काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मान बहादुर चन्दसमेत ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख रसाईली र नायब सुब्बा अग्नी बहादुर शाही र नायब सुब्बा अग्नी बहादुर शाही, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत चन्द र सर्भेक्षक दशरथ मण्डल, आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्रा रावल, कमल बहादुर रावल, सुशील बहादुर रावल र बिमल बहादुर रावलविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार उनीहरुले जिल्लाको साविक नारायणपुर–८ अन्तर्गतको कित्ता नम्बर ९०८ को क्षेत्रफल १५–०–० बिगाह जग्गा फिल्डबुकमा जंगल कायम भएपनि कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेको अख्तियारको आरोप छ ।
अख्तियारले मालपोत कार्यालय टीकापुरको न्यूनतम मूल्यांकन पुस्तिकामा उल्लिखित २४ करोड ६ लाख ६९ हजार सम्पत्तिको हानिनोक्सानी पुर्याएको आयोगले जनाएको छ । उनीहरु विरुद्ध सोही रकम बराबरको बिगो कायम गरेर कैद र जरिवानासमेत मागदाबी गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको आयोगले जनाएको छ ।