लामो समयदेखि महिला उद्यमीको परिचय बोकेकी शोभा ज्ञवाली’’ महिला उद्यमी महासंघ, नेपाल (एफविन) की अध्यक्ष हुन् । नेपाली महिलाको सामाजिक–आर्थिक सशक्तीकरणद्वारा राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पना र महिलालाई उद्यमशीलताप्रति अभिप्रेरित गर्ने गर्छिन्, उनी । एक दशक भन्दा बढी समयदेखि महासंघमा आवद्ध रहेकी ज्ञवालीले नेपालमै उद्योग गर्न चाहने महिलाहरूको हकहितका लागि थुप्रै काम गरिसकेकी छिन् । विशेषगरि मिडिया उद्यमीको परिचय बनाएकी ज्ञवालीसँग नेपालमा महिला उद्यमको अवस्था, नयाँ योजना तथा कार्यक्रमका विषयमा वित्तीय पोष्ट डटकमकी संवाददाता सम्झना बरुवालले कुराकानी गरेकी छिन् । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंशः
तपाई महिला उद्यमी महासंघको नेतृत्व तहमा हुनुहुन्छ, नेपालमा महिला उद्यमीको अवस्था कस्तो छ ?
महिला उद्यमीहरूको अवस्था कोरोना महामारी पछि धेरै गाह्रो भएको थियो। तर अहिले भने व्यापार व्यवसाय मा उठ्नेछ तयारीमा हुनुहुन्छ । मैले महासंघको नेतृत्व लिइरहँदा उद्यमीहरूमा वित्तीय पहुँचको कमी छ भने कच्चा पदार्थको पनि कमी छ । यसले गर्दा धेरै राम्रो त नभनौँ ठिकै अवस्था छ ।
आर्थिक मन्दीका कारण उत्पादन क्षमतामा पनि कमी आएको छ । आर्थिक संकटमा मारमा सानादेखि ठूला सबै उद्योगी व्यापारीहरू परेका छन् । देशमा उत्पादन बढाउनका लागि महिला उद्यमीहरूलाई पनि प्रोत्साहन गर्नुपर्छ ।
देशभरका महिला उद्यमीहरूका लागि नयाँ योजना के बनाउनु भएको छ ? पुराना कार्यक्रम र योजनालाई कसरी अघि बढाउनु हुन्छ ?
पूर्व अध्यक्षज्यूहरूले गरेको कार्यक्रमहरूलाई पनि निरन्तरता दिँदै च्याप्टरलाई स्टेन्थदेन गर्ने देशभरका ६६ जिल्लामा च्याप्टरहरू पुगिसक्या छ । इकाईहरू पनि बनिरहेका छन् । देशव्यापी रूपमा उद्यमीहरूले वस्तुहरू उत्पादन गर्नुभएको छ । तर उत्पादन भएका सामानहरूको बजारीकरणमा समस्या भइरहेको छ । महासंघको उद्देश्य अनुसार महिलाहरू को वकालत क्षमता अभिवृद्धि, व्यवसाय विकास र नेटवर्किङमा अगाडि बढाउँदै लानुपर्छ ।
नेपालमा महिलालाई उद्यम सिकाउने र उद्यमी बनाउने महासंघको लक्ष्य कति सफल भएको छ ? चुनौतीहरू के-के छन् ?
म महासंघमा लागेका १२ वर्ष भयो । कोरोना महामारी अगाडि राम्रो भइसकेको थियो। महामारीले थलिएको व्यवसाय अगाडि बढाउन महासंघले देशव्यापी रूपमा पहल गरिरहेको छ । उद्यमीहरूलाई अगाडि बढाउन अहिले स्थानीय तहहरूबाट पनि बजेटको व्यवस्था गरिएको छ । च्याप्टरलाई स्थानीय सरकारसँग लिंक गरेर उद्यमीहरूलाई अगाडि बढाउन लागिरहेका छौँ।

पारिवारिक बन्धनका कारण अझै पनि महिलाहरू व्यवसाय गर्न र उद्यमी बन्न सकिरहेका छैनन् । यस्ता अवरोधहरूलाई पार गर्न के गर्नुपर्ला ?
