काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमानसहित पाँच जना विरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले नगरपालिकाका तत्कालीन नगर प्रमुख पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसमेत ५ जना र कम्पनी विरुद्ध मुद्दा दायर गरेको होे ।
उनीहरुले कर्जन्हा नगरपालिकाबाट आव २०७८/०७९ मा प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनिमियतता गरेको अख्तियारको आरोप छ ।
पालिकाको भवन निर्माणबारे विवाद भएपछि उच्च अदालत जनकपुरले प्रक्रिया पूरा नभएसम्म नगरपालिकाको कार्यालय अन्यत्र स्थानान्तरण नगर्नु नगराउनु भन्दै तोकिएको साविक कर्जन्हा गाविसको कार्यालय रहेको स्थानबाट नगरपालिकाको कार्यालय संचालन गर्न आदेश दिएको थियो ।
अदालतको आदेश पालना नगरी सार्वजनिक निकायले निर्माण स्थलको व्यवस्था नभई वोलपत्र आव्हान गर्न नहुने प्रावधान विपरीत स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउनको लागि बोलपत्र आव्हान गरेको अख्तियारको ठहर छ ।
उनीहरु विरुद्ध एक जनही एक करोड ८ लाख रुपैयाँ बराबरको मागदावी गर्दै आयोगले बुधबार विशेप अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
सोही प्रकरणमा संलग्न तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रविन कुमार महतो, निर्माण व्यवसायी महालक्ष्मीरपाण्डे एण्ड कम्पनीरड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादव विरुद्ध पनि एक करोड ८ लाख रुपैयाँ बिगो कायम गरी आयोगले मुद्दा दायर गरेको छ ।