीकृत
यता लगानी बोर्डले आर्थिक बर्ष २०७९/८० मा पाँच वटा परियोजनाका लागि झण्डै डेढ खर्ब बढी स्वीकृत गरेको छ । गत आवमा १ खर्ब ६७ अर्ब ५९ करोड रुपैयाँ लगानी स्वीकृत गरेको बोर्ड स्रोतले जनाएको छ ।
स्रोतका अनुसार कुल लगानी स्वीकृत मध्ये १ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ वैदेशिक र २१ अर्ब ३७ करोड रुपैयाँ स्वदेशी लगानी रहेको छ । लगानी बोर्डले गत आवमा ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाका लागि ९२ अर्ब ६८ करोड रुपैयाँ, १०२ मेगावाटको माथिल्लो मस्र्याङ्दी १ जलविद्युत परियोजनाका लागि ३३ अर्ब १९ करोड रुपैयाँ र ७० मेगावाटको दुधकोसी २ (जलेश्वर) जलविद्युत् परियोजनाका लागि २० अर्ब ३५ करोड बराबरको लगानी स्वीकृत गरेको स्रोतले जनाएको छ ।
Advertisment