हाम्रो दिदीबहिनीहरू एकदमै धेरै काम गर्नुहुन्छ । त्यसलाई नकार्नै सक्दैनौ । उहाँहरू बिहानदेखि बेलुकासम्म घरपरिवारकै काममा व्यस्त हुनुहुन्छ । हामीले उहाँहरूलाई उत्प्रेरित पनि गरिरहेका छौ । तपाईँहरूले गर्नुभएको कामलाई व्यवसायमा दर्ता गरेर व्यवसायी बनेर आर्थिक पाटोमा ढालौँ भनेर मोटिभेटरको रूपमा महासंघले काम गर्दै आएको छ । जब महिला आर्थिक रूपमा सक्षम बन्छिन् । त्यसले उसको घरपरिवारमा पनि मूल्य मान्यता बढ्छ र ऊ पछिका सन्तानहरूले पनि जीवन बाँच्नका लागि पैसाको मूल्य र उत्पादित वस्तुको मूल्य संसारमा पुर्याउन सकिन्छ भन्ने कुरा बुझाउन सक्छिन् ।
हाम्रो उद्देश्य पनि गाउँघरमा उत्पादन भएका अर्ग्यानिक सामानहरूलाई व्यवसायमा ढालेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारमा कसरी पहिचान गराउने भन्ने हो । घरपरिवारको काम सकेर हस्तकलाका सामानहरू बनाउने महिलाहरूलाई तालिम दिएका छौ । होमस्टेको तालिम दिएका छौ । गाउँघरमै उत्पादन भएका अर्ग्यानिक सामानहरूलाई व्यवसायीकरण गर्दा विदेशीहरू ५ दिन आएर बस्दा पनि उसले फरक वातावरण पाउँछन् भने यहाँ बनेका सामानहरू लिएर जान्छन् । यसले महिलाहरूलाई आर्थिक सहयोग पनि हुन्छ ।
उद्यमी बन्न चाहने महिलाहरूलाई महासंघले कसरी सहयोग गरिरहेको छ ?
पहिला हामीले महिलाहरूलाई उद्यमशीलता के हो ? भन्ने सिकाउँछौ । उहाँहरूहरूसंग भएको सीपलाई व्यवसायमा ढाल्न विभिन्न तालिमहरू दिन्छौ । वस्तु उत्पादन गरेर त्यसको लेबलिङ प्याकेजिङ गर्ने लगायत उनीहरूमा भएको सिपलाई प्रयोग गरेर वस्तुको बजारीकरण कसरी गर्ने भन्ने कुरा सिकाउँछौ । यसका साथै महासंघले वर्षमा एक पटक अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्छ ।
हामीसँग आवद्ध च्याप्टर, इकाई र उद्यमीहरूलाई मेलामा आएर स्टलहरू राखेर व्यवसाय गर भन्छौँ । यहाँ आएका उद्यमीहरू जो वस्तुको लेबलिङ र प्याकेजिङ गर्न जान्नुहुन्न उहाँहरूलाई तालिम दिन्छौ ।
उक्त मेलामा साउथ एशियन कन्ट्रीबाट पनि आउँछन् । त्यस्तै अन्य तेस्रो मुलुकबाट पनि आउँछन् । उहाँहरूसँग हाम्रो दिदीबहिनीहरूले पनि सिक्नुहुन्छ ।
व्यावसायिक रूपमा लामो समयदेखि लागिरहनु भएको छ । महिला उद्यमी महासंघसँगै उद्योग वाणिज्य महासंघमा पनि आवद्ध हुनुहुन्छ । व्यवसायी हुनु र संस्थामा आवद्ध हुँदाको अनुभव कस्तो छ ?
