काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत चैत १९ गते सोमबार एकैदिन तोलामा १६ सय रुपैयाँले बढेर एक लाख ३१ हजार ६ सय पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ११५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ६१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।