वीरगन्ज : लामो समयदेखि विद्युत् महसुल नबुझाउने एक हजार आठ सय २३ ग्राहकलाई कालोसूचीमा राखी कारबाही प्रक्रिया अघि बढाइएको छ ।
विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले विद्युत् उपभोग गरे पनि लामो समयसम्म महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखेर बक्यौता असुल्न कारबाही अघि बढाइएकोे हो । कार्यालय प्रमुख अवधेश दुबेका अनुसार कालोसूचीमा रहेका ग्राहकको तीनपुस्ते विवरण यकिन गर्न कर्मचारीको टोली परिचालन गरिएको छ ।
टोलीले यकिन गरेपछि ग्राहकमाथि थप कारबाही अघि बढाइने प्रमुख दुबेले बताP । कालोसूचीमा रहेका ग्राहकबाट रु सात करोड ६५ लाख ५६ हजार सात सय ६३ बक्यौता रकम उठाउन बाँकी रहेको कार्यालय प्रमुख दुबेको भनाइ छ ।
लामो समयदेखि वर्षा नहुनु, बढ्दो गर्मी र पर्सा–बारा करिडोरका औद्योगिक क्षेत्रका उद्योगमा विगतको भन्दा कम विद्युत्को उपयोग हुनुजस्ता कारणले आर्थिक वर्ष २०७९र८० मा विद्युत् चुहावट शून्य दशमलव पाँच प्रतिशतले बढेको छ । गत आव २०७८र७९ मा विद्युत् चुहावट चार दशमलव ९८ प्रतिशत रहेकामा आव २०७९/८० मा पाँच दशमवल ०३ प्रतिशत विद्युत् चुहावट भएको प्रमुख दुबेले जानकारी दिए ।
उनका अनुसार आव २०७९/८० मा विद्युत् महसुल नबुझाउने दुई हजार चार सय ६८ ग्राहकको विद्युत् लाइन काट्दा एक हजार नौ सय छ ग्राहकबाट रु ११ करोड ४० लाख ७२ हजार छ सय १५ बाँकी बक्यौता रकम असुली भएको विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जका इन्जिनीयर निर्मला फौजदारले बताए।
त्यस्तै सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने ७१ जनालाई पक्राउ गरी जरिवानाबापत रु १२ लाख २४ हजार सात सय २४ राजस्व सङ्कलन भएको इन्जिनीयर फौजदारले जानकारी दिए । आव २०७९/८० मा दुई हजार चार सय ४२ नयाँ ग्राहक थपिएको छ । यो सँगै वीरगन्ज क्षेत्रमा ग्राहकको सङ्ख्या ५४ हजार दुई सय तीन पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले जनाएको छ ।
Advertisment