संस्थामा आवद्ध हुनु भनेको एउटा सोसियल नेटवर्क पनि हो र यसको जिम्मेवारी पनि धेरै हुने गर्दछ । २४ सै घण्टा तपाई को सेवामा भन्ने हुन्छ । मैले गर्नुपर्छ भन्ने हुन्छ। संस्थामा आवद्ध भएपछि एकल निर्णय हुँदैन । गर्दागर्दै तलमाथि भयो भने खुट्टा तान्नेहरू धेरै हुन्छन् । काम गर्न खोज्दा पनि धेरै अवरोधहरू आउने गर्छन् ।

तपाई नेतृत्वमा आएपछि महिला उद्यमीहरूको विकासका लागि नयाँ योजनाहरू के के ल्याउनु भएको छ ?
म एउटा सोसियल इस्युहरुलाई लेख्नेमा पनि पर्छु । गाउँघरदेखि सहरसम्म हरेक ठाउँमा के कस्ता गतिविधिहरू भइरहेको छन् भनेर चासो राख्ने गर्छु । अहिले धेरै दिदीबहिनीहरूलाई अफिस अथवा कार्यालयहरूमा काम गर्ने वातावरण निर्माण गर्न प्रोत्साहन दिन्छु । काम गर्दा आफू सुरक्षित भएर काम गर्नुपर्छ । कुनै पनि महिला दिदीबहिनीहरू व्यवसाय गर्छु भनेर आउनुहुन्छ भने उहाँहरूलाई कुन व्यवसायमा लागेको छ र त्यसको रिजल्टको हेरेर परिपक्व व्यवसायी बनेर अगाडि बढोस् भनेर लागिरहेको छु ।
धेरै उद्यमी दिदीबहिनीहरूले स्थानीय तहहरू सँग समन्वय नगरेका कारण त्यसतर्फ पनि लागिरहेको छु । उद्यमीहरूका लागि चाहिनेछ औद्योगिक ग्राम, बिक्री कक्षको व्यवस्था गर्न लागिरहेका छौँ । ठाउँ अनुसारको उत्पादित वस्तुको बजारीकरणका लागि स्थानीय निकायले पनि सहजीकरण गरिरहेको छ ।
पाँचखालमा निर्माण हुन लागेको महिला औद्योगिक ग्रामको विवाद के हो ?
महिला उद्यमी महासंघको ३० वर्षको इतिहासमा औद्योगिक ग्राम र बिक्री कक्ष चाहिएको छ भनेर वकालत गर्दै आएको कुरा हो । सरकारले पनि स्थानीय तहमा औद्योगिक ग्राम निर्माण गर्न ४१ करोड रुपैयाँ बजेट छुट्याएको छ । २०७६ मा महिला उद्यमी महासंघ र दक्षिण एसियाली विकास मञ्च र पाँचखालको स्थानीय तह मिलेर एक सय रोपनी भन्दा बढी जग्गामा औद्योगिक ग्राम बनाउने भनेर निर्णय भएको थियो । उक्त प्रस्ताव राज्यबाट पारित पनि भयो । महासंघका पूर्व अध्यक्ष, पाँचखालको स्थानीय सरकार र दक्षिण एसियाली विकास मञ्चबीच त्रिपक्षीय सम्झौता भएको थियो । हामी खुशी थियौ । माने पनि नमाने पनि महासंघले अहिलेसम्म वकालत गर्दै आएको कुरा हो ।
देशभरका ६६ जिल्लामा पुगिसकेको र राज्यले पनि पहिचान गरेको महासंघले उठाएको विषयलाई नकार्न पनि सक्दैनौ । राष्ट्रिय योजना आयोगदेखि लगानी बोर्डका बैठकहरूमा महासंघको प्रतिनिधित्व रहन्छ र देशव्यापी रूपमा रहेको महिला उद्यमीहरूको समस्या र चुनौतीहरू के के छन् र कसरी अगाडि बढाउन सकिन्छ भनेर अहिले पनि हामी गइरहेका छौ ।
औद्योगिक ग्राम बन्दै छ तर दक्षिण एसियाली विकास मञ्च र पँंचखाल नगरपालिका मिलेर महासंघलाई हटाइएको छ । औद्योगिक ग्राम के को लागि र कसको लागि बनाएको हो भन्ने कुरा थाहा हुनुपर्याे।
महासंघले पहिला त्रिपक्षीय सम्झौता पनि गरिसकेको हो। तर शिलान्यास हुने बेला महासंघलाई थाहै छैन। राज्यले बनाएको औद्योगिक ग्राममा यति लामो इतिहास बोकेको महासंघ किन छैन?
