Below Menu
Below Menu

महिला हरित औद्योगिक पार्क निर्माण: शिलान्यासमै विवाद, उद्यमीबीच ‘लडाइँ’    

महिला हरित औद्योगिक पार्क निर्माण: शिलान्यासमै विवाद, उद्यमीबीच ‘लडाइँ’    

काठमाडौं : महिला हरित औद्योगिक पार्कको निर्माणको काम शुरु अगाडी नै विवाद उत्पन्न भएको छ । महिला उद्यमी महासंघ, दक्षिण एसियाली महिला विकास मञ्च र पाँचखाल नगरपालिकाबीच निर्माण सम्झौता भएको उक्त पार्क शिलान्यासमै विवाद भएको हो ।

चार वर्षअघि निर्माण सम्झौता 

औद्योगिक पार्क निर्माणका लागि २०७६ साल भदौ २० गते नगरपालिका, मञ्च र महासंघबीच सम्झौता भएको थियो । झण्डै एक अर्ब रुपैयाँ लागतमा बन्ने उक्त पार्क निर्माणका लागि संघीय सरकारले समेत सघाउने गरी बजेट नै छुट्याएको छ ।

पार्क निर्माणका लागि अर्थमन्त्री डा. प्रकाश शरण महतले चालु आर्थिक वर्षको बजेटमार्फत ४१ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । काभ्रेको पाँचखालमा बन्ने औद्योगिक ग्रामलाई महिला उद्यम ग्रामको रूपमा नामकरण गरी महिला उद्यमीलाई उद्योग सञ्चालन गर्न प्रोत्साहित गर्नेगरी ४१ करोड बजेट विनियोजन गरेको बजेटमा उल्लेख गरिएको छ ।

औद्योगिक ग्रामलाई महिला औद्योगिक ग्रामको रूपमा अघि बढाउन २०८० जेठ २४ गते बसेको मन्त्रीपरिषद्को बैठकले समेत निर्णय गरिसकेको छ । पार्कका लागि पाँचखाल नगरपालिकाले एक सय रोपनी जग्गा २५ वर्षको लागि भाडामा दिएको छ । यसलाई कृषि पर्यटन औद्योगिक पार्ककारुपमा प्रवर्द्धन गरिने भएको छ ।

चार वर्षअघि भएको सम्झौता अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत मङ्सिर २४ गते औद्योगिक पार्कको शिलान्यास गरे ।

शिलान्यासमै विवाद, उद्यमीबीच ‘लडाई’

प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरेको उक्त पार्कको निर्माणमा महासंघलाई ‘आउट’ गरेपछि उद्यमीबीच ‘लडाई’ परेको छ । पार्क निर्माणको काम अघि नबढ्दै प्रस्तावक महिला उद्यमी महासंघलाई नै बाइपास गरेर पार्कको शिलान्यास गरिएपछि विवाद सतहमा आएको हो ।

पार्क निर्माणको प्रस्ताव अनुसार स्थानीय पालिका र दक्षिण एसियाली महिला विकास मञ्चसँगको साझेदारीमा महिला उद्यमी महासंघले काम कारबाही अघि बढाउने सहमति भएको थियो । पछिल्लो संघीय बजेटले पार्कलाई बजेट नै विनियोजन गरेपछि यसमा केन्द्र सरकारको समेत समर्थन थियो ।

तर, परियोजनाको प्रस्तावक मध्येको एक महासंघलाई नै जानकारी नदिई औद्योगिक ग्राम शिलान्यास गरिएपछि महासंघले यसको तीव्र विरोध जनाएको हो । यसबारे महासंघकी अध्यक्ष शोभा ज्ञवालीले पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले पूर्व सम्झौता उल्लङ्घन गरेको आरोप लगाइन् ।

उनले वित्तीय पोष्टँंग भनिन्, ‘औद्योगिक ग्राम निर्माणको प्रक्रिया महासंघसहितको त्रिपक्षीय सम्झौताबाट अघि बढेको हो । औद्योगिक ग्राम निर्माणको गृहकार्यमा महासंघले ठूलो मेहनत गरेको छ । यसलाई सरकारले समेत आत्मसात् गरिसकेको अवस्थामा अन्तमा सफलता प्राप्त गर्ने बेला महासंघलाई बाइपास गर्न मिल्दैन ।’

सुरुवाती चरणमा पार्क निर्माणका लागि महासंघका पूर्व अध्यक्ष, पाँचखाल नगरपालिका र र दक्षिण एसियाली विकास मञ्चबीच त्रिपक्षीय सम्झौता भएको थियो । तर पछि सम्झौता मध्येका दुई दक्षिण एसियाली विकास मञ्च र पाँचखाल नगरपालिकाको प्रतिनिधि पात्रहरूको नातेदार नेक्ससका कारण महासंघलाई सम्झौताबाट हटाइएको समेत उनले आरोप लगाइन् ।

‘औद्योगिक ग्राम बन्दै छ तर दक्षिण एसियाली विकास मञ्च र पाँचखाल नगरपालिका मिलेर महासंघलाई हटाइएको छ । औद्योगिक ग्राम केको लागि ? र कसको लागि बनाएको हो ? थाहा हुनुपर्याे’ उनले थपिन् ।

