काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्याक्स इन्टरनेश्नलका प्रमुख कार्याकारी अधिकृत (सिईओ) अकबर हुसेन सहित ६ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले सुरक्षण मुद्रण उपकरण खरिदमा भ्रष्टाचार भएको भन्दै सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सि.डि.ई. (मेकानिकल) नविन कुमार पोखरेलसहितलाई मुद्दा दायर गरेको हो ।
उनीहरु विरुद्ध आयोगले ४० करोड ८५ लाख रुपैयाँ बराबरको मागदावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । सोही प्रकरणमा आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्क बहादुर थापा र शाखा अधिकृत हरिवल्लभ घिमिरे विरुद्ध पनि मुद्दा दायर गरेको छ ।
सुरक्षण मुद्रण केन्द्रको भवन र संरचना निर्माणमा अनियमितता भएको भनी गत वर्ष दायर भएको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।
पौडेलले अमेरिकाको स्थायी आवास अनुमति पत्र (पीआर) लिएर त्यसबारेको विवरण लुकाइ नेपालमा नियुक्ति लिएको भन्दै केही साताअघि दोस्रो मुद्दा दायर गरेको थियो ।
पौडेलमाथिगैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ । पौडेल अहिले विशेष अदालतकै हिरासतमा छन् ।