राज्यले स्थापना गर्दा पनि प्रश्न गर्नुपर्याे । क-कसका लागि बनाइएको हो उहाँहरू सहभागी हुनुहुन्छ की हुनुहुन्न भनेर खोजी गर्नु पर्याे । महिला उद्यमीहरूका लागि औद्योगिक ग्राम बनाइएको हो भने महासंघ त्यहाँ हुनुपर्छ । महासंघमा प्रत्यक्ष रूपमा ५ हजार ३ सय भन्दा बढी महिला उद्यमीहरू आवद्ध छन् । भने ५० हजार भन्दा बढी महिलाहरू अप्रत्यक्ष रूपमा आवद्ध छन् । राज्यले दिने कुरामा सबै हुनुपर्छ । औद्योगिक ग्राममा उद्यमी महासंघ हुनुपर्छ । हाम्रो यही अडान छ ।
अब कसरी अगाडि बढ्नुहुन्छ?
शिलान्यासको क्रममा राज्यबाट पनि यो विवादित छ भन्ने भएपछि हामीलाई १०ः३० बजेतिर बोलाइएको थियो । तुरुन्तै हामी पाँचखाल जान पनि सम्भव भएन । हामीले प्रधानमन्त्री, गृहमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छौ । कसको पाटो चुकेको हो । महासंघले न्याय पाउँछ भन्ने लागेको छ । उहाँहरू पनि अचम्मित हुनुहुन्छ ।
मन्त्रालय अथवा सम्बन्धित निकायको प्रतिक्रिया के छ ?
हामी बारम्बार मन्त्रालयमा कुरा गरिरहने हो । हामीले काम गर्ने नै सरकारसँग बसेर हो। उहाँहरू सकारात्मक हुनुहुन्छ । चाँडै निर्णय आउला ।
निर्माणको काम के भइरहेको छ ?
हामीलाई त्यहाँ राखेको छैन । मिडियाबाटै पढेर थाहा पाउने हो । अहिले राज्यबाट एक करोड २० लाख रुपैयाँ गइसकेको छ । त्यहाँको व्यवस्थापनका लागि गयो पनि होला । तर अगाडि बढ्न महिला उद्यमी महासंघ देशव्यापी रूपमा हुनुपर्याे । यही देशका उद्यमी दिदीबहिनीहरूका लागि खोलिएको औद्योगिक ग्राम हो भने महासंघ त्यहाँ हुनुपर्छ ।
औद्योगिक ग्राम लैङ्गिक आधारमा किन ? उत्पादन बजार उस्तै होइन र ?
नेपालमा पितृसत्तात्मकता अझै पनि छ । अपवादलाई छाडेर ठूला–ठूला व्यवसायमा महिलाहरू अझै अघि आउन सकेका छैनन् । निर्यात व्यापारमा पनि महिलाहरू पछि परेको अवस्था छ ।
अहिले महिला दिदीबहिनीहरू पनि लागि रहनु भएको छ । स्थानीय तहमा युवाहरू सबै जना विदेश गइसके । गाउँमा काम गर्ने महिलाहरू हुनुहुन्छ । साना तथा मझौला उद्योगमा महिलाहरूकै लाग्नुभएको छ । औद्योगिक ग्राम बन्यो भने स्थानीय तहमा उत्पादन हुने वस्तुहरूको प्रशोधन, लेबलिङ र प्याकेजिङ लगायतका सबै कामहरू त्यहाँ हुने भयो । उत्पादक र उपभोक्ता पनि एकै ठाउँमा हुने भयो । उहाँहरूले गरेको पारिश्रमिक पनि औद्योगिक ग्रामबाटै बिक्री हुन्छ ।
महिला दिदीबहिनीहरूलाई प्रोत्साहन गर्न, व्यावसायिक रूपमा अगाडि बढाउन र आर्थिक उपार्जनमा पनि टेवा पुर्याउन यो ग्राम निर्माण गर्न लागिएको हो ।

यहाँले महिला उद्यमीको परिचय बनाएको लामो समय भइसकेको छ, नेपालमा महिला उद्यमीलाई कस्ता-कस्ता चुनौती छन् ?