प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ५३ हजारभन्दा बढी महिलाहरू महासंघमा आबद्ध छन् । राज्यले दिने सुविधामा यसरी महिला उद्यमीहरूलाई बाइपास गरिएको ठिक नभएको उनको भनाइ छ । महिला उद्यमीहरूका लागि नै औद्योगिक ग्राम बनाइएको तर्क गर्दै अध्यक्ष ज्ञवालीले महासंघको सहभागिता अनिवार्य हुनुपर्ने अडान राखिन् ।

सम्झौतामा दक्षिण एसियाली मञ्चले प्राविधिक सहयोग गर्ने तर नेतृत्वकर्ता महिला उद्यमी महासंघ नै हुने भनिएको थियो । औद्योगिक ग्राम स्थापना गर्न हालसम्म १ करोड २० लाख रुपैयाँ खर्च भइसकेको छ ।

नियोजित रूपमा मिडियाबाजी भयोः मेयर खरेल

यता पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले भने नियोजित रूपमा मिडियाबाजी गरेर महासंघले औद्योगिक ग्राम निर्माणको विषयलाई अनावश्यक विवादमा ल्याएको बताएका छन् । सम्झौता अनुसार नै औद्योगिक ग्रामको काम अघि बढाएको बताउँदै मेयर खरेलले महासंघको भूमिका आउन बाँकी रहेको बताए । 

‘अहिले उहाँहरूको भूमिका नै आएको छैन । अर्थ मन्त्रालयबाट बजेट नै आएको छैन । कार्यविधि नै स्वीकृत भएर आएको छैन । कार्यविधि संशोधनमा गएको छ । सो पश्चात उहाँहरूको भूमिका आउँछ र काम गरे भइहाल्छ । अहिले नै अतालिएर विवाद गर्न आवश्यक थिएन’ उनले भने ।

नियोजित रूपमा महिलाहरूलाई पछाडि पार्न महासंघ लागि परेको मेयर खरेलले उल्टै आरोप लगाए । ‘आफ्नो हातमा मिडिया छ भन्दैमा मिडियाको दुरुपयोग गर्नु त भए नी’ उनले भने ।

महासंघकी अध्यक्ष ज्ञवालीले जेठी सासुलाई टेण्डर दियो भनेर आफूलाई आरोप लगाएको बताउँदै मेयर खरेलले सो विरुद्ध आफूहरू कानुनी उपचारमा जाने तयारीमा रहेको बताए । 

पाँचखालमा नगरपालिकामा १० लाख भन्दा बढीको परियोजनामा ई बिल्ङिमार्फत टेण्डर लाग्ने बताउँदै मेयर खरेलले भने, ‘ अर्थ मन्त्रालयबाट बजेट नै विनियोजन भएको छैन । कार्यविधि र बजेट स्वीकृत भएर आएको छैन । बजेट नआइकन जेठी सासुलाई टेण्डर दियो भन्न दिन पाइन्छ ? पैसा बिना काम हुँदैन । टेण्डर लागेपछि मात्र काम शुरु हुन्छ ।’

साथै अनावश्यक विवादमा तानेर बदनाम गर्न खोजेको भन्दै मेयर खरेलले जेठी सासु र बहिनी ज्वाईको नाता प्रमाणित गरेर ल्याउन समेत ज्ञवालीलाई चुनौती दिएका छन् ।

यस विषयमा कुरा गर्न खोज्दा दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले यस विषयमा आफूलाई जोड्न आवश्यक नरहेको जवाफ दिइन् । सम्झौताअनुसार भूमिका महासंघले निभाउनुपर्ने बताउँदै उनले सम्झौता अनुसार नै काम अघि बढ्ने बताइन् ।

‘यो अवधारणा हामीले भारतबाट ल्याएको हो । मेरो संस्थाले पहल गरेर ल्याएको परियोजना हो । हामीले सम्झौता पाँचखाल नगरपालिकासँग गरेको हो । महासंघले पनि उसैसँग सम्झौता गरेको हो । मैले आफ्नो भूमिका निर्वाह गरे, महासंघले पनि आफ्नो भूमिकाअनुसार काम गरे भइहाल्यो नी’ उनले भनिन् ।

महासंघकी पूर्व अध्यक्षसमेत रहेकी रिजाल हाल दक्षिण एसियाली महिला विकास मञ्च गठन गरेर सोको नेतृत्वमा छिन् ।
सम्झौताअनुसार साझेदार भूमिका नपाएपछि महासंघले प्रधानमन्त्री, गृहमन्त्री र उद्योगमन्त्रीलाई समेत ज्ञापन पत्र बुझाएको छ । प्रदेश सरकार र स्थानीय सरकारको समेत लगानी रहने पार्कमा औद्योगिक ग्राममा ५० वटा उद्योग स्थापना हुनेछन् ।

त्यसका लागि सरकारले ४० करोड ७५ लाख रुपैयाँको लागतमा विभिन्न ५० वटा उद्योग स्थापना गर्न महिला उद्यमीहरूले ३७ करोड ५० लाख रुपैयाँ लगानी गर्ने बताइएको छ । औद्योगिक ग्रामको पूर्वाधार निर्माण भइसकेपछि महिला उद्यमीहरूलाई तालिम दिलाउने, सशक्तीकरण गर्ने योजना अघि सारिएको छ । विवादका कारण यस पार्क निर्माणको काममा अन्यौलता थपिएको छ ।  
 

Advertisment