काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क नलिन सञ्चालक तथा व्यवस्थापकलाई अनुरोध गरेको छ ।
महानगरपालिकाले सूचना जारी गरी महानगरपालिका क्षेत्रभित्र सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरूमा सेवाग्राहीसँग कुनै शुल्क नलिने व्यवस्था गर्न भनेको हो ।
‘निःशुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि काठमाडौँ महानगरपालिकाले आवश्यकता अनुसार जनशक्ति, सामग्री, मर्मत सम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने भएकाले सेवाग्राहीसँग शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेस गर्नुहुन अनुरोध गरिन्छ’, सूचनामा भनिएको छ ।
तोकिएको समयावधिपश्चात् महानगरपालिका क्षेत्रभित्रका सबै सार्वजनिक शौचालयहरू निःशुल्क सञ्चालन गर्नुपर्नेछ । सूचना विपरीत सार्वजनिक शौचालयको प्रयोग बापत कुनै प्रकारको शुल्क असुल गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ ।

Advertisment