काठमाडौं : काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको दशमहिनामा साढे सात अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । महानगरले बैशाख मसान्तसम्म सात अर्ब ८१ करोड ४५ लाख ५० हजार ३४० रुपैयाँ राजस्व संकलन गरेको हो ।
उक्त रकम आन्तरिक राजस्व, बाँडफाँड प्राप्त राजस्व र आन्तरिक अनुदानबाट भएको आम्दानी हो । गत वर्षको सोही अवधिको तुलनामा सो रकम ८.७२ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा महानगरले ७ अर्ब १८ करोड ७८ लाख ३ हजार ४२४ रुपैयाँ राजस्व उठाएको थियो ।
बैशाख ममसान्तसम्म आइपुग्दा महानगरपालिकाको आन्तरिक राजस्व संकलनमा वृद्धि भएको छ । गत आवको सोही अवधिमा ४ अर्ब ३८ करोड ६२ लाख ११ रुपैयाँ रहेको महानगरको आन्तरिक राजस्व १.९५ प्रतिशतले बढेर ४ अर्ब ४७ करोड १९ लाख १८ हजार रुपैयाँ पुगेको छ ।
यस अवधिमा बाँडफाँडबाट प्राप्त राजस्व पनि २०.०८ प्रतिशतले बढेको छ । गत आवको सोही अवधमिा एक अर्ब १४ करोड रुपैयाँ रहेको उक्त राजस्व बढेर एक अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।
बैशाख मसान्तसम्म आन्तरिक अनुदानमार्फत् महानगरलाई एक अर्ब ९६ करोड रुपैयाँ प्राप्त भएको छ । गत आर्थिक वर्षको तुलनामा उक्त रकम १८.७८ प्रतिशतले बढी हो । गत आवको बैशाखसम्ममा महानगरले १ अर्ब ६५ करोड रुपैयाँ अनुदान प्राप्त गरेको थियो ।
कुन शीर्षकमा कति उठ्यो ?
महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा ८५ करोड ५९ लाख ६६ हजार रुपैयाँ संकलन भएको छ । महानगरले घरबहाल करबाट सबैभन्दा बढी एक अर्ब ९९ करोड ५५ लाख ९३ हजार ५२७ रहेको छ । महानगरले २३ वटा शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ ।
बैशाख मसान्तसम्म महानगरले पर्यटन शुल्कबाट १५ करोड ७० लाख ८७ हजार रुपैयाँ, पार्किङ शुल्कबाट एक करोड २१ लाख ४८ हजार रुपैयाँ, नक्सापास दस्तुर ५३ करोड ४८ लाख ८४ हजार रुपैयाँ र अन्य सेवाशुल्कबाट २४ करोड ५० लाख ४२ हजार रुपैयाँ राजस्व उठाएको छ ।