काठमाडौं : कोरियन भाषाको (ईपीएस) परीक्षा दिन पाउनु पर्ने माग गर्दै आन्दोलन गरिरहेका सबैलाई परीक्षामा सामेल गराउन अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई इपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो ।
यसअघि पानी जहाज निर्माणको कामका लागि परीक्षा दिएर अनुत्तिर्ण भएका करिब २८ हजार परीक्षार्थीलाई पनि सामेल गराउन आदेश दिएको हो। यसअघि ईपीएस कार्यालयले अदालतको आदेश लिएर गएका १८ जनालाई मात्रै आवेदन भर्न दिइएको थियो।
आवेदन भर्न नपाएपछि आन्दोलन गरेका थिए। आन्दोलन चर्किंदै जाँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए। बालकुमारीमा आज भएको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले दुई जनाको मृत्यु भएको पुष्टि गरे ।
महानिरीक्षक कडायतका अनुसार मृत्यु हुनेमा डोटीका २२ वर्षे वीरेन्द्र साह र दैलेखका २३ वर्षे सुजन रावत छन् । उनले उनीहरुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको र अर्का एक जना घाइते भएको बताए । घाइते रावतको उपचारको क्रममा किष्ट अस्पतालमा र शाहको पाटन अस्पतालमा मृत्यु भएको हो ।
कोरिया जानका लागि लिइने रोजगारी अनुमति प्रणाली (इपिएस) को परीक्षा दिन नपाएको भन्दै युवाहरुले आज प्रदर्शन गरेका थिए । सो क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए । त्यसपछि भएको झडपका क्रममा उनीहरु घाइते भएका थिए । अनियन्त्रित भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको थियो ।
Advertisment