दूर दराजमा रहेका महिला उद्यमीहरू हुम्ला, जुम्ला लगायतका जिल्लामा हुनुहुन्छ । कोही होमस्टेमा, कोही शिक्षण पेसामा, कृषि, हस्तकला र फ्लोरिकल्चर आदि पेसामा लाग्नु भएको छ । उहाँहरूलाई कच्चा पदार्थ अभाव छ । त्यसैगरी वित्तीय पहुँचको कमी छ । ब्याजदर पनि सहज र सस्तो हुनुपर्छ । प्रशोधन मेसिनहरू हामीले पाउनुप¥यो । रिमोट एरियामा बस्ने महिलाहरूका लागि सहरीकरणका लागि बैंकहरूमा महिला डेस्कको पनि आवश्यकता रहेको छ ।
महासंघ देशभरि पुगिरहेको छ भनिरहँदा दूर दराजमा रहेका उद्यमी महिलाहरूले महासंघ छ भन्ने अनुभूति गर्न सकेका छैनन् भने उत्पादित सामानहरूले बजार नपाएको गुनासो छ । यसलाई कसरी व्याख्या गर्नुहुन्छ?
यो एउटा गैर नाफामूलक संस्था हो । हामीले भोलेन्टेयरको रूपमा काम गर्ने हो । महासंघले वर्षमा एक पटक एक्पो गरेर उहाँहरूको सामान सो केस गर्न लाग्छौँ । महासंघले टन्नै व्यवसाय बनाएको छ । तर, बिक्री कक्ष छैन । उत्पादित सामानहरूको बिक्री वितरणका लागि सबै स्थानीय तहमा बिक्री कक्षको पनि माग गरिरहेका छौँ ।
अर्को हाम्रो डिजिटल प्लेटफर्मबाट पनि उहाँहरूले बनाएको सामानहरू त्यहाँ सोकेस गरेर बिक्री गर्ने काम गर्छौ । अर्को बिजनेस डेभलपमेन्ट सेन्टर पनि छ । त्यहाँ उद्यमीहरूले बनाएको सामानहरू हेरेर आवश्यकता अनुसार तालिम पनि दिने गछौं ।
खुला सिमानाका कारण पनि कच्चा पदार्थ बोर्डरबाट ल्याएर उद्यमीहरूले बनाएको सामानको मूल्य र यहाँ आएर बनेको वस्तुको मूल्य फरक भइदिन्छ । स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर आयातित वस्तुहरूमा भन्सार बढी गरिदिने हो भने महिला उद्यमीहरूले बनाएको सामानको बिक्री बढ्छ । आन्तरिक उत्पादनलाई जोड दिएर आर्थिक रूपमा सक्षम हुनुपर्छ भनेर लागिरहेका छौँ ।
नयाँ उद्यमीहरूलाई के भन्न चाहनुहुन्छ ?
देशमा काम गर्न गाह्रो छ तर, हामीले गरेका कामहरूलाई व्यवसायीकरणमा ढाल्ने हो र आफ्नो पहिचान बढाउने हो । आफू आर्थिक सशक्तीकरणको बाटोमा बलियो भयो भने धेरै कुरामा अगाडि बढ्न सहज हुन्छ र यो व्यवसायबाट नै सम्भव छ ।
Advertisment